PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ मा नेकपा र कांग्रेसले गरे उम्मेद्वारी दर्ता



अनन्तराज न्यौपाने

राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ मा नेकपा र कांग्रेसले गरे उम्मेद्वारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी नेपाली कांग्रेसले आइतवार उम्मेद्वारी दर्ता गरेका छन्।

नेकपा र कांग्रेसका ३–३ जनाले प्रदेशको राजधानी विराटनगरस्थित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराएका हुन्।

नेकपाका तर्फबाट दलित कोटामा गोपी अछामी, खुलामा देवेन्द्र दाहाल र महिलातर्फ इन्दु गौतमले मनोनयन दर्ता गरे।

त्यस्तै कांग्रेसबाट खुलामा राजेन्द्र घिमिरे, महिला कोटामा मीना पुलामी र दलित कोटामा नीरबहादुर विश्वकर्माले उम्मेद्वारी दिएका छन्।

प्रदेश नम्बर १ का लागि आगामी माघ ९ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने निर्वाचनमा सत्तारूढ नेकपाका तीनै जना उम्मेद्वारले विजय हासिल गर्ने पक्का छ।

प्रदेशको कुलमत भार ९ हजार ३ सय ९६ मा नेकपाको मात्र ६ हजार २ सय ५८ छ। नेकपाका तर्फबाट स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ६९ जना छन्। एक जनाको मतभार १८ निर्धारण गरिएको छ। यसरी स्थानीय तहबाट मात्र नेकपाले ३ हजार ४२ मत प्राप्त गर्ने छ।

त्यस्तै प्रदेश सभाका ९३ सदस्यमध्ये नेकपा समर्थित ६७ जना छन्। एक प्रदेश सांसद बराबर ४८ मतभार कायम गरिएको छ। यस हिसाबले प्रदेश सभाबाट नेकपाले ३ हजार २ सय १६ मत प्राप्त गर्नेछ।

त्यस्तै स्थानीय तहमा नेकाका प्रमुख र उपप्रमुख गरी ६८ जना छन्। उनीहरूको मतभार १ हजार २ सय २४ हुनेछ। त्यस्तै प्रदेश सभामा नेकाका २१ सांसद् छन्। उनीहरूको मतभार १ हजार ८ हुनेछ। यसरी नेकाको कुल मत संख्या २ हजार २ सय ३२ हुने देखिन्छ।

कांग्रेसका उम्मेद्वारलाई अन्य दलका मतदाताले समर्थन गरे पनि निर्वाचनको परिणाम हात लाग्ने देखिन्न। किनकि अन्य दलको कुल मतभार ९ सय ६ मात्र छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell