PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

माइनस २२ डिग्रीको मौसममा चरा खोज्दाको त्यो क्षण...



पहिलोपोस्ट

माइनस २२ डिग्रीको मौसममा चरा खोज्दाको त्यो क्षण...

  • अनुज घिमिरे-

माइनस २२ डिग्री सेल्सियस तापक्रम, फुस्स फुस्स हिउँ परिरहेको। मौसम हेर्दा आनन्दले घरभित्र बसेर तातो चियाको मज्जा लिँदै कुनै चलचित्रमा रमाउन उचित हुने जस्तो देखिन्थ्यो। तर म भने हिउँ र चिसो छिचोल्दै चरा खोज्न हिँडिरहेको थिए। खल्तीमा भएको फोनमा रिङटोन बजेको सुनेर बल्ल तल्ल पन्जा झिकेर फोन उठाए।

'कहा हो?' साथीले सोध्यो।

'ए, म एसो बर्डिङ आएको छु।'

चराचुरुङ्गी हेर्ने कृयाकलापलाई बर्ड वाचिङ वा बर्डिङ भनेर जानिन्छ।

'के भन्छ? एस्तो चिसो मा?'

उसले आश्चर्य मान्नु स्वाभाविक थियो। माइनस २२ डिग्री अनि हिउँ पनि परी रहेको।

'अ! रमाइलो हुँदैछ, १२ वटा जस्तो प्रजाती भेटियो अहिले सम्म।'

'अचम्म छ बा, के मज्जा आउने हो एस्तो चिसो मा त्यो चरा हेरेर? के पाईन्छ त्यो गरेर?'

एकछिन आँफै सोच्न बाध्य भएँ, के पाईन्छ त्यो गरेर?

र भने, 'गर्न त घर बसेर टिभी हेरेर नै पनि पाइने त के नै हो र?'

साधारण रुपमा चरा हेर्नै भनेर डुलेको देख्दा धेरैलाई अचम्म लाग्ला। हुन पनि पनि हो। तर त्यसमा जति मज्जा छ त्यो शायद धेरै कम कुरामा होला। मान्छेहरु चरै हेर्न भनेर विश्वभरीबाट नेपाल आउँछन्।

४ बर्ष अगाडि अन्नपूर्ण आधार शिविरको यात्रामा हिँडेका बेला, एक दम्पती दुर्बिन बोकेर हिँडिरहेको थिए। बुझ्न मन लाग्यो र आफैँले कुराकानी शुरु गरेँ। उनीहरु चरा हेर्दै हिँडेको रहेछन। नेपाल धेरै चोटि चरा हेर्नै भनेर आइसकेका रहेछन्। त्यसै गरी एसियाको विभिन्न देश पनि घुमेका रहेछन्, चरै हेर्न भनेर। म पनि चरामै काम गर्दै छु भन्ने थाहा पाएपछि हाम्रो एकै छिनमा दोस्ती भयो। उनीहरुले देखेको र चिन्न नसकेको चराबारे मलाई सोधे र मैले जाने सम्मको पहिचानमा मद्दत गरेँ।

उनीहरुको रुचि र जोशको प्रशंसक नै भए म। त्यसरी आउनेमा ति एक दम्पती मात्र नभएर धेरै मान्छे छन्। र किन भनेर सोध्दा 'यो कारणले' भन्ने उत्तर त कोहीबाट पनि नआउला।

बर्डिङको मजै अर्कै छ। चाहे त्यो माइनस २२ डिग्रीको ठण्डा मौसममा नै किन नहोस्। अमेरिकाभर क्रिसमसको हप्ता पारेर 'क्रिसमस चरा गणना' गर्दो रहेछन्। स्वयंसेवकको आवश्यकता भएको र म पनि चरामा काम गर्ने भएकोले मलाई नि निम्तो आयो, त्यसमा भाग लिन। शुक्रवार बिहान निम्ता आएको थियो, मैले सङ्कोच नै नमानी हुन्छ भने। शुक्रवार साँझदेखि हिउँ पर्न थालेको थियो। आइतवार भने ठुलै हिँउआधी आउने पूर्वानुमान थियो।

बिहान ७ बजे करिब ५० किमी जति पर मिनेसोटाको एउटा सानो शहरमा भेला हुनु पर्ने थियो।

बिहानै अलार्म राखेर उठेँ। तयार भएर बाहिर निस्किँदा बल्ल थाहा पाए कि सान्तिनो हिउँआँधी त त्यति बेला नै आइरहेको रहेछ। करिब ६-७ इन्च हिउँ पनि परिसकेको रहेछ।

परेन त फर्साद!

आउँछु भनेर भनी सकेँ, अन्तिम समयमा आउँदिन भन्न नि अप्ठ्यारो लाग्यो। र जे हुन्छ हुन्छ भनेर निस्किएँ।

३५ मिनेट जति समयपछि एउटा सानो गाउँको खाल्डोमा गाडी पसेपछि महसुस गरेँ कि शायद नआएकै भए हुने रहेछ।

हिउँ निरन्तर परेकै थियो, हावा पनि राम्रैसँग चलेको।

'भिजिविलिटी' एकदम कम थियो। रोड होला भनेर हिड्दा खाल्डो तिर परिएछ र गाडी फस्यो।

शहर वरीपरी भए पनि ल कसैले आएर धकेल्न सहयोग गर्थ्यो भन्नु। कहाँ अनकन्टारमा ४-५ किमी वरीपरी घर पनि थिएन। आधा घण्टा जस्तो आफैँले गाडी निस्किन्छ कि भनेर प्रयास गरेँ। पांग्रामुनीको हिउँ झिकेर हुन्छ कि एक्सिलेटर मज्जाले दबाएर।

केहि उपाय नलागेपछि, ४ दिशामा अनियमित रूपमा एउटा दिशा तिर हिँडे।

संयोगवश केही दूरीमा नै एउटा घर भेटियो। ठुलो खेतको बीचमा एउटा सानो घर थियो। वरीपरी केही देखेकै थिएन।

गएर ढोका ढक्ढकाएँ। एउटा मान्छे बाहिर निस्के। मेरो गाडी यसरी फस्यो खाल्डोमा, मलाई सहयोग गर्न सक्नु हुन्छ? भनेपछि ति मान्छे बाहिर आए।

बेल्चा छ तिमीसँग भन्दै थिए। मैले छैन, तर बेल्चाले ननिस्केला, राम्रै सँग छिरेको छ खाल्डोमा भनेँ।

त्यसो भए म मेरो ट्रक (जिप) निकाल्छु भनेर उनी भित्र छिरे। केही बेरमा आफ्नो गाडी लिएर बाहिर निस्के।

गाडी झिक्न मद्दत गरेपछि उनले सोधे, 'के गर्न हिँडेको भाई यस्तो मौसममा पनि?'

मैले चरा हेर्न भनेपछि उनले मलाई नियालेर हेरे। शायद उनले सोचे, म जिस्किरहेको थिएँ।

'एस्तो मा चरा भेटिन्छ?' उनले प्रश्न तेर्साए।

'अँ, किन नभेटिनु? झन मेरो मनपर्ने चरा उल्लुहरु भेटिन्छन्। म त्यही आशमा आएको हुँ खासमा।'

'यता उल्लु नि पाईन्छ?' उनले अचम्म मान्दै सोधे।

'मज्जाले!'

केही बेरको कुराकानी पछि म आफ्नो बाटो लागेँ। उनलाई शायद १० चोटि धन्यवाद भनेँ होला मैले। उनको मद्दत अनुसार त अझै धेरै पटक भन्न पर्ने थियो।

गाडी फसेको कुरा इन्स्टाग्राममा हालेपछि धेरै साथीहरुले भने 'यस्तो मौसममा नि कोही चरा हेर्न जान्छ? के पाइन्छ त्यो गरेर?' फेरी त्यही प्रश्न।

के पाइन्छ नै त थाहा छैन।

चरा नै हेर्न भनेर धेरै चोटि धाएको अन्नपूर्ण सर्किट, अन्नपूर्ण बेसक्याम्प। हजारौँ चोटि धाएको गोदावरी र शिवपुरी राष्ट्रिय निकुन्जको याद आउँछ। धेरै जस्तो सधैं देखि रहेकै चरा देखिन्थ्यो ति यात्रामा।

त्यही पनि हरेक जसो शनिवार दुर्बिन बोकेर चरा हेर्न जानुको महत्वै अर्कै थियो।

एकचोटी एक जना साथी इच्छुक भएर हिँडे मसँग। म समय समय मा रोकिन्थे र फोटो खिच्थेँ, साथी चाहिँ मैले खिच्न खोजेको चरा खोज्दै गर्थ्यो र कहाँ छ कहाँ भन्दै गर्दा मैले फोटो लिइ सक्थेँ। अनि चरा पनि आफ्नो बाटो लागि सकेको हुन्थ्यो।

दिक्क हुँदै उ भन्थ्यो, 'हैन म त केही देख्दिनँ त, कसरी देख्छौ तिम्ले चरा?'

म यसरी भन्दै क्यामरामा कैद भएको चराको तस्विर देखाउथेँ र भन्थे, 'चरा हेर्ने आँखाले भन्दा धेरै कानले हो।'

हामी प्रकृतिभित्र रमाउन खोजे जस्तो गर्छौँ तर शायद रमाउन जान्दैनौँ। साँच्चै नै चरा आँखाले भन्दा धेरै कान ले हेर्छु म।

एउटा विशाल जंगलभित्र त्यो केही ग्रामको मात्रा चरा जुन एउटा हाँगाबाट अर्को मा फुर्र फुर्र उड्छ। त्यस्को पछि पछि आँखा दौडाउन गाह्रै हुन्छ।

तर त्यही जंगलमा शान्त भएर सुन्ने हो भने, काठफोरले फोर्दै गरेको काठको 'टक टक टक' पनि धेरै जोरले सुनिन्छ। र त्यसपछि देखिन्छ, त्यो अदृश्य चरा।

त्यस दिनको अन्त्य सम्ममा सँगै गएको साथीले भन्यो, 'कति चोटि आएँ यो ठाउँमा तर यति धेरै चरा देखेको थिइनँ।'

मैले भने, 'तिम्ले हेरेकै थिएनौँ, त्यसैले।'

'अ, शायद! तर रमाइलै हुने रहेछ, देख्न थाले पछि त।'

'फेरी आउछौँ?' मैले जिस्काउँदै सोधेँ।

'त्यो त खै हेरम्, तर जे होस् चरा हेर्न नि मैले सोँचे भन्दा चाहिँ रमाइलो नै हुने रहेछ।'

माइनस २२ डिग्रीको मौसममा चरा हेराइ भने भिन्दै थियो। जाडोले दारी जुङामा हिउँ जमिसकेको थिए। तर पनि सबैमा उत्साह थियो। सबै ऊर्जावान देखिन्थे। र टोलीमा भएका मान्छेहरुको उर्जाले मलाई पनि प्रेरित गरी रहेको थियो।

हुन त बर्डिङ होस् वा हाइकिङ, हिँड्न वा यस्तो हरेक कृयाकलापमा म आफैँ स्वइच्छुक हुन्छु। तर पनि यसमा भने चिसोले नि भूमिका खेल्दै थियो। हिँड्दै गर्दा त तातै हुन्थ्यो तर क्यामरा झिकेर फोटो खिच्न खोज्दा चिसोले हात नै दुख्ने।

दुर्बिनबाट चरा खोज्न थाले हात एकै छिनमा चिसो हुने। जंगलको बीचमा पुगेर मैले पहिले नदेखेको चराको आवाज आएको सुनेँ र त्यसको वर्णन हेर्न भनेर ब्यागबाट किताब झिक्नलाई क्यामरा भुइमा हिउँ माथि छोडेँ।

त्यति बेला याद गरिन छु, तर किताब झिकेर क्यामरा निकाल्दा सम्म क्यामरा र दुर्बिन दुबैमा टन्नै हिउँ जम्मा भइसकेको थियो।

सकेसम्म हिउँ पुछ्ने प्रयास गरेँ। त्यति बेलासम्म नि सोँचेको थिइन कि त्यो जम्न सक्छ भनेर।

केही बेर हिँडे पछि एउटा चरा देखेर फोटो खिच्छु भन्दा लेन्सले फोकस गर्न सकेन। के भयो भनेर हेर्छु त क्यामरा नै जमिसकेछ। ल बर्बाद।

त्यसपछि मेरो फोटो खिच्ने कार्यक्रम भने त्यहीँ टुंगियो।

जबर्जस्ती गर्दा लेन्स बिग्रेला भन्ने डर। तातो ठाउँमा जाउँ भने जंगलको अनकन्टारमा कहाँ जाने? गाडी बाहिरै छोडेर भित्र हिँडिरहेको अवस्था थियो। यस्सै नि हात झिक्न सक्ने अवस्था त थिएन। त्यही पनि केही पहिले नदेखेको चरा देखे मन खिन्न हुने वाला थियो।

त्यस दिनको अन्त्यसम्ममा १६ वटा प्रजातिका चरा देखियो। सोसल मिडियामा त्यसबारे सेयर गर्दा, मान्छेहरु 'हैन त्यस्तो चिसोमा नि चरा पाईन्छ?' भन्दै अचम्म परिरहेका थिए।

'पाए पनि कस्तो जाँगर हो त्यस्तो चिसो मा हिँडेर चरा हेर्ने? हुन्छ चाँही के?' यस्तै प्रश्न सधैँ आइरहन्छ।

म आफैँलाई खै केले तान्छ थाहा भएन। सधैँदेखि त्यही चराहरु भए पनि यताको यो चिसो मा १ फिट हिउँमा खुट्टा गाड्दै चरा खोज्नुको मज्जा नै भिन्दै छ।

सुनसान त्यो जंगलमा विभिन्न प्रजातिका चराका गीतसँगै रमाउनुको आनन्द नै अर्कै छ। अझ आफूले खोजेको चरा पाउने हो भने त त्यो जस्तो सन्तोषजनक क्षण अरु केही पनि हुँदैन।

(घिमिरे पिएचडीका विद्यार्थी हुन्। उनी हाल अमेरिकाको नर्थ डकोटा स्टेट विश्वविद्यालयमा अध्ययनरत छन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell