राम जन्मभूमि भारत। उत्तर प्रदेशको अयोध्यामा रामको जन्म भएको पौराणिक कथन। तर, त्यहीँ बाबरी मस्जिद बनेको भन्दै वर्षौंदेखि विवाद। भारतीय जनता पार्टीका कार्यकर्ताले बाबरी मस्जिद तोडे पनि। झगडाको ब्यू सधैं बनिरह्यो त्यो भूमि। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह बाबरी मस्जिद भएकै स्थानमा राम मन्दिर बनाउने कुरामा अडिग थिए। चुनावी मुद्दा लगातार बनिरह्यो यो विषय।
डेढ महिना अघिमात्रै अयोध्या - बाबरी मस्जिद विवाद मुद्दाको अन्तिम सुनुवाई गर्दै भारतको सर्वोच्च अदालतले उक्त स्थानमा राम मन्दिर नै बनाउन फैसला सुनायो। मस्जिद बनाउन सरकारले नजिकै जग्गा उपलब्ध गराउन पर्ने पनि भनियो।
राम मन्दिर कसरी बनाउने? बाबरी मस्जिदलाई कसरी जग्गा उपलब्ध गराउने? यिनै विषयमा चर्चा चलिरहँदा म भने भारतयात्रामा। जान त रामको जन्मभूमि नै पुग्ने मन थियो तर समयले रामको कर्मभूमि तर्फ डोहोर्यायो। अर्थात् रामेश्वरम।
+++
हिमालयबाट भारतको 'लास्ट ल्यान्ड' रामेश्वरम पुग्नै लाग्यो पाँच दिन। ट्रेनबाट रक्सौल हुँदै कोलकाता पुग्न १८ घण्टा। कोलकाताबाट चेन्नई ३० घण्टा। चेन्नईबाट रामेश्वरम पुग्न १० घण्टा लामो ट्रेन यात्रा। बीच्च - बीचमा चाहिँ 'ट्रान्जिट'हरु पनि।
राम जन्मभूमिबाट दुई हजार दुई सय किलोमिटरभन्दा बढी टाढा रहेछ रामेश्वरम। हिँड्न थाल्यो भने एक वर्षभन्दा बढी लाग्ने देखायो गुगल म्यापले।
रामेश्वरम पुग्न पार गर्नुपर्ने रहेछ 'पम्बन ब्रिज'। विशाल समुद्रमाथि बनाइएको यो ब्रिज हेर्न मात्रै हजारौं पर्यटक रामेश्वरम पुग्ने गर्दा रहेछन्। हिन्द महासागर र बंगालको खाडीले चारैतिर घेरिएको शंख आकारको द्वीपमा रामको गाथा सुन्दै दर्शन गर्न पुग्नेहरु उत्तिकै।
तमिलनाडुमा रहेको रामेश्वरम हिन्दुहरुको पवित्र तीर्थस्थल, पुग्नै पर्ने चार धाममध्ये एक।
यहाँको प्रमुख आर्कषण नै रामानाथस्वामी (रामेश्वरम) मन्दिर। यही स्थानमा नै रामले महादेवको पूजा गरेको किम्बदन्ती रहेछ। त्यसैले मन्दिरभित्र शिवलिंग छ, जुन १२ ज्योतिर्लिंगहरुमा एक मानिन्छ।
अयोध्यामा वर्षौंदेखि चलेको द्वन्द्वको विषय भएकाले मलाई लागेको थियो रामेश्वरका मानिसले रामलाई अत्याधिक मान्दा हुन्। तर, आस्था चाहिँ प्रडक्टका रुपमा व्यापारमा परिणत भइसकेको रहेछ।
पशुपतिनाथको विरासत बोकेको राष्ट्रबाट रामको इतिहास बोकेको अर्को स्थान पुग्दा आफ्नै अपेक्षा पूरै फेल खायो।
रामानाथस्वामी मन्दिर भित्र प्रवेश गर्न जुत्ता लगाउन निषेध। मोबाइल पनि बोक्न नपाइने रहेछ। ठिकै छ। यस्तो त हो हाम्रो पशुपतिनाथमा पनि। तर, मन्दिर बाहिर वरिपरि मोबाइल र जुत्ताका 'क्लोक शप' (पैसा तिरेर सामान राख्ने पसल) टन्नै रहेछन्। मन्दिर बाहिर त ठिकै छ। मन्दिरभित्र पनि आफ्नै सपिङ सेन्टर खुलिसकेको रहेछ। यस बारे 'राम राम' बाहेक केही भनिएन।
प्रवेश द्वारबाट दाँयाबायाँ रहेका पसलमा आँखा लगाउँदै पुगियो मन्दिरको मुलद्वार। बाटैमा केहीले रोके र सोधे, 'दुईटा लाइन छ कुनमा जाने?'
साधरण लाइनमा बसेर भगवानको दर्शन गर्न भारतको करीब सय रुपैयाँ लाग्दो रहेछ। अनि छिट्टै जान चाहनेका लागि अर्को लाइनबाट बढी पैसा तिर्नुपर्ने! पण्डाहरुको ब्यापार गजबले चलिरहेको। मन्दिर भित्रको कुण्डमा स्नान गर्न अर्को छुट्टै लाइन। कुण्डमा बनाइएको पुलमा दुई जना बस्दा रहेछन्। उनीहरुले पालै पालो एक कचौरा पानीले भक्तजनलाई स्नान गराइरहेका थिए। अनि पूरा हुने रहेछ एक धामको यात्रा। धर्मको नाममा गजबको व्यवसाय देखियो।
त्यसपछि भने – 'ओएमजी' अर्थात ओ माइ गड। सन् २०१२ मा परेश रावल र अक्षय कुमार अभिनित फिल्म हेर्दा र रामेश्वरम पुग्दा भगवान प्रतिको आस्थालाई कसरी पैसामा 'कन्भर्ट' गर्न सकिन्छ भन्ने बुझेँ।
एकपटक सोचेँ – हाम्रो पशुपति, जानकी मन्दिरमा पनि पैसा लिएर प्रवेश गराउने हो भने त दैनिक करोडौं उठ्थ्यो। तर, आस्था र विश्वासलाई पैसा दाज्नु मेरै गल्ती थियो।
'आस्था र श्रद्धा अफिमको नशा जस्तै हो। एकपटक लागेपछि सजिलै छुट्दैन,' ओएमजीमा लीलाधर महाराज बनेका मिथ्थुनले भनेको संवाद सम्झिएँ र बाहिर निस्किएँ।
+++
'राम' जति सत्य हुन्। भक्तजनहरुको आस्था र धर्ममाथि प्रश्न उठाउनु पनि गलत हुन्छ। तर, त्यसो भन्दैमा 'राम' लाई व्यापार बनाउनु चाहिँ ठीक लागेन।
रामेश्वरमबाट श्रीलंका धेरै टाढा छैन। धनुषकोडीबाट यस्तै १८–२० किलोमिटरको दुरी पार गरेपछि श्रीलंका। तर, त्यहाँ पुग्न सहज रहेनछ। हिन्द महासागर र बंगालको खाडी पार गर्दै जानुपर्ने। रावणले सीतालाई अपहरण गरी श्रीलंका लगेपछि रामलाई त्यहाँ पुग्न 'राम सेतु' ढुंगाको पुल बनाउनु परेको थियो।
'रामेश्वरममा अहिले पनि समुद्रमा नडुब्ने ढुंगा देख्न पाइन्छ रे!' सुनेको थिएँ। कौतुहलता बढाउन यति कुरा पर्याप्त थियो।
अब त्यहाँ जान परिहाल्यो। यो ठाउँका लागि हामी नयाँ मान्छे। 'होला नि त' भन्ने सोचेँ र टेम्पोले जहाँजहाँ लग्यो त्यहीँ त्यहीँको यात्रा गरियो।
पहिला रामेश्वरमको धनुषकोडीमा भव्य महल थियो। यहीबाट नै भारत र श्रीलंका छुट्टिने रहेछ। अहिले पानीका कारण केही भूभाग डुबेपछि धनुषकोडीको 'लास्ट पोइन्ट' सम्म जान नदिँदो रहेछ। यहीबाट राम सेतु देखिने रहेछ। तर, त्यहाँसम्म पनि पुगिएन।
१९६४ मा आएको शक्तिशाली आँधीमा परी त्यहाँ रहेका विशाल मन्दिरहरु भत्किए। शहर नै विनाश भयो। त्यसपछि त्यहाँका मूर्ति ल्याएर अहिले पंचमुखी हनुमान रहेको मन्दिरमा राखिएको रहेछ। धनुषकोडी भने अहिले पर्यटकका लागि 'कूल डेसटिनेसन' बनेको छ।
रामको पालामा झै ढुंगामा राम लेखेर सेतु बनाउँदै श्रीलंका पुग्न पनि यो कलियुगमा सकिने कुरा भएन। तर, रामेश्वरममा अहिले पनि राम नाम लेखिएका ढुंगा पानीमा तैरिरहेको छ।
पंचमुखी हनुमान नजिकै रहेको तुलसीबाबा मठ भित्र त्रेता युगमा सीता लिन जाँदा प्रयोग गरिएका ढुंगा दर्शनका लागि राखिएका छन्।
भित्रबाट फोटो लिन पाइदैन। ढुंगा भने छोइयो। सेतो रंगका ढुंगाहरुमा प्वालै प्वाल थिए। भनिन्छ यही नै यस ढुंगाको विशेषता हो।
मन्दिर घुम्दै गर्दा त्यहाँका पुजारीले पानीमा तैरिरहेको ढुंगालाई देखाउँदै भनिरहेका थिए, 'राम नाम लेखेको ढुंगा कहिल्यै डुब्दैन।'
त्यसपछि लक्ष्मणले शिवको आराधना गरेको लक्ष्मण तीर्थम् हुँदै लागियो पम्बन रोडमा रहेको सीता तीर्थम्।
यहाँ सीताले आफ्नो पाप मोचन गर्न छुट्टै शिवलिंगको स्थापना गरेर पूजा गरेको विश्वास रहेछ। यहीँ सीताले आफ्नो सतित्व सिद्ध गर्न आगोमा प्रवेश गरेको कथन पनि।
अहिले सीताले आफ्नो सतीत्व सिद्ध गरेको स्थानमा 'राम' नामको खुल्ला व्यापार भइरहेको छ।
'नक्कली निशुल्क, सक्कलीको १०० रुपैयाँ'
सेतो सर्ट र लुंगी लगाएका एक व्यक्ति तीर्थ आएकाहरुलाई भन्दै थिए।
पानीमा ढुंगा नडुब्ने दाबी गर्दै उनी ढुंगाको मोल गर्दै थिए। एकपटक त एउटा ढुंगा किनौं कि जस्तो नि लाग्यो। तर, मनलाई बुझाएर रोकिएँ। यात्रा लामो थियो। 'मिसाइल म्यान' ए पी जे अब्दुल कलामको घर जो पुग्नु थियो!