PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

देउवाप्रति नेता पौडेलको असन्तुष्टि : सभापतिले एकलौटी निर्णय गर्नुभयो, म सहमत छैन



पहिलोपोस्ट

देउवाप्रति नेता पौडेलको असन्तुष्टि : सभापतिले एकलौटी निर्णय गर्नुभयो, म सहमत छैन
फोटो : रासस।

भरतपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन्। आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताएका हुन्।

उनले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुंगो लगाउनुपर्छ। अनिमात्र पार्टी एक हुन्छ।'

उनले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाए। पौडल समूहको बहिष्कारका बीच नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४ औँ महाधिवेशनको मिति तोकेको थियो।

'पार्टीमा केही समस्या छन्', पौडेलले भने, 'समाधानका लागि मैले नौ बुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ, त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो।'

उनले जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने बताए। उनले पार्टीलाई सुदृढ बनाउन नेता कार्यकर्ताले विकल्प खोज्ने पनि बताए।

'म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिसनमा छु', उनले भने, 'विकल्प कार्यकर्ताले खोज्छन्।'

नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको उनले स्वीकार गरे। देशलाई भ्रष्टचारमुक्त र कांग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने नेता पौडेलको धारणा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell