PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

संसद भवनबाट शान्ताको कलेज यात्रा : कानुन बनाउन बेन्च ठोक्ने उनका हात कानुनकै किताब पल्टाउँदै



कुञ्जरमणि भट्टराई

संसद भवनबाट शान्ताको कलेज यात्रा : कानुन बनाउन बेन्च ठोक्ने उनका हात कानुनकै किताब पल्टाउँदै

काठमाडौं : संसद अधिवेशन सुरु भइसकेको छ तर बैठक नियमित छैन। सभामुख कसलाई बनाउने भन्ने रस्साकस्सी चलिरहेकै छ। बैठक नभए पनि नेताहरु राजनीतिक गतिविधिमा दिनभर व्यस्त नै छन्।

संसद नचलेकाले केही सांसदहरु फुर्सदिला पनि भएका छन्। यही फुर्सदिलो समयका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा सदस्य रहेकी शान्ता चौधरीको दिनचर्या फेरिएको छ।

माननीय भएर बानेश्वर पुग्ने उनी कालो कोट, सर्ट र टाइमा सजिँदै विद्यार्थीका रुपमा कोटेश्वरस्थित हिमालय कलेज पुग्ने गरेकी छिन्।

कानून बनाउने ठाउँलाई कर्मथलो बनाएकी शान्ता विद्यार्थीका रुपमा कानून नै अध्ययन गर्दैछिन्।

यही वर्ष एसईई परीक्षा उत्तीर्ण गरेकी शान्ता केही समययता नियमित कलेज धाइरहेकी छिन्। कलेज पढ्ने सपना पूरा भएको भन्दै उनले आज सामाजिक सञ्जालमा सबैसँग खुशी पनि साटिन्।

आफ्नो कक्षा कोठामा पढ्दै गरेको फोटो सेयर गर्दै चौधरीले कलेज ड्रेसमा 'आफ्ना सपनाहरु विपनामा परिणत हुन लागेको' भन्दै खुशी बाँडेकी हुन्।

उनले भनेकी छिन्, 'जुन सपनाहरु अधुरा थिए तिनै सपनाहरु आज विपनामा परिणत गर्ने जमर्को गर्दैछु। त्यसैले धेरै खुशी छु म। यही खुशीको क्षणमा म प्रति सद्भाव राख्ने र दु:खमा साथ दिनुहुने सम्पूर्णप्रति सम्मान व्यक्त गर्दछु।'

व्यस्तताका बाबजुद नियमित कक्षा जाने प्रयास गरिरहेकी चौधरी कलेजको पढाइ र साथीभाइको सहयोग पाएर दङ्ग छिन्। पहिलोपोस्टसँग कुरा गर्दै भनिन्, 'एसईई परीक्षा उत्तीर्णसँगै औपचारिक शिक्षाका बाटो खुलेको छ। नयाँ अनुभव बटुल्न थालेकी छु। कलेज प्रिय लाग्न थाल्यो, साथीहरु त झनै प्रिय लाग्न थालेका छन्।'

कमलरी जीवनबाट संघर्ष गर्दै राष्ट्रिय राजनीतिमा आउन पक्कै सहज थिएन उनलाई। जीवनमा अनेकौं भोगाइ र व्यबहारबाट गुज्रिँदै उनी अहिले उच्च शिक्षाको यात्रामा छिन्।

कानून बनाउने बेन्चमा बसेर टेबल ठोक्ने शान्ताका हातहरु अहिले कानूनका अक्षरहरु पढ्न किताबका पाना पल्टाउन थालेका छन्। प्रतिनिधिसभाको बेन्चमा सांसदका रुपमा बस्ने उनी कक्षा कोठामा निकै फरक महसुस गरिरहेकी छिन्।

'म कानुन बनाउने ठाउँमा छु। कक्षा कोठामा सिकेका कुरा पनि त्यहाँ उतार्दैछु,'उनले भनिन्, 'जनप्रतिनिधिको भूमिकामा देश र जनताका लागि काम गर्दैछु। जनताको लागि काम गर्दा पनि म एउटा परीक्षामा नै छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell