PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

संचार मन्त्रीको ५२ मिनेट लामो भाषणको निसानामा भीम रावल, भने : चर्चित नेताकै जिल्लामा छाउपडी व्याप्त



एम बम

संचार मन्त्रीको ५२ मिनेट लामो भाषणको निसानामा भीम रावल, भने : चर्चित नेताकै जिल्लामा छाउपडी व्याप्त

कैलाली : धनगढी आइपुगेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले यहाँ आयोजित एक कार्यक्रममा ५२ मिनेट भाषण दिए। ‘समय दिनु भो, बोलियो, लामो भयो धन्यवाद’ भनुन्जेलसम्म ५२ मिनेट २ सेकेन्ड पूरा भएको थियो उनको।

प्रेस क्लब नेपालद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको विकास र समृद्धि विषयक गोष्ठीलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सुरुमै कार्यक्रमको सञ्चालनका विषयमा असन्तुष्टि जनाए। उनीभन्दा अघि १० जनाले भाषण भ्याएकाले मन्त्री बास्कोटालाई चित्त बुझेको रहेनछ।

‘मलाई लाग्या थियो कि हाम्रो चलन अनुसार नोट बनाएर विषयवस्तुमा बोल्नुपर्ला। तर यहाँ चै भाषण गर्ने रहेछ। मैले तयारी पनि त्यहीँ अनुसार गरेको थिएँ। तर अब भाषणको विषय बनाइएपछि म पनि त्यतै दोहरिनुपर्‍यो। चलन जो चलाएपछि चल्छ,’ उनले भने। 

अधिकांश समय प्रधानमन्त्रीको बचाउ तथा अरू थुप्रै विषयवस्तुको कटाक्षमै बिताए उनले। 

उनले पत्रकारका विषयमा कटाक्ष गर्नु नौलो विषय थिएन। कसैलाई पनि अरूलाई गाली गर्नमा बढी मजा आउँछ भन्दै उनले अहिलेका मिडिया त्यस्तो नकारात्मकता तर्फ लागेको प्रसङ्ग सुरुमै कोट्याइहाले।

त्यसपछि उनले 'मैले कसैको आलोचना गरेको होइन' भन्दै प्रश्न गरे, ‘सुदूरपश्चिमको विकासको बाधक छाउपडी प्रथा हो कि होइन? हामी यसमा बहस गर्न तयार छौँ कि छैनौं?'

उनले डोटी, बाजुरा, डडेलधुरा, बझाङ र चर्चित नेताहरू भएको जिल्ला अछाममा समेत प्रदेशको सबैभन्दा ठूलो कलङ्कका रूपमा अन्तर्राष्ट्रियस्तरसम्म स्थापित छाउपडी प्रथा हो कि होइन भन्ने प्रश्न गरे।

त्यसपछि उनले फेरि दोहर्‍याए, ‘मैले कसै व्यक्तिसँग जोडेर यो कुरा गरेको होइन। कसै कसैलाई लाग्दो हो भीम रावलजी को बद्ख्वाईँ गरेर हिँड्यो। अब एमसीसीमा उहाँको निहुँ खोजाई छ अहिले। त्यसो भएपछि भन्द्यो भन्ने लाग्ला पार्टीसित कुरो मिलेन सरकारसित कुरो मिलेन।’

‘होला, कसैलाई सरकारमा बस्दा एउटा, बाहिर निस्किँदा एउटा भन्न मन लाग्छ। त्यो चासोको विषय होइन। मैले त्यसो भन्न खोजेको पनि होइन।’

सुदूरपश्चिमको समृद्धिका लागि सामाजिक पछौटेपन विरुद्धको लडाइनै समृद्धिको लडाई रहेको उनले भने।

त्यसपछि बास्कोटाले फेरि दोहर्‍याए, 'यसलाई गम्भीर रूपमा बुझ्नुस् है फेरि यहाँ परिभाषा लगाउनेको कमी छैन। लगाए पनि लगाउनुस्, मलाई कसै नेतासँग डर पनि छैन। गल्ती पनि गर्दिन।’

उनले पत्रकारहरूका विषयमा समेत कटाक्ष गर्दै भने, 'फ्याक्ट चेक गर्दै नगरी एउटा कथा बनाएर समाचार लेख्ने गरिन्छ, ज्ञान बढाउनुस् साथीहरू मैले पनि २५ वर्ष गरेर आएको हो, तर म यहाँ फेरि प्रशिक्षण दिन आएको होइन।’

'मलाई यो पत्रकारहरू विचित्रै लाग्न थाल्यो क्या’भन्दै उनले अगाडि थपे, ‘कसै नजिकको मान्छेले फोन गरेर घुस्याहा हो मन्त्री भनेर लेख्देन भन्यो भने पत्रकारले कथा बनाएर त्यसै लेख्न पाइन्छ?'

मन्त्री बास्कोटाले मिडियालाई सबलिकरण गर्न लागिएको कुरा बताउँदै भने, ‘डिजिटल सिग्नेचर भनेको के हो पत्रकार साथीहरू थाहा छ? सुन्या छ? त्यतातिर ध्यान दिनु छैन?’

उनले अगाडि भने, ‘कुरा बुझेर मात्रै ग्याङ-ठ्याङ गर्नुस्, पत्रकारितामा समेत डेप्थ रिपोर्टिङ भन्ने हुन्छ। फ्याक्ट चेक नगर्ने? नचाहिया कुरा गर्ने?’

उनले सूचना प्रविधि विधेयक उपयुक्त रहेको समेत दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell