PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रादेशिक अस्पताल जनकपुरलाई नमुना अस्पताल बनाउने प्रदेश सरकारको तयारी



राधेश्याम पटेल

प्रादेशिक अस्पताल जनकपुरलाई नमुना अस्पताल बनाउने प्रदेश सरकारको तयारी

वीरगंज : मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरलाई नमुना अस्पताल बनाउने गरी कार्ययोजना तयार पार्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। अस्पतालको अनुगमन गर्ने क्रममा शुक्रवार मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन्।

उनले भने, ‘यो अस्पताल प्रदेशकै गौरव हो, यसमाथि जनताको विश्वासलाई बढाउन के-के गर्न सकिन्छ, तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुस्। प्रदेश सरकार सहयोग गर्न तयार छ।’

अस्पतालको सरसफाईमा विगतको भन्दा अहिले व्यापक सुधार भएको प्रति अस्पताल प्रशासनलाई धन्यवाद दिँदै उनले सरसफाईलाई निरन्तरता दिन आग्रह गरे। मुख्यमन्त्री राउत सामाजिक विकास मन्त्री नवल किशोर साह, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव रामकृष्ण सुवेदी, समाजिक विकास मन्त्रालयका सचिव भरत सुवेदी सहितको टोली लिएर अस्पताल पुगेका थिए।

प्रदेश सरकारले प्रादेशिक अस्पताललाई प्राधिकरणमा लैजाने तयारी थालेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसै अनुरुप उपचार सेवालाई गुणस्तरीय बनाउन समेत निर्देशन दिए। अस्पतालमा देखिएको जनशक्ति अभावलाई समाधान गर्न प्रदेश सरकारले तयारी शुरु गरिसकेको बताउँदै उनले प्रादेशिक लोक सेवाबाट छिटै जनशक्ति आभावको समस्या समाधान गरिने बताए। सो अवसरमा मुख्यमन्त्री राउत, समाजिक विकासमन्त्री साह र मुख्य न्यायाधिवक्ता झाले स्वास्थ्य जाँच समेत गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell