PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

बलिउडमा ५० वर्ष पूरा गरेका अमिताभको अभिनय यात्रालाई ५० वर्ष पुरानो पुरस्कार



पहिलोपोस्ट

बलिउडमा ५० वर्ष पूरा गरेका अमिताभको अभिनय यात्रालाई ५० वर्ष पुरानो पुरस्कार

हरेक वर्ष बलिउडका पिता मानिने निर्माता एवं लेखक धुढिराज गोविन्द फाल्के उर्फ दादासाहेब फाल्केको नाममा हरेक वर्ष पुरस्कार दिइन्छ। सर्वाधिक धेरै नगद राशीसहितको प्रतिष्ठित पुरस्कार।

गत २३ डिसेम्बरमा भारतमा राष्ट्रिय फिल्म अवार्ड कार्यक्रम आयोजना भयो। सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजिक अवार्ड कार्यक्रममा 'दादा साहब फाल्के पुरस्कार' अभिनेता अमिताभ बच्चनलाई दिने घोषणा भएको थियो।

उक्त पुरस्कार दिन सुरु भएको ५० वर्ष र ५० नै वर्ष लामो अमिताभको अभिनय यात्रा। कस्तो संयोग।

तर, पुरस्कार ग्रहण गर्न अवार्ड वितरण समारोहमा पुगेनन्। कारण थियो उनको स्वास्थ्य। अस्वस्थताका कारण उपस्थिति जनाउन नपाएका उनलाई यहीँ आइतबार पुरस्कृत गरियो। राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उनले दादासाहेब फाल्के पुरस्कार ग्रहण गरे, चौध हजार अमेरिकी डलरसहित।

भारतीय राष्ट्रपति रामनाथ कोविंदको हातबाट अवार्ड लिएपछि उनले भारतीय सिनेमा उद्योग र दर्शकलाई धन्यवाद व्यक्त गरे। भने,'ममाथि भगवानको कृपा छ। आमाबुबाको आशिर्वाद छ। फिल्म निर्माता, निर्देशक, सह-कलाकारको साथ रह्यो अनि सबैभन्दा महत्वपूर्ण भारतीय जनताको स्नेह र प्रोत्सहान रह्यो जसका कारण म आज यहाँ उभिएको छु।'

उपस्थित सबैलाई सम्बोधन गर्दै बोलिरहेका उनले रमाइलो मान्दै भनेका थिए- 'मलाई यो अवार्ड दिनुको अर्थ अब तँ घरमै बस्। आराम गर् भनिएको संकेत त होइन?' लगत्तै उनले फिल्म क्षेत्रमा आफ्नो अझै केही जिम्मेवारी बाँकी रहेको र ती पूरा नगरी आफू 'रिटायर्ड' नहुने बताए। उमेरले ७६ वर्ष लागेका उनको जोशको चर्चा भएको थियो।

बलिउडमा 'मेगा स्टार' वा 'बिग बी'को नामले चिनिन्छन् उनी। सन् १९६९ मा 'सात हिन्दुस्तानी'बाट फिल्ममा डेब्यु गरेका थिए। सन् १९७३ मा प्रकाश मेहरा निर्देशित 'जञ्जिर'मा उनको मुख्य अभिनय रहेको थियो। फिल्म बक्स अफिसमा हिट भएपछि अमिताभ निर्माता, निर्देशकको रोजाइमा परे। र, करिब दुई दशकसम्म हिन्दी फिल्म उद्योगको सबैभन्दा सफल अभिनेता बनिरहे। त्यस समय उनी सुपरस्टार र महानायक कहलिएका थिए।

प्रकाश मेहरा, अलावा मनमोहन देसाइ, यश चोपडा, ऋषिकेश मुखर्जी लगायत निर्देशकसँग सहकार्य गरे। पछिल्लो समय उनले नयाँ फिल्मकर्मीसँग काम गरे। 'ब्ल्याक', 'पा' लगायत प्रयोगात्मक फिल्ममा उनले निभाएको भूमिकाको सकारात्मक टिप्पणी भयो।

सन् २००० यता भने अमिताभ बच्चनले अभिनय सँगसँगै कौन बनेगा करोडपति सञ्चालन समेत गर्दै आएका छन्।

उनले हालसम्म चार राष्ट्रीय फिल्म पुरस्कार र पन्ध्र फिल्मफेयर अवार्ड जितेका छन्। सन् २०१५ मा त बच्चनलाई पद्म विभूषणले सम्मानित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell