PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कालापानी - लिपुलेकबारे नेपाल प्रमाण जुटाउँदै, दोहोरियो भारतीय दाबी 'नयाँ नक्साले भारतको सर्वभौमसत्तालाई प्रस्तुत गरेको छ'



सहयोग रञ्जित

कालापानी - लिपुलेकबारे नेपाल प्रमाण जुटाउँदै, दोहोरियो भारतीय दाबी 'नयाँ नक्साले भारतको सर्वभौमसत्तालाई प्रस्तुत गरेको छ'

काठमाडौं : सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा बिहीवार मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्दै थिए। उखु किसानको आन्दोलन र सूचना प्रविधि विधेयकबारे सरकारको धारणा राख्दै गर्दा विधेयक आफू खुशी व्याख्या गर्दै भ्रम फैलाउन कोसिस भइरहेको उनको दाबी थियो।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न प्रत्येक बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा हुने नियमित पत्रकार भेटघाटामा बास्कोटालाई नियमित रुपमा सोधिने प्रश्न बनेको छ कालापानी – लिपुलेकबारे। मन्त्री बास्कोटाको नियमित उत्तर हुन्छ,'कालापानी लिपुलेक हाम्रै हो।' भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल पनि कालापानी – लिपुलेक हाम्रै भएको दाबी गर्दै हिँडिरहेकी छिन्। संवादमार्फत सीमा विवाद टुंग्याउने भन्दै प्रमाण जुटाइरहेको दाबी गर्छिन्।

नेपालको दाबी र प्रमाण बटुल्ने कुराबीच भारतको नयाँ दिल्लीमा पनि प्राय बिहीवार त्यही समयमा एक व्यक्ति नेपालबारे सोधिएका उत्तर दिइरहेका हुन्छन्। उनी हुन् भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमार।

विषय एउटै कालापानी- लिपुलेक विवाद। उत्तर फरक, दुवै पक्षको आफ्नै दाबी।

आज मन्त्री बास्कोटाले सीमा विवादबारे प्रश्नको सामना गर्नुपरेन। तर, सञ्चार मन्त्रालयमा कार्यक्रम भइरहँदा त्यही समयमा भारतको नयाँ दिल्लीमा नेपालबारे चर्चा भइरहेको थियो। विक्ली मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारलाई नेपालले उठाइरहेको सीमाबारे प्रश्न सोधियो।

रवीशले भारतबाट जारी भएको राजनीतिक नक्सामा नेपालको भूमि नचलाइएको दाबी गरे।

उनले भने, 'जारी भएको नयाँ नक्साले भारतको सर्वभौमसत्तालाई प्रस्तुत गरेको छ। नेपालसँग जोडिएका सीमामा कुनै फेरबदल गरिएको छैन। नेपालसँग हाम्रो राजनीतिक नक्सा पहिलाको झै यथावत् रहेको छ।' 

उनले भारत र नेपालबीच सीमांकनको विषय संवादको माध्यमबाट टुंगो लगाउने बताए।

बुधवारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै टेलिफोन वार्ता गरेका थिए।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै मोदीलाई पुन: नेपाल भ्रमणको निमन्त्रणा दिएको उल्लेख गरेका छन्। 'आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो। हामीले नयॉ बर्ष २०२० को शुभकामना आदान-प्रदान गर्यौं,' ओलीले ट्वीटमा लेखेका छन्, 'दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्‍याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्‍यौं।'

रवीशले भने दुई देशका प्रधानमन्त्रीबीच कुरा भएको तर शुभकामना आदानप्रदान मात्रै भएको दाबी गरे। उनले टेलिफोन वार्तामा भएका अन्य छलफलबारे थाहा नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell