
काठमाडौं : अवैध रुपमा ल्याएको सुन सहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले राहदानी नम्बर आर ५०७०३२२ भएका मोहमहद कसिफ र राहदानी नम्बर जे ८६१९१८३ नम्बर भएका मोहद मुसरफिनलाई नियन्त्रणमा लिएको हो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरीले एक किलो सुन सहित उनीहरुलाई पक्रेको हो।
कसिफ नेपाल एयरलाइन्सको विमानबाट दुवई हुँदै काठमाडौं ओर्लिएका थिए भने मुसरफिन इन्डिगो विमानबाट दिल्ली हुँदै आएको प्रहरीले जानकारी दिएको छ। उनीहरुले सुनलाई पगालेर चारवटा प्याकेट बनाएका थिए। प्याकेटहरु शरीरमा लुकाएर ल्याएका थिए। एक किलो सुनको मूल्य ५५ लाख रुपैयाँ भन्दा बढी पर्न आउँछ।
३३ किलो सुन प्रकरणपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको गृहमन्त्रीले दावी गर्दै आए पनि सुन तस्करहरुले नयाँ नयाँ तरिका अपनाएर तस्करी गर्दै आएको खुलेको छ। यसअघि मलद्वारामा राखेर, सुनलाई झोल बनाएर, टाँक बनाएर, जिब्रोमुनि राखेर समेत तस्करी हुने गरेको भेटिएको थियो।