PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नगदे बालीको उधारो कथा : भुक्तानी नपाउँदा दिनदिनै पीडित बन्दै उखु किसान



पहिलोपोस्ट

नगदे बालीको उधारो कथा : भुक्तानी नपाउँदा दिनदिनै पीडित बन्दै उखु किसान

  • सुमित मिश्र-

सर्लाही : लामो समयसम्म पनि भुक्तानी नपाएपछि उखु किसान चरणबद्ध आन्दोलनमा छन्। पछिल्लो समय मिल सञ्चालक खोज्दै किसान काठमाडौँमा छन्। आफ्नो पसिनाको मूल्य भराइदिन माग गर्दै सरकारसामु किसान हारगुहार गरिरहेका छन्। सरकारमाथि नियमित दबाब पनि किसानहरूले दिइरहेका छन्।

कतिपय किसानहरूले पाँच वर्षदेखि चिनी मिल सञ्चालकबाट पैसा पाएका छैनन्। सर्लाहीका अधिकांश किसान यति बेला काठमाडौँमा छन्।

नगदे बालीको उधारो कथाले यति बेला सबैको ध्यान खिचेको छ। उधारो असुल गर्न थप ऋण निकालेर काठमाडौँ आएका किसानका व्यथाले मिडियामा पनि उत्तिकै स्थान पाएका छन्। तर, भुक्तानी प्रक्रिया कसरी सुल्झाउने सरकारले ठोस रणनीति तय गरिसकेको छैन। विभागीय मन्त्रीहरूले परामर्श गरिरहे पनि किसान ढुक्क छैनन्। बक्यौता रकम आउने निश्चित भइसकेको पनि छैन। सरकारले ठोस पहल नगर्ने र मिल मालिक सम्पर्कका नहुने समस्याको चेपुवामा किसान परिरहेका छन्। किसान थप पीडित बनिरहेका छन्।

यसो त नियमित रूपमा पनि भुक्तानीका निम्ति कम्तीमा चार/पाँच महिना कुर्नैपर्ने अवस्था छ। उद्योगले उखु क्रसिङ गरेर चिनी बिक्री गर्न थालेपछि मात्रै किसानले रकम पाउँदै आएका छन्। पुस माघमा उखु बुझाएका किसानले वैशाखतिर मात्रै पैसा पाउने गरेका छन्। तर, पछिल्लो समस्या पाँच महिना नभई पाँच वर्ष पुरानो छ। काठमाडौँमा मात्र हैन किसानको आन्दोलन जिल्लामा पनि उत्तिकै छ।

पुसको चिसो महिनामा सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिलमा पनि उनीहरू पुगेका छन्।

उद्योग परिसरमा फेला परेका सर्लाही बलरा नगरपालिका ३ का उमेश साह र बसबरियाका हुसनारायण राय रकम नपाएकोमा चिन्तित छन्। आफूले खेती सुरु गरेदेखि नै लगानी गर्नुपर्ने र मिल सञ्चालकले लामो समयसम्म पनि पैसा नदिने समस्याको चेपुवामा आफूहरू परेको बताउँछन्।

समयमा पैसा भुक्तानी नपाएपछि किसान नजिकका मिल छाडेर टाढा-टाढा उखु पुर्‍याइरहेका छन्।

‘धनकौलमा दुई वर्षअघिकै ५० हजार जति र बगदहमा ३ लाख रुपैयाँ बाँकी छ। चिनी बिकेपछि दिन्छु भनेको अहिलेसम्म दिएका छैनन्’ गौडेता नगरपालिकाका राजकिशोर मण्डलले भने, “बाजेको पालादेखि उखु खेती गर्दै आएका छौँ। गरुडा, रामनगर, धनकौल, बगदहका उद्योगमा उखु बेचिसकेका छौँ। सबैले चिनी बिकेपछि पैसा दिन्छु भन्छन्। कत्तिले त नदिएर झुलाउँछन्।”

बाली लगाउने समयदेखि नै गोडमेल, मल र मजदूरलाई नगदै रकम दिनुपरेको किसानहरु बताउँछन्। ऋण गरेर लगाएको बालीको बिक्री भइसक्दा पनि रकम नपाएको उनीहरूको गुनासो छ। किसानहरूले मल समेत समयमा नपाउँदा कतिपय अवस्थामा भारतबाट ल्याउनुपर्ने स्थिति छ।

योपटक सरकारले प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको छ। इन्दुशंकर चिनी मिलले सरकारी अनुदानबाहेक ४७१ रुपैयाँमा चलान पुर्जी काटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell