PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

'आधा जिन्दगी खेर जान' नदिँदै आकाशमा हावासँग कावा खाँदाको क्षण...



मुकुन्द घिमिरे

'आधा जिन्दगी खेर जान' नदिँदै आकाशमा हावासँग कावा खाँदाको क्षण...

'पोखरा बहुत अच्छा है'

म भन्दा अगाडि बसेकी एकजना भारतीय महिला भन्दै थिइन्। हामी जाँदै थियौं सारङकोटतिर। गाडी उकालोतिर धकेलिँदै थियो, माथि पुगेपछि उडान गर्ने तयारीका साथ।

प्याराग्लाइडिङ! एकदमै उत्साह र कौतुहलता। अनि कताकता डर पनि। हल्लाउँदै र थचार्दै गाडी माथितिर उकालिँदै थियो। हाम्रो समूहमा ३ जना थिए, उड्ने अभिलाशासहितका। एक नेपाली (म), दुई मेरा छिमेकी देश भारत र चीनका एकएक। मतलब तीन छिमेक एक मिसन। हामीलाई उडाउन तीन पाइलट पनि सँगै। ड्राइभर पनि थिए नत्र हामीलाई कसले पुर्‍याउँथ्यो त्यो उचाइमा? 

चिनियाँ पर्यटक एकदमै कम बोल्ने। उनी कति उत्साही थिए, अनुमान समेत गर्न सकिएन। भारतीय महिला अलि जब्बर देखिन्थिन्। जसरी भए पनि प्याराग्लाइडिङ गरेरै छाड्ने मुडमा थिइन् उनी।

बिहान गाडी चढ्दैखेरी प्याराग्लाइडिङका पाइलटले ती भारतीय महिलाको तौल सोधेका थिए।

'९७ केजी,' उनले उत्तर फर्काइन्।

ओहो! म भन्दा झन्डै दोब्बर। दुई जना बराबरको सिट उनी एक्लैले कब्जा गर्ने भएपछि अगाडि बसेका पाइलट पछिल्तिर आएका थिए भने उनी अगाडि। 

सुरुमा ती महिलाले तौल बताएपछि पाइलट केही नभनी फरक्क अफिसतिरै फर्किएका थिए। उनको तौलले केहीबेर कुर्न पर्‍यो अनुमान हामीले गरिरहेका थियौं। ती पाइलट महिलालाई उडाउन तयार नभएझै लाग्यो। तर, पछि के कुरा भयो उनी आए।

हामी चढेको गाडी सारङकोट हुँदै तोरीबारी तर्फ मोडियो।

गाडी चलिरहेके थियो। केही माथि पुगेपछि पाइलटले कसरी उड्ने? उड्ने बेलामा केके कुरामा ध्यान दिने भनेर ब्रिफिङ गर्ने रहेछन्। चुरो कुरो चाहिँ उड्ने बेलामा अगाडि हेर्ने (पछाडि नफर्किने), पाइलटले हिँड्नु भनेपछि हिँड्ने र दौडिनु भनेपछि दौडनुपर्ने रहेछ। बीचमा जम्प गर्न खोज्ने या सिधै दौडन खोज्ने या पछाडि हेर्न निषेध।   

पाइलटको इन्स्ट्रक्सनबाहेक बाटोभरी ती महिलाको कुरा सुन्दैमा बित्यो।

मुम्वई उनको घर। त्यसभन्दा अघिल्लो दिन पनि उनी प्याराग्लाइडिङका लागि अर्कै एजेन्सीबाट गएकी रहिछिन् तर ओभर वेटका कारण उनलाई उडाउन पाइलटले आँट गरेका रहेनछन्। उनको कुरा सुन्दा लाग्थ्यो - आज पनि उनलाई उडाउन मानेनन् भने उनी झगडा गर्ने मुडमा छिन्। गाली गर्ने शब्दहरुको राम्रै बन्दोवस्त गरेर आएकी छिन् भन्ने उनको कुराले बुझाइसकेको थियो।

पछाडि बसेका पाइलटहरु आफूआफैँ नेपालीमा भन्दै थिए, 'उडाउन त १२५ केजीसम्म पनि उडाएकै हो तर दौडन सक्ने र इन्स्ट्रक्सन फलो गर्ने मान्छे त चाहियो नि।'  

माथि डाँडामा पुग्दा छेवैबाट उडिरहेका प्याराग्लाइडिङहरु देखिन थाले। डाँडामाथि त्यत्रो उचाइमा उडेको देख्दा उत्साहसँगै डर पनि। बल्लतल्ल माथि उडान गर्ने ठाउँमा पुगियो। झोला सामान सबै गाडीमै छाडेर प्याराग्लाइडिङको टेक अफ हुने ठाउँमा पुगियो।

त्यहाँ पालो कुर्नुपर्ने थियो - ट्राफिक धेरै भएर। यसो वरिपरि हेर्दा पाइलट बाहेक नेपाली म मात्र थिएँ। चिनियाँ, जापानी र भारतीय पर्यटकहरु धेरै थिए। युरोपेली र अमेरिकन पनि उत्तिकै। शुरुमा लागेको थियो। तर, म भन्दा अगाडि पर्यटक उडेको देखेपछि डर पनि उसकै उडाइको रफ्तारमा हराउँदै सानो हुन थाल्यो। तै पनि मन त ढक्क हुन किन छाड्थ्यो?

म प्याराग्लाइडिङका लागि मलाई तयार पारियो। हार्नेसिङको काम सकियो। त्यसपछि अरु उडेको हेर्दै कुर्नुको विकल्प थिएन। शुरुमा ठूलै चासो थियो: को कसरी उड्दो रहेछ?

अगाडि पालो आयो तिनै भारतीय महिलाको। अघि गाडीमा पाइलटले दिएको निर्देशन फेरि दोहोर्‍याए त्यहाँ। तर, ती महिला शुरुमै पछाडितिर फर्किइन्। पाइलट र उनी दुवै भुइँमा पछारिए। फेरि पनि पाइलटले उनलाई इन्स्ट्रक्सन दोहोर्‍याए। ती महिलाको पाराले अरुलाई अत्याउने थियो। मलाई त हेर्दाहेर्दै दिक्क नै लागिसकेको थियो।

अर्को पटक पनि त्यस्तै भयो। उनी पछाडि त फर्किइनन् तर अलिकति हिँडेर दुवै खुट्टा माथि उचालिन्। सायद्, उनलाई उडिसकेँ भन्ने लागेको थियो। बिचरा पाइलट। बल्लतल्ल क्यारी गरे, अलि तलै पुगेर। अनि तिनको ओजनलाई हलुको हावाले माथितिर लैजान थाल्यो।

अब पालो थियो चिनियाँ पर्यटकको। छरिता ज्यान भएका उनी सजिलै उडे।

अब पालो मेरो। म तयारै थिएँ। त्यहाँको नियम पनि बुझिसकेको थिएँ। तर, पनि पाइलटले एकपटक फेरि सर्सर्ती सुनाए। अब म उड्नका लागि तयार भएँ।

उड्नु अघि पाइलटसँग सेल्फी हान्न भ्याइयो। उनको भनाइ मान्दै म पनि ओरालोतिर उनीसँगै दौडिएँ।

अरुको हेर्दा पो सजिलो लागेको थियो। प्याराग्लाइडिङमा आफू बाँधिएर पाइलट नबाधिउन्जले अगाडि फर्किन भन्दा पछाडि फर्किन चाहिँ सजिलो पर्ने रहेछ। माथि हावामा प्याराग्लाइड फैलिसकेपछि मात्र पाइलट जोडिने रहेछन्। पाइलट जोडिर ४ पाइला जति हिँडे पछि दौडनु पर्ने। मलाई त्यसमा खासै समस्या लागेन।

हुssssss हामी उड्यौं। माथि, माथि, अझ माथि। जति माथि जाँदै थिएँ त्यति तल पोखरा देखिँदै थियो। सानासाना घर। प्रस्ट देखिने फेवाताल। साना साना रुख। गाडी। एकदमै रमाइलो।

दृश्य हेर्न भ्याइ नभ्याइ। कता हेर्न कता नहेर्ने? म त चरा झै उडिरहेको थिएँ। यसो अर्कोतर्फ फर्किएको त माछापुछ्रे लगायतका हिम शृङखला लहरै। यी दृष्यहरु जमिनमा बसेर हेरेभन्दा अलग थिए, वर्णन गर्नै नसकिनेखाले।

पाइलटले त्यहाँबाट देखिएका ठाउँहरुको नाम भन्दै थिए। खेलकुदमा अलि चासो लाग्ने भएकाले यो प्याराग्लाइडिङ गेममा चाहिँ के हुन्छ? सोध्न भ्याइहालेँ।

उनले 'टास्क बेस' हुन्छ भनेर बेलिबिस्तार लगाए। हामीले गरेको फ्लाइटलाई टेन्डम फ्लाइट भनिँदो रहेछ। यहाँ मजस्ता उड्न चाहनेको काम निर्धक्क बस्नु र पाइलटको घुँडामा अडेस लाग्नुमात्र हो। बाँकी कति माथि जाने र कसरी उड्ने चाहिँ पाइलटकै भर। धेरै सुन्न फुर्सद थिएन। पोखराको सुन्दर दृश्य आँखामै क्याप्चर गर्न मन लागिरहेको थियो।

केही बेरमा गोप्रोबाट फोटोहरु खिचियो। अनि भिडियो पनि। अलि तल सरङकोटतिर आइपुग्दा चिसो भएजस्तै भयो। दिन उघ्रेको थियो। मलाई लागेको थियो चिसोपछि उघ्रिएको दिन प्याराग्लाइडिङ सबैभन्दा रमाइलो होला भनेर। तर, त्यसो होइन रहेछ। जमिन तातेको बेला अर्थात् गर्मीको मौसममा प्याराग्लाइडिङका लागि उपयुक्त समय हुने ती पाइलटले सुझाए।

'टाढाको जंगलमा हरियाली' भने जस्तो मलाई लागेको थियो। प्याराग्लाइडिङ चलाउनेहरुको जीवन त क्या रमाइलो होला भनेर। तर, ती पाइलटको कुरा सुने पछि लाग्यो त्यसो होइन रहेछ।

'त्याँ पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्दै छ भन्ने त सुन्नु भएको होला? त्याँ बनेपछि हाम्रो त उठिबास लाग्छ। यो रुट भएर प्लेन उड्न थालेपछि प्याग्लाइडिङ त त्यतिकै हराउँछ,' प्याराग्लाइडिङमा आकाशमै भएको बेला कुरा गर्दा उता बाट आउँदै गरेको यति एयरलाइन्सको विमानलाई हेर्दै उनले भने, 'जीवनमा सिकेको कुरा यही छ। यत्रो वर्ष प्याराग्लाइडिङ नै गराएर बसियो। अरु केही आउँदैन।'

यति भनिनसक्दै उनी खित्का छाडेर हाँसे। किन हाँसे बुझिएन। उनका कुरा मेरालागि हाँस्ने भन्दा पनि गम्भीर थियो। गम्भीर कुरालाई हाँसोबाटै व्यक्त गर्ने उनको शैली होला सायद। खैर, सोचेर बस्न फुर्सद थिएन। हेर्नु धेरै तिर थियो। फेवा तालको माथि प्याराग्लाइडिङ आइपुगेको थियो।

पाइलटले सोधे - एक्रोब्याट गर्ने हो?

मैले गरौं न त भन्दिएँ।

त्यसपछि हवामा कावा खान थाल्यो। फनफनी घुम्दै तल र माथि हुनु आफैँमा डर र रोमाञ्चको घुलन थियो। केही क्षणपछि फेरि स्थिर।

दृश्य एकदमै रमाइलो थियो। तर, फेवाताल हेर्दाहेर्दै फेवातालकै किनारमा ल्यान्डिङ। उडान लिँदा भन्दा ल्यान्ड गर्न सजिलो लाग्यो। खुट्टा टेक्नु भनेपछि टेक्दै थोरै अगाडि दौडिएपछि सुरक्षित रुपमा अवतरण।

तल ओर्लिँदा अघिका चिनियाँ पर्यटकले भारतीय महिलालाई भन्दै थिए, 'यू वेन्ट फर मोर टाइम'

खासमा पोखरा यात्रा पहिलो पटक थियो। प्याराग्लाइडिङको बारे सोचेको थिइन। तर, पोखरा क्रिकेट ग्राउन्डको मिडिया बक्समा बसेपछि माछापुछ्रे हिमालको दृश्यले नतानिरहन सकेन। त्यता हेर्दा टाढा आकाशमा उडेका प्याराग्लाइडिङ पनि देखिने भइहाले। कस्तो होला हिमालका अगाडि उड्न पाउँदा भन्ने कौतुहलता लागिरहेको थियो।

खेल चलिरहँदा उडिरहेका प्याराग्लाइडिङ पनि हेरेर बसेँ। खेल सकिने अघिल्लो दिन अफिस फोन गर्दा ऋषिकेश सरले प्याराग्लाइडिङ नगरी आउने? भनेर उल्टै प्रतिप्रश्न गर्नु भयो।

'अहो मनकै कुरा' मलाई त 'बाँदरलाई लिस्नो' भनेजस्तो भइहाल्यो।

पिपिएल सकिएको दिन सिधै प्याराग्लाइडिङ गराउने एजेन्सीकहाँ गएँ। पहिलोमा जाँदा चित्त नबुझेर दोस्रोमा गएँ। र, त्यहाँबाट तेस्रोमा पनि। मलाई चित्त नबुझनुको कारण थियो प्याराग्लाइडिङको मूल्य। अघिल्लो महिना मेरा एकजना साथी ५५०० रुपैयाँमा प्याराग्लाइडिङ गरेर फर्किएका थिए। तर, १ महिना कै अन्तरालमा त्यो मूल्य ८ हजार पुगेको रहेछ।

'यहाँको समितिले नै बढाएको हो। यो भन्दा सस्तो गरे हामीलाई कार्वाही हुन्छ,' म गएका ३ वटै एजेन्सीले त्यही जवाफ दिए। इन्टरनेटमा हेर्दा पनि त्यही थियो।

'सिन्डिकेट' नेपालीले झेल्नु पर्दा अचम्म हुँदैन तर झेल्नु परेन भने चाहिँ अचम्म हुन्छ भन्ने लाग्यो। 'ठीकै छ' भनेर टिकट काटेँ। प्याराग्लाइडिङ गराउने ठाउँसम्म पुग्दा मैले बुझिसकेको थिएँ किन आन्तरिक पर्यटक प्याराग्लाइडिङ गर्दैनन् भनेर। कुरा त्यहीँ गएर ठोक्किने रहेछ। मतलब पैसामा।

समग्रमा प्याराग्लाइडिङ सोचेजस्तो हाउगुजी लागेन मलाई चाहिँ। माथि आकाशबाट सँगसँगै माछापुछ्रे र तल फेवाताल सहितको सुन्दर दृश्य हेर्न नपाए एकजना पार्टी अध्यक्षको भनाइ जस्तो 'गएन त आधा जिन्दगी खेर?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell