काठमाडौं: बिहीवार गल्फुटारस्थित कृषि विकास बैंकको शाखामा एक व्यक्ति ९ लाखको चेक लिएर पुगे। बैंकका कर्मचारीले चेक नम्बर सिस्टममा हालेपछि उक्त चेक दीपक नेपाल नामक एकाउन्ट धनीको भएको पत्तो पाउन समय लागेन।
त्यसपछि उक्त अकाउन्टबाट कारोबार हुन लागेको खबर बैंकबाट तत्काल प्रहरी समक्ष पुग्यो। खबर पुगेको केही समयमै प्रहरी महाशाखाको टोली गल्फुटारस्थित बैंकमा पुग्यो र चेक लिएर गएका व्यक्तिलाई नियन्त्रणमा लियो। तर पक्राउ पर्ने व्यक्ति एकाउन्ट धनी दीपक नेपाल भने थिएनन्। जसको खोजीमा प्रहरी खटिएको तीन महिना भइसकेको थियो।
दीपक नभेटिए पनि उनी कहाँ छन् भन्ने दरिलो खुराक भने पक्कै मिल्यो। प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिले दिएको सूचनालाई आधार बनाएर खोजी कार्य तीव्र बनायो। अन्तत: दीपक मोरङबाट पक्राउ परे।
को हुन् दीपक नेपाल?
मोरङ रंगेली नगरपालिका - २ का हुन् दीपक नेपाल। ४३ वर्षीय उनले केही समय होस्टल संचालन गरेका थिए। त्यसपछि उनले जग्गाको कारोबारसमेत गरे। पछिल्लो समय भने एक इन्सुरेन्स कम्पनीको एजेन्टका रुपमा काम गरिरहेका थिए।
तर उनी इन्सुरेन्स कम्पनीसँगै बैंक लुट्न सक्रिय नाइजेरियन मुलका 'काले' भनिने पिटर हर्मनको समेत एजेन्ट भएको प्रहरी अनुसन्धानले देखायो।
गत असोज ५ गते कृषि विकास बैंकका कर्मचारीको युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेको घटना सार्वजनिक भयो। सोही घटनामा संलग्न थिए दीपक पनि।
प्रहरीले अनुसन्धान गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी छ। जसमध्ये १९ औं नम्बरमा पक्राउ परे दीपक।
उनको खातामा बैंकबाट लुटिएको रकममध्ये सर्वाधिक बढी- एक करोड रुपैयाँ थियो। प्रहरीले उक्त जानकारी असोजको पहिलो साता पाइसकेको थियो। तर उनी फरार थिए।
एकाउन्टमा भएको एक करोड रुपैयाँ झिक्न दीपक पक्कै आउँछन् भन्नमा ढुक्क थियो प्रहरी। तर घटना सार्वजनिक भएको तीन महिनासम्म पनि उनी आएनन्। प्रहरीले उनलाई नियन्त्रणमा लिनका लागि कृषि बैंकको सबै शाखामा जानकारी गराइसकेको थियो। महाशाखाका एसएसपी सहकुल थापाले भने,'हामीले बैंकलाई उनको खातामा रकम कारोबार हुने बित्तिकै खबर गर्न भनेका थियौं।'
गत बिहीवार प्रहरीको निर्देशन अनुसार बैंकबाट फोन गयो। बैंकमा दीपकले काटेको चेक साट्न पुगेका व्यक्तिले नै उनीबारे जानकारी दिए र त्यही सूचनालाई आधार बनाएर प्रहरीले नेपालको खोजी गर्यो। र, शुक्रबार भने महानगरीय अपराध महाशाखाको टोलीले उनलाई मोरङबाट पक्राउ गर्न सफल भयो।
'घटना सेलायो भन्ने सोचेर चेकमार्फत रकम निकाल्न खोजेको देखियो। उसले ९ लाखका ३/४ वटा चेक काटेको थियो र पटकपटक पैसा निकाल्ने कोशिश गरेको पनि देखियो', एसएसपी थापाले भने।
यसबीचमा उनले केहीपटक मुख्य योजनाकार भनिएका पिटरसँगसमेत सम्पर्क गरेको खुलेको प्रहरीको दाबी छ। नाइजेरियन मुलका भनिएका पिटर मुख्य योजनामा नेपालमा ह्याकिङ देखि अनलाइन ठगी हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।