PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

फ्ल्यास्ब्याक कोलकत्ता : दिदीको शहरमा 'टुँडिखेल' को याद



सहयोग रञ्जित

फ्ल्यास्ब्याक  कोलकत्ता : दिदीको शहरमा 'टुँडिखेल' को याद

'अकुपाई टुँडिखेल' – कुनै बेला एसियाकै विशाल मैदान मानिएको टुँडिखेल जनताका लागि खुल्ला हुनुपर्ने मागसहित करिब दुई महिना यता यो अभियान सञ्चालनमा छ।

रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको विशाल टुँडिखेल अहिले अतिक्रमणमा पर्दै निकै सानो भइसक्यो। रत्नपार्क शंखधर पार्क बन्यो। दुईमाजुमा पसल राखियो। खुल्लामञ्च पार्किङ स्थल बनिसक्यो। बाँकी रहेको टुँडिखेलको आधा भागमात्रै जनताको लागि खुल्ला छ। आधा सेनाको अधीनमा छ। काठमाडौं उपत्यकाका नेवारहरुको कूल देवता रहेको सो मैदानमा अहिले केहीले मात्रै कूल पूजा गर्ने गरेको स्थानीय बताउँछन्।

अभियान संचालन गर्दै आएकाहरुको एउटै माग छ, टुँडिखेललाई खुल्ला गरियोस्। तर खुल्ला मात्रै गरेर के गर्ने, त्यसको व्यवस्थापन र सुरक्षा कसरी गर्ने भन्नेमा मेरो सदा प्रश्न रह्‍यो। एकाध प्रश्न टुँडिखेलमा रहेको नक्कली खरी बोटमुनि उभिएर सोधियो पनि। उत्तर पाइएन।

प्रश्नैप्रश्न चल्दै गर्दा पुगियो दिदीको कोलकत्ता। दिदी अर्थात पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको शहर, कोलकत्ता।     

रक्सौलबाट १८ घण्टाको ट्रेन यात्रा गर्दै कोलकत्ताको हाउरहा जक्सन पुगियो डिसेम्बर १२ मा। रेलवे जक्सनबाट बाहिर निस्किएपछि महात्मा गान्धीको फोटोले भारतमा स्वागत गर्‍यो। त्यसपछि लागियो न्यू मार्केट। आउने पर्यटकलाई अटो र ट्याक्सी चालकले जान सुझाउने ठाउँ। आफ्नो नि व्यापार, पसलेलाई पनि फाइदा।   

निकै सस्तो सामान पाउने बजार रैछ यो मार्केटमा। घर भने प्राय पुराना शैलीमा बनेका। पसलदेखि संघसंस्थाका नाम सबै बाङ्ला (बंगाली) लिपीमा। त्यही लिपिले दोहोर्‍याउँदै लग्यो कोलकत्ताको 'मैदान'।  

दुई खुल्ला चौरलाई छुट्टयाएको छ क्विन्स वे (सडक) ले। एकापट्टी हाम्रो अहिलेको टुँडिखेलजस्तै विशाल भाग 'मैदान'। अर्को पट्टी रहेछ भिक्टोरिया मेमोरियल गार्डेन।

मैदानमा सेनाहरु हेलिकप्टरबाट सैन्य अभ्यास गरिरहेका देखिए। सँगै सर्वसाधरणहरु घोडा चढेर मैदान घुम्दै। एक हुल सैन्य प्रशिक्षण हेर्दैमा मस्त। हाम्रोमा जनतालाई रोकेर, फालमे रेलिङ हुँदाहुँदै देखिएलाकी भनेर त्यसमाथि सायरले छोपेर गरिने 'राष्ट्रिय कार्यक्रम' भन्दा पृथक थियो दृश्य।

कोलकत्तामा हावा खान आउने ठाउँ रहेछ यो मैदान। हावासँगै पारिवारिक जमघट हुने ठाउँ पनि।

***

कोलकत्ता मैदानमै बेलायती महारानी भिक्टोरियाको मृत्यु पछि उनको सम्झनामा सन् १९२१ मा बनाइएको रहेछ भिक्टोरिया मेमोरियल। अहिले त्यसलाई संग्रहालयमा रुपान्तरण गरिएको छ। २८ हजार ३ सय ९४ एतिहासिक वस्तुहरु राखिएका छन् त्यहाँ। ३ हजार ९ सय त पेन्टिङमात्रै छन्। महलको बीचमा रहेको रानी भिक्टोरियाको मूर्तिसँग सेल्फी लिनेको उत्तिकै भीड। वार्षिक २० लाख मानिस पुग्दा रहेछन यहाँ।

संग्रहालय घुम्ने भनेपछि हामी अघि सर्दैनौं। नारायण हिटी संग्रहालयमा रुपान्तरण हुँदा लाइन बसेर 'राजाको घर' हेर्न जानेको घुइचो देखिएको थियो। भित्र भने खासै केही छैन जस्तो लाग्यो- दुई पटक पुग्दा। संग्राहलयमा राखिएका वस्तुको 'प्रिजेन्टेसन' र त्यसबारे बुझाउने सामाग्रीको अभाव हाम्रा संग्राहलयमा छ।

भिक्टोरिया प्यालेसकै बाटोमा रहेको इन्डियन म्युजियम घुमिएन। नत्र संग्राहलयबारे थप व्याख्या गर्न पाइन्थ्यो।

कोलकत्तामा रहेको मैदान पनि कुनै बेला विशाल थियो। अहिले त्यहाँ मैदानका नाममा खुल्ला चौर छ। जनतालाई निर्वाध रुपमा प्रवेश गर्न अधिकार छ। भिक्टोरिया मेमोरियलमा टिकट काटेर जान पाइन्छ। सेनाकै सुरक्षामा त्यहाँ काम भइरहेको छ। केही पर इडेन गार्डेन छ। मैदानमा नै क्रिकेट रंगशाला बनेको रहेछ। अझै मैदान मेट्रोले त्यस क्षेत्रमा आउजाउ गर्न सजिलो भएको छ।

५७ एकर जमिनमा फैलिएको भिक्टोरिया मेमोरियलमा २१ वटा त बगैंचा मात्रै छन्। ठाउँठाउँमा पोखरी पनि।  मध्ये शहरको बीचमा संग्रहालयसँगै खुल्लास्थान। जनतालाई 'पिकनिक' मनाउन आउने ठाउँका रुपमा यस स्थानलाई विकास गरिएको रहेछ। वार्षिक १३ लाख मानिस बगैंचा घुम्न आउछन् परिवारसहित – ड्राइ पिकनिकका लागि। हामी पुग्दा छुट्टीको दिन थिएन। तर पनि बगैंचामा पिकनिक मनाउन आउनेको कमी पनि थिएन। 

***

भिक्टोरियाल मोमोरियल घुम्दै गर्दा हाम्रो जंगी अड्डा सम्झिए। सानो टुँडिखेल भनिन्थ्यो अहिले जंगी अड्डा र दशरथ रंगशाला भएको स्थानलाई। त्यसबेला भकुन्डो लिएर ठूलो र सानो टुँडिखेल कहाँ खेल्ने भनेर साथीभाइबीच प्रतिस्पर्धा चल्ने गरेको स्थानीय बताउँछन्। अहिले सबै फोनमै मस्त।  

अहिले अभियान चलाइरहेकाहरुले अहिले सानो टुँडिखेल रहेको स्थानबाट सेना हट्नु पर्ने र त्यसलाई खुल्ला बनाउनु पर्ने माग सारिरहेका छन्। सरकार र सेनासँग सहकार्य बिना यो सम्भव नहोला।

अहिले बनेका भौतिक संरचना हटाउन पनि त्यति सहज नहोला। तर ६० लाख मानिसका लागि खुल्ला ठाउँ त चाहियो नै।

यसको व्यवस्थापन कसरी गर्ने? प्रश्न न सेनाले दिन सकेको छ। न सरकारले। अभियन्ता आफ्नो माग अडिग छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell