काठमाडौं : बुटवलकी लक्ष्मी ज्ञवाली आइतबार साँझ हिटरको आगोको लप्काले छोएर घाइते भइन्। उनलाई एम्बुलेन्समा स्थानीय अस्पतालमा लगियो।
बुटवलको अस्पतालले अवस्था ‘क्रिटिकल’ भन्दै भैरहवाको मेडिकल कलेज रिफर गरिदियो। मेडिकल कलेजले पनि उपचार गर्न नसक्ने भन्दै तत्कालै काठमाडौं लैजान सुझाव दियो।
झमक्क साँझ परिसकेको थियो। तत्कालै काठमाडौं लैजाने उपायमा जुटे उनका छोरा बाबुराम। उनले विभिन्न हेलिकोप्टर कम्पनीलाई रेस्क्युका लागि आग्रह गरे। तर, ती सबै अपरेटरबाट जवाफ आयो - ‘साँझ परेपछि हामीलाई उडान अनुमति छैन। माथिल्लो तहसम्म पहुँच छ भने नेपाली सेनाको हेलिकोप्टरबाट ल्याउन सकिन्छ।’
उनले आफ्ना नजिकका आफन्त जोसँग राजनीतिक पहुँच थियो, उनीहरुसँग हारगुहार गरे। तर, उनको हारगुहारले कुनै काम गरेन। हेलिकोप्टर खोज्दाखोज्दै बाबुरामका नजिकका आफन्तले ‘गुड न्यूज’ दिए,- ‘एयरपोर्टमा बुद्ध एयरको दुईवटा जहाज भर्खरै ल्याण्ड गरेको छ। तत्कालै फोन गरेर लैजान सकिन्छ होला।’ बाबुरामलाई त्यो सूचना आमाको उपचारका लागि सबैभन्दा ठूलो उपहार जस्तो भयो।
तत्कालै भैरहवा विमानस्थलको बुद्ध एयरको काउन्टरमा फोन गरे। जहाज भर्खरै ल्याण्ड गरेको र सीट खाली रहेको जवाफ पनि पाए। जवाफसँगै उनले आफ्नो आमा आगोका कारण घाइते भएको भन्दै काठमाडौंका लागि दुईवटा सीट बुकिङ गरिदिन आग्रह गरे। आगलागीबाट जलेको विरामी भन्नेवित्तिकै बुद्ध एयरका कर्मचारीले उनलाई लिएर उडान गर्न नमिल्ने जवाफ दिए। त्यसपछि उनले स्टेशसन म्यानेजर दर्शन घिमिरेलाई फोन गरे। उनले पनि विरामीलाई जहाजमा लैजान नमिल्ने जवाफ फर्काए।
‘विरामीलाई लैजान मिल्दैन। कुनै पनि विरामी भए तीन घण्टा अगाडि नै जानकारी गराउनुपर्छ। काठमाडौंबाट स्ट्रेचरसहित जहाजका सीट इन्जिनियरले फोल्ड गरेपछि मात्रै कुनै पनि विरामीलाई राख्न मिल्छ,’ घिमिरेले भने, ’नभए पाइलटले विरामीलाई राख्न मान्दैनन्।’
बाबुरामले घिमिरेलाई बिन्ति नै गरे - ‘आमाको ढाड पोलेको छ। घोप्टो परेर जान मिल्छ। मैले डाक्टरको सिफारिससहित कुनै भवितब्य परे त्यसको जिम्मेवारी मैले लिन्छु।’
बाबुरामले गरेको अनुनयविनय काम लागेन।
‘यो उड्डयन क्षेत्रको नियम नै हो। मैले पठाए पनि क्याप्टेनले मान्दैनन्। माथि भनेर पनि कुनै काम लाग्दैन,’ घिमिरेले जवाफ फर्काए।
यस्तो अप्रत्यासित जवाफपछि बाबुरामले आमालाई एम्बुलेन्सबाट सोमबार बिहान ५ बजे काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर अस्पतालमा ल्याइपुर्याए। ल्याएकै दिउँसो २ बजे उनको आमाको निधन भयो।
ज्ञवाली निधनसँगै जहाजबाट आकस्मिक रूपमा विरामी ल्याउन पाउने/नपाउने गम्भीर विषय उजागर भएको छ। मानवीय संवेदनासमेत नहेरी जहाजले विरामी बोक्दिन भन्न पाउँछ कि पाउँदैन?
मुलुकमा सञ्चालित वायुसेवा कम्पनीहरू भने चिकित्सकको इजाजतअनुसार विरामी यात्रुलाई सेवा दिँदै आएको दाबी गर्छन्। आकस्मिक उद्धारका लागि स्ट्रेचरको पनि व्यवस्था गरेको बताउँछन्। आकस्मिक उद्धारका लागि विरामीका परिवारले तीन घण्टाअघि नै जानकारी गराउनुपर्ने प्रावधान रहेको हवाइ उड्डयन सम्बद्ध एक व्यवसायीले बताए। विमानस्थलमा बिरामीलाई सकभर लैजान नपरे हुन्थ्यो जस्तो गर्ने विमान सेवाको बानी बारे भने उनले बोल्न चाहेनन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च पदाधिकारी भने अवस्थाअनुसार बिरामीलाई आकस्मिक सेवा दिनैपर्ने बताउँछन्। वायुसेवा कम्पनीहरूका साधन र अवस्थाअनुसार आ-आफ्नै म्यानुअल बमोजिम दिइने आकस्मिक सेवाबारे प्राधिकरणले हस्तक्षेप नगर्ने उनको भाइ छ।
'आपतकालीन अवस्थामा विरामीको अवस्था हेरेर वायुसेवा कम्पनीले सेवा दिने नदिने कुरामा ध्यान दिएका हुन्छन्,' उनले भने, 'नाजुक अवस्थाका विरामीलाई जहाजको उडानमा अक्सिजनको कमी हुने कारण कम्पनीले नजिकको अस्पतालमै राख्न सुझाव दिने गर्छन्। तर मेडिकल रिपोर्टका आधारमा भने वायुसेवा कम्पनीले सेवा दिनैपर्ने हुन्छ।'
जहाजभित्र विरामीको अवस्थाअनुसार अक्सिजन, हेरविचार र स्ट्रेचर व्यवस्थापनको कुरालाई मध्यनजर गर्दै नियमित उडानमा आकस्मिक सेवा दिनुपर्ने उनले बताए।
'उद्धारका लागि सेवा दिइने विरामीको जहाजभित्रै मृत्यु नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। जहाजमा लान सकिने अवस्था रहँदा पनि केही गरी उडानका क्रममा विरामीलाई श्वास-प्रश्वासमा समस्या हुनसक्छ,' सम्बद्ध ती व्यवसायीले भने, 'यही कुरालाई मध्यनजर गर्दै कम्पनीअनुसार आआफ्नै म्यानुअल छ।'
नियमित उडानका क्रममा आकस्मिक सेवाको व्यवस्था नभएको निजी वायुसेवा कम्पनीमध्येको श्री एयरलाइन्सले जनाएको छ। श्रीले हालसम्म डाक्टरको मेडिकल रिपोर्ट अनुसार विरामी यात्रुलाई सेवा दिँदै आएको बताएको छ। चिकित्सकले प्रमाणित गरेपछि वायुसेवा कम्पनीले विरामीको उद्धार गर्नुपर्ने प्रवाधान रहेको एयरलाइन्स अपरेटर एशोसिएसनका प्रवक्ता योगराज कँडेलले बताए। निजी वायुसेवा कम्पनीमध्ये बुद्ध एयरमा विरामी उद्धारका लागि स्ट्रेचरको व्यवस्था छ।
स्ट्रेचर व्यवस्थापनका लागि ६ वटा सिटलाई प्राविधिकको सहयोगमा जडान गर्नुपर्ने उनले बताए।
'स्ट्रेचर जडान गर्न समय लाग्छ। ६ वटा सिटको ठाउँमा स्ट्रेचर राख्दा अलिक समय लाग्छ,' उनले भने, 'त्यसै कारण सेवाग्राहीले अग्रिम जानकारी दिनुपर्ने हुन्छ।'
प्राय अन्तिम फ्लाइटमा स्ट्रेचरको व्यवस्था हुने उनले बताए। हेलिकोप्टरको तुलनामा फिक्स विङ जहाजमा उद्धार गर्न सहज हुने बताउँदै प्रवक्ता कँडेलले भने, 'फिक्स विङको नियमित उडानमा आकस्मिक सेवा लिँदा ६ वटा सिटको पैसा तिर्नुपर्ने हुन्छ। जब कि हेलिकोटर चार्टर यो भन्दा कैयौं गुणा लागत लाग्छ।'
प्राधिकरणका अनुसार स्टल रुटमा सञ्चालित डोर्नियर र ट्विनअटर लगायत जहाजमा स्ट्रेचरसहित उद्धार सुविधा जडान गरिएको हुन्छ।
उद्धारका लागि राति न उडानयोग्य हेलिकोप्टर न त जनशक्ति
नेपालमा दर्ता भएका निजी हेलिकोप्टर प्रायः 'भिजुअल फ्लाइट रुल्स' अनुसार उडान हुने गरेको प्राधिकरणले जनाएको छ। प्रत्येक दिन हेलिकोप्टरको उडानका लागि लास्ट ल्याण्ड इन भिएफआरअन्तर्गत अन्तिम उडान अवतरण समय तोकिदिएको हुन्छ। प्राधिकरणले तोकिदिएको समयअनुसार प्रतिदिन सञ्चालित हेलिकोप्टरहरूको सुरूदेखि अन्तिम उडान-अवतरण समय निर्धारित हुन्छ।
निजी वायुसेवा कम्पनीसँग इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स क्षमताका हेलिकोप्टर र दक्ष जनशक्ति नभएको प्राधिकरणले जनाएको छ जसका कारण ज्ञवालीजस्ता विरामीलाई तत्काल उद्धार गर्न सकिन्न।
'भिएफआर प्रावधानअनुसार नेपालमा हेलिकोप्टर सञ्चालित छन्। राति एयरपोर्ट टु एयरपोर्ट उडान गर्न सकिन्छ। तर यो प्रावधान हालसम्म लागू भएको छैन,' एयरलाइन्स एशोसिएसन नेपालका प्रवक्ता कंडेलले भने। आइएफआर उडान गर्नका लागि भने निजी हेलिकोप्टरसँग आवश्यक प्रविधि नभएको उनले बताए।