PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एकोहोरो काठमाडौं, व्यवहारिक पोखरा : पर्यटक तान्ने पोखरा ट्रिक, 'हे बरै'देखि सडकमै सेलो सवालजवाफसम्म



मुकुन्द घिमिरे

एकोहोरो काठमाडौं, व्यवहारिक पोखरा : पर्यटक तान्ने पोखरा ट्रिक, 'हे बरै'देखि सडकमै सेलो सवालजवाफसम्म

शनिबारको दिन। पोखरा प्रिमियर लिगमा चितवन राइनोजले जितेसँगै अफिसको कामबाट फ्री भएँ।

रंगशाला वरपरको चक्करबाट छुटकारा पाउन मन भो। त्यसैले पुसको चिसो हावा खान लागियो लेक साइड।

शनिवारको दिन यसै पनि पर्यटकको घुँइचो लाग्ने दिन। त्यसमाथि स्ट्रीट फेस्टिभलको रौनक थियो।    

‘हे बरै!’ गीत घन्कँदै थियो पोखराको लेक साइडमा।

सडक महोत्सवले घुम्नलाई रमाइलो बनाइरह्यो। बाटो छेउछाउका रेस्टुरेन्ट, होटल झिलिमिली देखिन्थे। खानेकुराका स्टलले फुटपाथमा अड्डा जमाएका। फुटपाथ सडकमा ओर्लिए। सडकमा गाडी थिएनन्। ढुक्कसँग हिँड्ने रमिता हेर्ने जमात उस्तै।

उहिले इलामको माइपोखरी मेलामा यस्तैं हुन्थ्यो। ठूलो भीड हिँडिरहन्थ्यो। गाडीले डिस्टर्ब गर्दैन थियो। सहजसँग हिड्न पाइन्थ्यो।

त्यसपछि काठमाडौं आइयो। काठमाडौंका सडकमा जामै बढी। सडक पेटीमा पसल र विश्वकै सबैभन्दा ठूलो काम छुटे जसरी हतारमा पेलेर कुद्ने मोटरसाइकल। र ट्वाल्ल पर्दै कहिले पसलेको गाली र कहिले मोटरसाइकलको टिट्टिट् र टाट्टास सुन्दै हिँड्ने निरिह पैदलयात्री। यो दृष्यबाट पोखराको दृश्य एकदमै अनौठो थियो।

जहाँ पुगियो त्यहीँ 'हे बरै’ गुञ्जिँदै थियो।

केही पर सांस्कृतिक पोसाकमा भेला भएर सेलोमा रम्दै थिए केही जोडी।

‘गालामा चाउरी परेकी

कति केटाले फकायो कान्छी कति केटाले बिगार्‍यो’

पुरुष पक्षले यसो भनेर प्रश्न गर्दै थिए। महिला पक्षबाट जवाफ आइहाल्यो।

'गाउँ अनि शहर धाएको

छैन ए च्याङ्बा पाएको

भनेको जस्तो पाएको'

डम्फु बजाउँदै सेलोमा झुमेमा जोडीको ठट्यौले सवालजवाफको रौनकले १०/१५ मिनेट त म हेरेको हेरै भइएछ। विदेशी पर्यटकहरुमात्र हैन आन्तरिक पर्यटकहरुसमेत झुमेका थिए त्यहाँ।

आधाआधी नबुझे पनि सेलो सवालजवाफ एकदमै रमाइलो लागि रहेको थियो। तर पनि घुम्नुपर्ने अझै भएकाले त्यहाँबाट पनि हिँडियो।

लोकभाकाबाट टाढिँदै जाँदा घन्कियो पञ्चेबाजा। लेकसाइडबाट न्युरोडतिर पञ्चेबाजा बजाउँदै पर्यटकलाई आर्कषित गर्न पर्यटन व्यवसायीहरु तल्लिन देखिए। दौरा सुरुवाल लगाएर मौलिक पारामा गुञ्जिएका भाकाले पोखराको नाइट लाइफलाई अझै रमाइलो बनाइरहेको थियो।  

यस्तै भाकामा पर्यटकहरु बाँडिएका थिए।

‘तिम्रो माया कति हो कति नलाउ पछि हल्लै को..’ मा नाच्दै थिए कोही पञ्चेबाजको नरसिंहको प्वाल हेर्दै थिए। अर्को थरी सडकपेटीमा तयार पारिएका खानेकुरा खाँदै थिए। गज्जब दृश्य थियो। कम्तीमा काठमाडौंबाट अस्तव्यस्ताबाट पोखरा पुगेको मेरा लागि।

लेक साइड पुरा एक फन्को लगाएर खाना खायौं। त्यतिमा चित्त बुझेन। फेरि नौ बजे तिर निस्कियौ लेकसाइडमै। माहोल त्यति तातेको नभए पनि रमाइलै थियो।

***

त्यहाँको माहौल हेर्दा लाग्यो स्ट्रिट फेस्टिभलमात्र होइन अरु 'एस्पेक्ट' बाट पनि पर्यटक तान्न तयार रहेछ पोखरा। कहिले खेलकुद, त कहिले साहित्य र साइकलिङ प्रतिस्पर्धा। पोखरामा विविधता देखियो। काठमाडौं अलि एकोहोरो हो कि जस्तो लाग्यो। यसो पछिल्ला घटनाक्रमबाट केलाउन मन लाग्यो।

डिसेम्बर महिनामा मात्र काठमाडौं, पोखरा र जनकपुरमा दक्षिण एसियाली खेलकुद (साग) आयोजना भएको थियो। सागपछि काठमाडौंमा शहीद स्मारक ए डिभिजन लिग आयोजना भयो। लिग चलिरहेको छ तर समर्थकको ध्यान चाहीँ तान्न सकिरहेको छैन। कहिले दशरथ रंगशाला धाउनुपर्ने त कहिले सातदोबाटो।  यही विषयलाई ध्यानमा राख्दै एन्फाले फुटबल हेर्न आउने दर्शकलाई पुरस्कार दिनेसम्मका योजना अघि सार्‍यो। तर अझै प्यारापिट भने रित्तै देखिन्छन्।

शहीद स्मारक लिगमा तेस्रो चरण सकिएर चौथो चरणका खेलहरु शुरु भए। लिग भर्खरै तात्दै छ। त्यस्तै नेपाल भ्रमण वर्षलाई लक्षित गरेर जनवरी १ मा दशरथ रंगशालामा कार्यक्रमसमेत आयोजना भयो। १५ हजारको क्षमता भएको रंगशालामा केही सिमित व्यक्तिलाई प्रवेश दिएर 'भव्य' रुपमा भ्रमण वर्ष सुरु गरियो। पोखरा पुगेर स्ट्रिट फेस्टिभलमा रमाउने हामी जस्तो आन्तरिक पर्यटक रंगशालामा भाषणलाई प्रवेश नगरेकै ठिक!

 

***

पर्यटक तान्ने सन्दर्भमा पोखरा काठमाडौंभन्दा केही फरक लाग्यो। जसरी काठमाडौंमा सांस्कृतिक सम्पदाहरु छन् त्यसरी नै पोखरामा प्राकृतिक सम्पदा। तिनै प्राकृतिक सम्पदा हेर्नै नै पोखरा पुग्ने गर्छन् पर्यटक। आउने बाटो काठमाडौं नै। तर पर्यटक काठमाडौंमा धेरै होल्ड हुँदैनन्। धुलो र हिलोले काठमाडौं टिकिसक्नु छैन। उपत्यकाका धेरै सम्पदा र प्राकृतिक स्थलबारे सरकारी प्याकेज नभएर पनि होला। भिजिट नेपालमा पनि काठमाडौं भनिरहेछ - हामी यस्तै त हो नि बोरो। 

यता, पर्यटक होल्ड गराउन पोखरामा व्यवस्थापन चाहिँ राम्रो लाग्यो।

साग अवधिभर पोखरामा खेलको माहोल जम्यो। विशेष गरी फुटबल, क्रिकेटलगायतमा मानिसहरुको सहभागिता उल्लेखनिय रह्यो। साग सकिँदानसकिँदै शुरु भयो 'लिट्रेचर फेस्टिबल'। अनि माहोल बन्यो साहित्य र बौद्धिक वर्गको। देशभरबाट आएका वौद्धिक व्यक्तित्वहरुको राम्रै संगम रह्यो।

काठमाडौं केन्द्रित कार्यक्रमहरु विस्तारै पोखरा सिफ्ट हुँदै गरेको आभाष भो।

अघिल्ला वर्षमा झै पोखरामा यो वर्ष नेपाल साहित्य महोत्सवको आठौं संस्करण भव्य रह्यो। मंसिर २७ गतेदेखि चार दिनसम्म आयोजना भएको महोत्सवमा नेपाली साहित्य, भाषा, पठनपाठन, राजनीति, पत्रकारिता, कलाको विषयमा छलफलदेखि अन्तरार्ष्ट्रिय लेखक तथा पत्रकारहरुसँग अन्तर्किया भएको थियो। जसका लागि चार दिनमा दश हजार मानिसको सहभागिता रहेको आयोजक बताउँछन्।

'मानिसहरुको उल्लेखनीय सहभागिता हाम्रो कार्यक्रमको सफलता त हो। साथै यसले पर्यटकीय नगरी पोखराको प्रचारका लागि पनि महत्वपूर्ण भूमिका खेलेको विश्वास राखेका छौं', महोत्सवका कार्यकारी निर्देशक निरज भारीले भने।

यस वर्ष नेपाल साहित्य महोत्सवमा रौनक थप्यो दक्षिण एसियाकै प्रतिष्ठित साहित्यिक पुरस्कार 'डिएससी पुरस्कार'ले पनि। पच्चिस हजार डलर नगद राशीसहितको पुरस्कारका लागि प्रतिस्पर्धामा रहेका ६ पुस्तकका लेखक/अनुवादक, पुरस्कार आयोजक साथै अन्तर्राष्ट्रिय जुरीहरुको पनि उपस्थिति थियो।

एससी पुरस्कार घोषणाको नवौं संस्करण सकेर गएपछि आयोजकले साहित्य महोत्सव आयोजकलाई महोत्सव गरिएको स्थान (फेवा तालको किनार) र आतिथ्यको प्रशंसासहित इमेल गरेको बताउँछन् भारी। 

यसरी एकैपटक साहित्य र पर्यटन जोडियो पोखरामा। बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको ओइरो लाग्ने नै भयो।  

काठमाडौं भिजिट २०२० को व्यवस्थापनमा व्यस्त रहँदा पोखरामा प्रिमियर लिग शुरु भयो। देशविदेशका क्रिकेटर पोखरामा पुगे। माहोल जम्यो क्रिकेटको। त्यसो त पिपिएल हेर्न पुगेको समर्थकको संख्या धेरै होइन तर क्रिकेटर पारस खड्काको भनाइलाई लिने हो भने 'पोखरामा क्रिकेट कल्चर धेरै विकास हुने क्रममा छ। अझै धेरै विकास गर्नैपर्छ। यहाँको भौतिक पूर्वाधार विकास गर्ने यो महत्वपूर्ण क्षण हो।' उनले पिपिएलको फाइनलको अघिल्लो दिन भनेका थिए।

सागका क्रममा काठमाडौंमा देखिएको फुटबल क्रेज शहिद स्मारक ए डिभिजन लिगमा रित्ता रित्ता प्यारापिटको अवस्था सँग झन्डै झन्डै क्रिकेट कल्चर विकास भइनसकेको पिपिएलले बराबरी गर्न खोज्नुले पनि पोखरामा खेल पर्यटनको सम्भावना छ है भन्ने देखाउँछ।

पोखरामा साँझपख देखिने माहोल देख्दा एक्कासी ए डिभिजन लिगको याद आयो। रंगशाला बनिएकै छ। लाइट छ। बेलुकी खेल गराए त समर्थक पनि आउँथे कि? आखिर विदेशमा पनि प्राय लिगहरु बेलुकी कै समयमा गर्ने प्रचलन देखिन्छ।

उता पिपिएल सकिँदै गर्दा पोखरामा फेरि माहोल जम्यो साइक्लिङको। साइकल सिटी पोखराले हरेक वर्ष आयोजना गर्दै आएको टूर डि पोखराको पाँचौ संस्करण शुरु भयो।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरपालिकाले सडक विस्तार गर्दा साइकल लेनलाइ विशेष प्राथामिकतामा राखेको दाबी गरिरहँदा टूर डि पोखरा कार्यक्रममा हजारौ युवाहरुले साइकल र्‍यालीमा भाग लिएका थिए।

करिब ३० किलोमिटर लामो रुटमा साइकल र्‍याली साइकल लेन बनाउने भनेर गरिने सैद्दान्तिक भाषण भन्दाचाहीँ व्यवाहारिक देखियो।

काठमाडौं भ्रमण वर्षको रौनक देखाउनै व्यस्त रह्यो।

बीच्चबीचमा उपत्यकामा एकपटक साइकल लेनको पनि चर्चा आएको थियो काठमाडौंमा। ललितपुर महानगरपालिकाले कुपन्डोलदेखिको साइकल लेन बनाउँदा काठमाडौं महानगरपालिकाले माइतिघरबाट साइकल लेन चलाउने विषय चर्चामा चलायो। ललितपुरले केही अगाडि पुगे पनि काठमाडौंको साइकल लेनको कुरा फेरि सेलाएको छ। सँधै जस्तो। फेरि कुन दिन तात्छ, थाहा छैन।  

यसले पर्यटनमा पनि असर पारिरहेको छ कि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell