PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

बाबुको इन्डियन आर्मीको चाहना, सुनिलको संगीतमा लगाव : भन्छन्, 'म पहिलो गीतबाटै हिट भएको भाग्यमानी गायक'



मन्दिरा खत्री

बाबुको इन्डियन आर्मीको चाहना, सुनिलको संगीतमा लगाव : भन्छन्, 'म पहिलो गीतबाटै हिट भएको भाग्यमानी गायक'

'को होला त्यो मसँग आँखा जुधाउने

नचिनेनी मसँग अलि लजाउने

डाँडापारिको गाउँमा, गोधूली त्यो साँझैमा।'

६ वर्षअघि सांगीतिक करियर सुरु गरेका गायक सुनिल गिरी ‘को होला त्यो बोलको लोकपप शैलीको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा उदाए। पहिलो गीत नै हिट भएपछि छोटो समयमा नै उनी सफल गायकको रूपमा स्थापित भए।

सायदै उनले सोचेका थिए, पहिलो गीत नै यति हिट हुन्छ भनेर। त्यसयता हुने गरेका हरेक स्टेज कार्यक्रममा गिरीको 'को होला त्यो'को डिमान्ड हुने गर्दछ।

प्रायजसो लोकपप शैलीका गीत गाउँदै आएका उनले योपटक भने फरक किसिमका गीत दर्शकमाझ ल्याएका छन्। उनले करिब एक महिनाअघिमात्र 'जाम क्यारे माया' बोलको कौडा गीत सार्वजनिक गरेका थिए। जाम क्यारे माया सुनेर दर्शकले राम्रो प्रतिक्रिया दिइरहेको उनले बताए।

उनले भने 'अहिले यही गीतको प्रमोसन र नयाँ गीतको तयारीमा जुटेको छु। साथै मेला महोत्सवको पनि समय आइरहेको छ।’ उक्त गीतमा सुनिलसँगै गायिका मेलिना राईको स्वर रहेको छ।

‘सधैँ पप गीत गाइरहने मानिस म, योपटक भने फरक किसिमको गीत गाउने प्रयत्न गरेको छु। मेरो जन्मथलो तनहुँ हो र कौडा गीत पनि तनहुँको नै भएको हुनाले योपटक कौडा गाउने प्रयत्न गरेको छु। मेलिना कौडा नसुन्ने मान्छे कस्तो गाउनु हुन्छ भन्ने रिस्क पनि थियो। उहाँले एकदम राम्रो गाउनुभयो।'

तनहुँमै जन्मे हुर्केका उनी सानो छँदा नारायण गोपाल, सुगम पोखरेल, भक्तराज आचार्य, नेपथ्य लगायतको गीत बढी सुन्थे। ‘तनहुँका बासिन्दाले लोकपप शैलीका गीतहरू बढी सुन्ने भए पनि म चाहिँ कन्दरा ब्याण्ड र नेपथ्यको गीत धेरै सुन्थेँ', उनले भने ‘सँगसँगै नारायण गोपालका गीत पनि सबै सुन्थेँ।’

उनी नेपाल टेलिभिजन, रेडियो नेपाल र पोखरा छेउछाउका स्थानीय एफएमहरुमा बज्ने गीत सुन्दै हुर्किए। गिरी सुनाउँछन् ‘सानोदेखि नै गायक बन्ने चाहना थियो। घरमा सांगीतिक माहोल थिएन। घरमा कोही पनि संगीत क्षेत्रमा नलागेको हुनाले बजारबाट ठूला–ठूला क्यासेटहरु ल्याएर गीत सुन्ने गर्थेँ।’

संगीतमा अधिक रुचि भएकै कारण उनी २०६२ सालमा एसएलसी दिएपछि उच्च शिक्षासँगै संगीत सिक्न काठमाडौँ आए। काठमाडौँ आएलगत्तै उनले तीन वर्ष सारेगम कला केन्द्रमा गुरु अशोक पौडेलसँग म्युजिक सिके। उनले गान्धर्व संगीत विद्यालयमा ६ वर्ष संगीत सिके। ६ वर्ष संगीत सिकेर उनले २०७० सालमा आफ्नै शब्द र संगीतमा पहिलो गीत 'को होला त्यो' सार्वजनिक गरे।

'को होला त्यो'लाई नै आफ्नो करियरको टर्निङ पोइन्ट मान्छन् उनी। भन्छन् ‘पहिलो गीतलाई नै दर्शकले यति धेरै मन पराइदिनुभयो कि गायकको रूपमा चिनाउन मलाई अर्को गीत गाइरहनु परेन्। यस हिसाबमा म आफूलाई लक्की नै मान्छु। सांगीतिक क्षेत्रमा एउटा सफल गायकको रूपमा स्थापित हुन निकै गाह्रो छ।'

पछिल्लो समय उनले गायनसँगै आफ्ना गीतहरू आफैँले मोडलिङ समेत सुरु गरेका छन्।

'आफ्नो गीतमा आफू पनि फिट हुन सक्छु जस्तो लाग्यो। गीत लेख्दा त्यसका पात्रहरुमा पनि आफूलाई कल्पना गरेकै हुन्छु' उनले भने, 'त्यसैले मोडलिङ गर्न सक्छु जस्तो लागेको होला।'

उनले 'झरी परेछ' बोलको गीतबाट पहिलोपटक मोडलिङ गरेका थिए। साथै उनी मोडलिङसँगै आफ्नो गीतमा आफैँ शब्द र संगीत भर्छन्। उनले हालसम्म २६ वटाभन्दा बढी गीत गाइसकेका छन्।

सुनिलको बुबाको चाहना भने उनलाई इन्डियन आर्मी बनाउनु थियो। आफू पनि इन्डियन आर्मी भएकै कारण उनको बुवा उनलाई आर्मीमा भर्ती भएको हेर्न चाहन्थे।

'मेरो बुबा र काकाहरू पनि इन्डियन आर्मीमा भर्ती हुनुहुन्थ्यो त्यसैले म पनि आर्मीमा भर्ती भएको देख्ने चाहना उहाँहरूको थियो। तर मलाई भने संगीतमै रुचि भएकोले संगीत सिकेर म यही क्षेत्रमा लागेँ। परिवारको साथ र सहयोगका कारण नै सांगीतिक क्षेत्रमा अघि बढ्न सहज भयो।'

सामाजिक सञ्जालमा महिला फ्यानहरूबाट प्रेम प्रस्ताव धेरै नै आउने उनी सुनाउँछन्। ‘महिला फ्यानहरूबाट प्रेम प्रस्ताव नआएको होइन तर बीचबीचमा म उहाँहरूलाई सम्झाउँथेँ। म सामाजिक सञ्जालमा त्यति धरै सक्रिय छैन। आफैँ बुझिहाल्नु हुन्छ एक दुईचोटी राम्रो रेस्पोन्स गरेपछि। प्रेम प्रस्तावसँगै गीतहरू राम्रो छ भनेर खालका कमेन्टहरू पनि धेरै नै आउँछन्।’

त्यसो त गिरी माया प्रेमकै गीतहरू बढी लेख्छन्। भन्छन् ‘टिनएजरहरुलाई कसरी क्याची बनाउने उनीहरूको रुचि अनुसारका गीतहरू पनि गाउनै पर्‍यो। राष्ट्रप्रेम नभएको पनि होइन। राष्ट्रप्रेमका गीतहरू गरेको पनि हो। तर दर्शकहरूले सुनिदिने भनेको माया प्रेमका गीतहरू नै रहेछन् र आफूलाई व्यक्त गर्न पनि सजिलो हुने त्यसमाथि शब्द लेख्न पनि मज्जा आउने त्यो हिसाबले चाहिँ म प्रेमिल गीतहरू बढी लेख्छु।’

आफ्नो सांगीतिक करियरदेखि निकै सन्तुष्ट छन् उनी। 'आफूले माया गरेको पेसा, आफैँले रोजेको पेसामा दर्शक श्रोताको पनि माया पाइरहेको छु', उनले भने 'मेरो परिवार पनि मेरो पेसाबाट सन्तुष्ट नै छ।'

भविष्यमा पनि संगीतलाई नै निरन्तरता दिने उनले बताए। 'यहाँ राम्रो गर्नेको भविष्य उज्ज्वल नै छ। संगीत उद्योग त्यति ठूलो नभए पनि राम्रा गीत संगीतलाई प्राथमिकता दिने गरिएको छ।'

सङ्गीतमा मात्र लागेर जीविकोपार्जन गर्न निकै मुस्किल हुने उनको भनाई छ।

भन्छन् 'गीत संगीतलाई नै व्यवसाय बनाउनेहरुलाई यो क्षेत्र फापेको पनि छ। तर एक दुईवटा गीत गाएर बीचमा हराउनेलाई भने जीवन गुजारा गर्न मुस्किल हुन्छ। आत्मविश्वाससँगै आफूमा भएको क्षमता अघि बढाएर लग्यो भने खासै गाह्रो हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell