
काठमाडौं : काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरलाई सुन्दर र सफा बनाउने काम सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महानगरले सरसफाइको काम सुरु गरेको हो। नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन्। त्यसैले पर्यटकहरु पहिला विमानस्थल भएर आउने भएकाले यस स्थानलाई विशेषरूपमा सजाउन लागिएको महानगरले जनाएको छ।
महानगरले हाल तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्ररूपमा गरिरहेको छ। त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विज्ञापनका होर्डिङ बोर्डहरु हटाउन महानगरबाट दैनिक रुपमा चार टोली खटिएको छ।
काठमाडौँको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा तार व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई सुन्दर बनाउने प्रमुख दायित्व महानगर कै रहेकोले सोहीअनुरूप काम भइरहेको बताए। उनले सम्बन्धित सबै वडाका वडाध्यक्षलाई सरसफाइ गरी पाहुनालाई स्वागत गर्न तयार रहन निर्देशन दिएको समेत बताए।
भ्रमण वर्षलाई लक्षित गर्दै काठमाडौँको मुख्य आकर्षणका रूपमा रहेका चार सम्पदा हनुमानढोका, स्वयम्भूनाथ, बौद्ध र पशुपतिनाथ मन्दिरलाई सुन्दर र आकर्षक बनाउन रङ लगाउने र सरसफाइको काम समेत सुरु भएको छ। काठमाडौँ आउने पर्यटकमध्ये ९० प्रतिशतले यी चार सांस्कृतिक सम्पदाको अवलोकन गर्ने पाइएकाले सोहीअनुरूप सौन्दर्य अभिवृद्धिमा महानगर लागेको शाक्यले बताए।
केन्द्र सरकारको भन्दा पनि भ्रमण वर्षलाई सफल बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै उनले यसका लागि सबै स्थानीय तहनै जिम्मेवार बन्नुपर्ने बताए। भ्रमण वर्षमा महानगरसँग भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरलाई निम्तो दिएको पनि उनले बताए।
सौन्दर्य अभिवृद्धिका लागि चालू आर्थिक वर्षमा कामपाले रु १० करोड विनियोजन गरेको छ। रासस