
काठमाडौं: अमेरिकामा आयोजना हुनेगरी दुई नेपाली रियालिटी सो घोषणा भएका छन्। डान्सिङ रियालिटी सो ‘मेरो डान्स कप’ को चौथो संस्करण र गायन रियालिटी सो ‘मेरो भ्वाइस कप’को दोस्रो संस्करण हुने भएको हो।
अमेरिका, ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा दुबै सोको औपचारिक सुरुवात हुनेछ। ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहने जानकारी दिइएको हो।
सोका लागि अमेरिकाको विभिन्न शहरमा अडिसन हुनेछ। अडिसनबाट छानिएका २० जना नव प्रतिभाले यस रियालिटी सोमा सहभागिता जनाउन पाउने छन्। ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन्। दोस्रो हुने विजेताले गोल्डेन कप र तेस्रो हुनेले सिल्भर कप पाउने आयोजक मध्येकी एक अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन्। उनी ‘मेरो डान्स कप’ को दोस्रो र तेस्रो सिजनमा निर्णायकको भूमिकामा थिइन्।
कार्यक्रममा नेपाली फिल्म र सांगीतिक व्यक्तिहरु सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ।
यी दुवै रियालिटी सोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ।