PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

उखु किसानको पीडा : नेता पनि उद्योगीकै पक्षमा, नेकपा नेताले लगाएको ताला खोले, कांग्रेस सांसदले उद्योगीकै पक्षमा बोले

उखु किसानको पीडा : नेता पनि उद्योगीकै पक्षमा, नेकपा नेताले लगाएको ताला खोले, कांग्रेस सांसदले उद्योगीकै पक्षमा बोले

पहिलोपोस्ट /पहिलोपोस्ट


  • सुमित मिश्र-

सर्लाही : उखु किसानलाई भुक्तानी दिलाउन पहल गर्नुपर्ने राजनीतिक दलका नेताहरु नै उद्योगीको पक्षमा लागेका घटना उजागर हुँदै गएका छन्। किसानको पक्षमा केही नबोल्ने नेताहरु उद्योगीलाई बचाउन र संरक्षण दिन लागिपरेका छन्।

सर्लाहीको गोडैता नगरपालिका-६ स्थित महालक्ष्मी चिनी उद्योगले किसानको पैसा नदिएको भन्दै बिहीवार किसान उद्योगमै जम्मा भएका थिए। किसानलाई बाँकी रकम नदिएको भन्दै गोडैता नगरपालिकाका मेयरकै नेतृत्वमा उद्योगमा बिहीवार तालाबन्दी पनि भयो। समन्वय गर्नुपर्ने जनप्रतिनिधि नै तालबन्दीमा पुगेपछि अन्य दलले पनि घटनालाई राजनीतिक रुप दिए।

राष्ट्रिय जनता पार्टी (राजपा)का मेयर देवेन्द्र यादवको नेतृत्वमा उद्योगमा ताला लाग्यो। ताला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता शिवपूजन राय नेतृत्वको टोलीले फुटाइदिएको आरोप यादवको छ।

‘किसानलाई सहयोग गर्नुभन्दा नेता रायले किसान डुबाउने उद्योगीकै पक्षमा लागे’, मेयर यादवले भने, 'हामी थप छलफल गरेर अघि बढ्छौँ।'

नेता रायले भने मेयर यादव एक्लैले ताला लगाएको आरोप लगाए। उद्योगी कनोडियाले सोमवार भुक्तानी दिने आश्वासनपछि किसानले नै ताला खोलेको रायको जिकिर छ।

किसानले ताला लगाएर मिल सञ्चालन गर्न नदिने अडान कायम राखेपछि उद्योगी वीरेन्द्र कनोडियाले चाँडै भुक्तानी दिने उधारो आश्वासनसम्म दोहोर्‍याए। कनोडिया कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य पनि हुन्। सोमवारसम्म बाँकी रकम भुक्तानी गर्ने आश्वासन कनोडियाको छ।

उद्योगीकै पक्षमा सांसद्

किसानको बाँकी रकम भुक्तानी र उद्योग सञ्चालनबारे बिहीवार छलफल गरिएको थियो। छलफलमा कनोडियाले राजनीतिक प्रभाव उद्योगमा पर्न नदिने बताए।

छलफललाई कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य नागेन्द्र राय यादवले उद्योगीकै पक्ष लिए। प्रतिनिधि राखेर रकम दिने सहमति गर्नुपर्ने यादवले बताएपछि मञ्चअघि बसेका किसानको समूहले हो-हल्ला गरेको थियो। सुरक्षाकर्मीले किसानलाई मञ्चमा जानबाट रोकेका थिए।

उखु किसान संघर्ष समितिका संयोजक रामसोगारथ यादवले यसअघि धेरै पटक रकम दिने सहमति गरिसक्दा पनि नदिएकाले पुनः सहमति गर्न नहुने बताए। उनले सांसदजस्तो व्यक्ति उद्योगीभन्दा किसानको पक्षमा उभिनुपर्ने बताए।

भुक्तानीको उधारो आश्वासन

महालक्ष्मी चिनी उद्योगले उखु किसानलाई झण्डै २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यसपटक उद्योग सञ्चालन गर्न लाग्दा कृषकहरुले पहिलेको रकम भुक्तानी दिनुपर्ने माग गरेका छन्।  

किसानको अडानपछि सञ्चालक कनोडियाले सोमबारसम्म बाँकी रकम दिने प्रतिवद्धता जनाएका छन्।

किसानको रकममा बेइमानी नगर्ने उनले बताए। ‘२२ वर्षदेखि उद्योग सञ्चालन गर्दै आएको छु। उद्योगमा सय करोडको लगानी छ’, उनले भने, 'म बेइमानी गर्दिनँ।'

पाँच महिनादेखि चिनी बिक्री हुन नसकेका कारण समयमा भुक्तानी गर्न नसकेको उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell