पोखरा : २०४१ सालमा पोखरामै पहिलोपटक मेला आयोजना गर्दा तत्कालिन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष हेमबहादुर प्रधानलाई लागेको थियो मेलालाई सफल बनाउन सकियो भने आयातलाई प्रतिस्थापन गर्न सकिन्छ। समयसँगै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष परिवर्तन भए। अध्यक्ष परिवर्तनसँगै मेला आयोजना गर्नुको उद्देश्य नै परिवर्तन भएको दाबी गर्छन् प्रधान।
त्यो बेलाको 'पोखरा औद्योगिक मेला'- तत्कालिन अवस्थामा शिवशंकर बिस्कुट उद्योगका संचालक हेमबहादुर प्रधान, जयमा लक्ष्मी कन्फेक्सनरीका संचालक गणेशबहादुर श्रेष्ठ र गण्डकी नुडल्सका सुर्यबहादुर केसीको विशेष पहलमा पहिलो मेला सम्पन्न भएको थियो। पोखरामा त्यस समय मुस्किलले ४० वटा जतिमात्रै उद्योग थिए। तिनै उद्योगलाई प्रवर्द्धन गर्न सके आयात प्रतिस्थापन हुने र रोजगारी बढ्ने निश्कर्षसहित पहिलो मेला आयोजना गरिएको बताउँछन् तत्कालिन अध्यक्ष प्रधान।
अहिले भइरहेको मेला संस्थाको मर्म अनुसार नभएको उनको तर्क छ। प्रधान भन्छन्- 'परिमार्जनहरु आवश्यक छन्।' मेला आयोजना गर्नुको उद्देश्य ३० लाख कमाउनुमात्र हुन नहुने उनको तर्क छ।
हाल हुने 'समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला' व्यवसाय केन्द्रित भएको भन्दै पूर्व अध्यक्षहरु उपस्थित हुँदैनन्। उनीहरु भन्छन्, 'रमझम र नाचगान हेर्न मेलामा जानु पर्दैन।'
तर, वर्तमान अध्यक्ष दामु अधिकारी भने उद्योग र उद्योगी बढेपछि मेला केही फरक देखिएको तर्क राख्छन्। उनले पहिलोपोस्टसँगको कुराकानीमा भने,'पहिला उद्योग सीमित थिए। मेलामा सहभागिता कम हुन्थ्यो। अहिले यातायातको सहज पहुँचले गर्दा मेलामा देशै भरका उद्योगी जोडिन्छन्। उनीहरुको चाहनालाई ध्यान दिँदा मेला केहि फरक जस्तो भएको छ। तर पनि हामीले अग्रजको इच्छा विपरित नजाने प्रयास गरेका छौं।'
त्यस्तै वर्तमान महासचिव अर्जुन पोख्रेलले उक्त मेला संघका सदस्य वा उद्योगीभन्दा बढी उपभोक्ता केन्द्रित भएको बताए। उपभोक्ताका लागि आयोजना गरिएकाले उनीहरुको आकर्षणलाई ध्यानमा राख्दै केही मनोरञ्जनात्मक कार्यक्रम समावेश गरेको बताए। भने,'अग्रजको मर्म विपरित देखिएको होला तर पनि समय सापेक्ष परिवर्तन आवश्यक छ। नत्र चल्न गाह्रो हुन्छ।'
पोखरामा हरेक वर्ष प्राय टोल, वडा र गाउँमा चार सयभन्दा बढी व्यापार मेला आयोजना हुने गरेका छन्। सबै मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन र व्यापारलाई प्राथमिकता दिने दाबी गर्छन् आयोजक।
'त्यसो भए पोखरा उद्योग वाणिज्य संघको मेला किन आवश्यक छ त?',पूर्व अध्यक्ष प्रधान प्रतिप्रश्न गर्छन्। उनी भन्छन्,'टोलले, क्लबले गर्ने मेला र हामीले गर्ने मेलामा कुनै अन्तर हुँदैन भने संघको मेलाको औचित्य देख्दिन।'
पोखरामा गण्डकी प्रदेशकै सबैभन्दा ठुलो मेला 'पोखरा औद्योगिक व्यापार मेला' जारी छ। योपटक मेलासँगै भिजिट नेपाल २०२० पनि शुरु भयो। वर्तमान अध्यक्ष दामु अधिकारीका अनुसार गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयसँग समन्वय गरी भ्रमण वर्ष लक्षित काम संघले गरिरहेको छ। महोत्सव स्थलमा प्रमुख पर्यटकीय गन्तव्यहरुको जानकारी दिने, प्रवर्द्धनात्मक कार्यक्रम, होमस्टेको स्टल, प्याराग्लाइडिङसहित साहसिक खेलकुदको स्टल राखिएको छ। सँगै ती पर्यटकीय स्थल र साहसिक खेलहरु बारे भिडियो क्लिप्ससमेत प्रदर्शनमा राखिएको छ।
पोखरा हाल एक व्यवसायिक हब बनेको छ। पर्यटकीय शहर हुनुले त्यहाँको उद्योग तथा व्यवसायमा थप टेवा पुगेको छ। पोखरामा व्यवसायकै लागि भनेर राणाहरुले पोखरामा भक्तपूरका नेवार समुदाय ल्याएको कथन छ। त्यसपछि पोखरामा आधिकारीक रुपमा व्यापारको शुरुवात भएको बताइन्छ। त्यसैले पोखरा उद्योग वाणिज्य संघमा अहिले सम्म नेवारी समुदायकै वर्चस्व रहेको छ।
पूर्व अध्यक्ष प्रधानका अनुसार व्यवसायको सुरुवात सँगसँगै व्यापारका लागि बाहिरबाट आयात हुने सामानलाई व्यापारीहरुको केन्द्रसम्म पुर्याउन समस्या देखियो। जसले गर्दा २०११ सालमा पोखराका व्यापारीहरुले विमानस्थलमा जहाजबाट झारिएको सामानहरुलाई व्यापारीहरुको गोदामसम्म पुर्याउनका लागि एकजना कर्मचारीको खटाए। ती कर्मचारीलाई दिने तलवको जोहो गर्न संगठित हुनुपर्ने आवश्यकता देखे र पोखरा उद्योग वाणिज्य संघको स्थापना गरे।
आफ्ना सामान विमानस्थलवाट गोदामसम्म पुर्याउने एजेण्डा प्रमुख भएको थियो। तर, २०२५ सालको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदको प्रत्यासी सुरेशकुमार राजभण्डारीले विमानस्थलमा झरेको सामानलाई त्यहीँको गोदामको व्यवस्थापन गर्ने र गोरुगाडामा व्यापारीको घरसम्म सामान पुर्याउने एजेण्डा अघि सारेका थिए। पछि उनले चुनाव जिते र सोही अनुरुप काम गरेको अनुभव सुनाउँछन् उनी।
'हामीले निजी स्वार्थ र पहुँचका लागि कहिले पनि काम गरेनौं। सामुहिक हितका लागि सोच्यौं', उनले भने।
हाल प्रधानसँगै पूर्व अध्यक्षहरुको एउटै गुनासो- संघका पछिल्ला अध्यक्षहरुले सामुहिक हितका लागि काम गर्न सकेनन्। उनिहरु व्यक्तिगत सम्बन्ध बिस्तार र फाइदाका लागि लागि परे।