
- सुमित मिश्र-
जनकपुरधाम : प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी धनुषामा भएको बम बिस्फोट घटनामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीको खोजी सूचीमा रहेका आदम राईलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको हो। प्रहरी स्रोतले राई नै घटनाको मुख्य योजनाकार रहेको दावी गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेका राई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।
गत मंसिर २७ गते राति धनुषाको महेन्द्रनगरमा भएको बम बिस्फोटमा परि प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको मृत्यु भएको थियो। घटनामा टाइम बम प्रयोग भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।