
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा जाउलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई हराएको छ।
सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा जाउलाखेलले च्यासलविरुद्ध २-० को जित हात पारेको हो।
पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा जाउलाखेलले दुवै गोल दोस्रो हाफमा गरेको थियो। जाउलाखेलले खेलको ८० औं मिनेटमा रुपबहादुर लामाको गोलबाट अग्रता बनाएको थियो। त्यसको ३ मिनेट भित्रै जाउलाखेलले अर्को गोल थप्यो। यसपटक विजय घलानले गोल गरेका थिए।
जितसँगै जाउलाखेल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जारी लिगमा ४ खेल खेलेको जाउलाखेलले २ मा जित र २ मा बराबरी खेल्दै ८ अंक जोडेको छ। यता च्यासल भने ४ अंकसहित तालिकाको आठौं स्थानमा छ।
लिगको शीर्षस्थानमा मनाङ मर्स्याङदी क्लब छ भने दोस्रोमा मछिन्द्र क्लबले स्थान बनाएको छ।