PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राष्ट्रिय सभा निर्वाचनमा नेकपाको भागबण्डा : पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना



कुञ्जरमणि भट्टराई

राष्ट्रिय सभा निर्वाचनमा नेकपाको भागबण्डा : पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ। भागबण्डा आधारमा टुंग्याइएको उम्मेद्वारहरुमा पूर्व एमालेबाट ९ जना तथा पूर्व माओवादीबाट ७ जना रहेका छन्। नेकपाले शुक्रवार बिहान १६ उम्मेद्वारको नाम टुंग्याएको हो।

प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल रहेका छन्। जसमा गौतम र दाहाल पूर्व एमाले तथा अछामी पूर्व माओवादी हुन्।

त्यस्तै प्रदेश २ मा महिलाबाट तुलासा दाहाल र दलितबाट राधेश्याम पासवान रहेका छन्। प्रदेश २ मा नेकपा र राजपाले दुइ/दुइ सिटमा गठबन्धन गरेका छन्। प्रदेश दुइमा पूर्व माओवादीको भागमा १-१ जना परेका छन्। दाहाल पूर्व एमाले पक्षका हुन् भने पासवान पूर्व माओवादीका हुन्।

नेकपाले प्रदेश ३ मा अन्यबाट पार्टीका स्थायी कमिटी सदस्य रहेका बेदुराम भुसाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यस्तै, महिलाबाट गंगा बेलवासेलाई उम्मेद्वार बनाइएको छ।  २०७४ को राष्ट्रियसभा निर्वाचनमा अन्तिम समयमा भुसालको उम्मेद्वारी फिर्ता भएको थियो। बेलवासे पनि पूर्व एमाले हुन्।

उता, गण्डकी प्रदेशमा नेकपाले महिलाबाट भगवती न्यौपाने र अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेद्वार रहेका छन्। श्रेष्ठ पार्टी प्रवक्तासमेत हुन्। प्रतिनिधि सभा निर्वाचनमा गोर्खा - २ बाट उम्मेद्वारी दिएका श्रेष्ठ तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईसँग पराजित भएका थिए। भगवती न्यौपाने पूर्व एमाले हुन्।

यस्तै, प्रदेश ५ महिलाबाट विमला घिमिरे, अपाङ्गता/अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ। यस प्रदेशमा पूर्व माओवादीले एक जना मात्र उम्मेद्वार पाएको छ। अल्पसंख्यक कोटामा परेका शर्मा पूर्व माओवादी हुन्।

कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसीलाई उम्मेद्वार बनाउने निर्णय नेकपाले गरेको छ। कर्णाली प्रदेशमा नेकपाले एक—एकको भागवण्डा गरेको छ। जसमा मायाप्रसाद पूर्व माओवादी तथा विसी पूर्व एमाले पूष्ठभूमिका हुन्।

सुदूरपश्चिम प्रदेशमा अन्यमा तारामान स्वाँर, महिलाबाट शारदा भट्टलाई उम्मेद्वार बनाउने निर्णय नेकपाले गरेको छ। यस प्रदेशमा स्वाँर पूर्व माओवादीका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell