बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन रहेका छन्। नगरपालिका स्थापना भएदेखि नै वडाहरुमा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिइन्।
उनले भनिन्, 'वडाहरुमा सचिव नहुँदा नगरपालिकाले सम्पादन गर्ने काममा बाधा पुगेको छ।'
दशवटै वडामा सचिवको काम प्राविधिक सहायकहरुले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए। वडाका अधिकांश काम नगरपालिकाबाटै हुने भएकाले नागरिकले नगरपालिका धाउनुपर्ने बाध्यता छ।
उनले भने, 'सामाजिक सुरक्षाभत्ता लगायतका कामहरु पनि नगरबाटै सम्पादन गर्ने गरिएको छ।'
वडामा सचिव नहुँदा नागरिकलाई सास्ती हुने गरेको स्थानीयले बताएका छन्। वडामा सचिव नहुँदा नगरपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता भएको स्थानीय रामबहादुर धामीले बताए।
उनले भने, 'गाउँमा सिंहदरबार आए पनि कर्मचारी नहुँदा साबिकका गाविसबाट पाइने सेवा पाउन पनि मुस्किल भएको छ।'
स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष बढी भइसकेको भए पनि अझै कर्मचारीको पदपूर्ति हुन सकेको छैन। कर्मचारीको अभावमा वडा तहबाट पाइने सेवा प्रभावकारी नभएको नागरिकले गुनासो गरेका छन्। कर्मचारी समायोजनपछि जिल्लामा कर्मचारीको अभाव बढी भएको हो।