PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

निजगढ-भरतपुर रेलमार्ग निर्माणका लागि भयो डिपिआर सम्झौता



रासस

निजगढ : मेची-महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ-हेटौँडा-भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन-बार्सिल-सिआरइइसी-एफबिसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो।

पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। उनले डिपिआर शुरु गर्नुपूर्व परामर्शदातालाई एक महिनाको मोबिलाइजेसनको समय दिइएको बताए।

परामर्शदाताले २०७७ वैशाखसम्ममा डिपिआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्ने सहमति भएको छ। परामर्शदाताले डिपिआरका लागि विदेशी साझेदारका लागि १२ लाख ८५ हजार ४०० अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड नौ लाख ८० हजार ६५२ रुपैयाँ प्रस्ताव गरेका थिए।

विभागले २०७६ असोज ६ गते निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा रेलमार्गको पुनः डिपिआर तयार गर्न विश्वव्यापी आशय माग गरेको थियो। मेची-महाकाली रेलमार्गअन्तर्गतको निजगढ-हेटौँडा-भरतपुर खण्डको डिपिआर निर्माण गर्न १३ परामर्शदाताले आवेदन हालेका थिए।

विभागको मूल्यांकन समितिले कार्यक्षमताका आधारमा ६ परामर्शदाताको प्रारम्भिक सूची तयार गरेको थियो। विसं २०७५ पुस १८ गते सूचीकृत भएका परामर्शदातासँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको थियो। यी परामर्शदाताको प्राविधिक र आर्थिक प्रस्ताव २०७६ वैशाख १३ गते खोलिएको थियो। परामर्शदाताको प्राविधिक तथा आर्थिक प्रस्ताव खोलिएको ९ महिनापछि डिपिआरका लागि सम्झौता भएको छ।

रेल विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहे पनि कुनै पनि आयोजनाका लागि ठेक्का लगाउन र सम्झौता गर्न मन्त्रालयको सहमति आवश्यकता नपर्ने विभागले जनाएको छ। सार्वजनिक खरीद नियमावली (नवौँ संशोधन) २०७६ अनुसार विश्वव्यापी बोलपत्र निकालिएको १२० दिन अर्थात् चार महिनाभित्रमा ठेक्का सम्झौता हुनु पर्ने छ। तर १५ महिनापछि मात्र सम्झौता गरिएको विभागले जनाएको छ।

विभागको प्रारम्भिक सूचीमा परेका परामर्शदातामध्ये युसिन–बार्सिल–सिआरइइसी–एफबिसी जेभी प्राविधिक तथा आर्थिक क्षमताका आधारमा निजगढ-हेटौँडा-भरतपुर खण्ड रेलमार्ग निर्माणको डिपिआरका लागि योग्य देखिएको हो। उसले प्राविधिक क्षमतामार्फत ९२.५७ प्रतिशत अंक प्राप्त गरेको विभागले जनाएको छ।

डिपिआर तयार गर्न विदेशी साझेदारका लागि १२ लाख ८५ हजार ४०० अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड नौ लाख ८० हजार ६५२ प्रस्ताव गरिएको थियो। निजगढ-हेटौँडा-भरतपुर खण्डको रेलमार्ग डिपिआर अगाडि बढाइने विभागले जनाएको छ। 

सियुआन-इआरएमसी जेभीले प्राविधिक क्षमताका आधारमा ८९.२ प्रतिशत अंक प्राप्त गरेको थियो। उसले डिपिआर निर्माणका लागि विदेशी साझेदारका लागि १२ लाख २१ हजार २५० अमेरिकी डलर र नेपाली साझेदारका लागि १७ करोड चार लाख २८ हजार ३०० रुपैयाँ प्रस्ताव गरेको थियो।

आइसिटी-युकसेल जेभीले प्राविधिक क्षमताका आधारमा ८६.४९ प्रतिशत अंक प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि २८ लाख ८५ हजार ६० अमेरिकी डलर र नेपाली साझेदारका लागि १७ करोड आठ लाख पाँच हजार ११० रुपैयाँ प्रस्ताव गरेको थियो। राइट्स-बिडिए जेभीले प्राविधिक क्षमताका आधारमा ८४.३३ प्रतिशत अंक प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि ११ लाख १४ हजार ८०० अमेरिकी डलर र नेपाली साझेदारका लागि १४ करोड ३३ लाख ९९ हजार ७०० रुपैयाँ प्रस्ताव गरेको  विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell