
- सुमित मिश्र-
जनकपुरधाम : प्रदेश नम्बर २ को प्रदेश सभा भवन अगाडी प्रदेश सरकारविरुद्ध नाराबाजी गरिएको छ। उपभोक्ता समितिका सदस्यहरुले प्रदेश सभाकै अगाडि मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र प्रदेश सरकार विरुद्ध नाराबाजी गरेका हुन्।
गत आर्थिक वर्ष २०७५/०७६ को बाँकी बक्यौता रकम माग्दै उपभोक्ता समितिका सदस्यहरुले मुख्यमन्त्रीसहित विभिन्न मन्त्रीहरुविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरुले नाराबाजी गर्दै केहीबेर प्रदेश सभा घेराउ समेत गरेका थिए।
गत आर्थिक वर्षमा विभिन्न मन्त्रालयबाट ८७ करोड बराबरको योजनाको काम सम्पन्न भएको थियो। सोही योजनामा उपभोक्ता समितिबाट भएका काममा हालसम्म भुक्तानी हुन नसकेका कारण उपभोक्ता समितिहरु आन्दोलित भएका छन्।
प्रदेश २ को ४ वटा मन्त्रालयका झण्डै ८ सय भन्दा बढी योजनाका भुक्तानी हुन बाँकी रहेको समितिको दावी छ।