
विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द 'विप्लव' समूहका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-१० निवासी ५० वर्षीय कृष्ण चौलागाईँ भनिने नरेश चौलागाईँ, विराटनगर महानगरपालिका-८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन्। चौलागाईँ समूहका मोरङ प्रमुख रहेको बताइएको छ।
प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका-५ रामपुरस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहर छेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले आज जानकारी दिए। उनीहरुलाई सुराकीका आधारमा पक्राउ गरेको उनले बताए।