PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

फुटबलमा पुलिसको खस्कँदो प्रदर्शन : कुनै समय उपाधि विजेता, अहिलेको लक्ष्य टप ६ को



मुकुन्द घिमिरे

फुटबलमा पुलिसको खस्कँदो प्रदर्शन : कुनै समय उपाधि विजेता, अहिलेको लक्ष्य टप ६ को
फोटोहरु : एन्फा।

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा चौथो चरण सकिएर पाँचौं चरणमा प्रवेश गरेको छ। लिगको लिडमा मनाङ मर्स्याङदी र मछिन्द्र छन्। कुनैबेला लगातार लिग उपाधि जित्ने र सधै उपाधि दाबेदार मानिने विभागीय नेपाल पुलिस लिग तालिकामा माथि आउन संघर्ष गरिरहेको छ।

विभागीय टिममध्ये त्रिभुवन आर्मी सबैभन्दा माथि ९ अंकसहित तेस्रो स्थानमा छ भने पुलिस ७ अंकसहित पाँचौं र एपिएफ ४ अंकसहित १० औं स्थानमा छ।

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा यसपटकको लिगमा  शीर्ष ६ भित्र पर्ने लक्ष्य आफूहरुले लिएको बताउँछन्।   

'लिगका पछिल्ला खेलहरुमा हात परेका जितले प्रेरणा मिलेको छ। हाम्रो अहिलेको लक्ष्य टप ६ मा पुग्ने हो। हामी त्यही अनुसारले अघि बढेका छौं,' प्रशिक्षक थापाले भने, 'यसपटक हाम्रो सिनियर र जुनियर मिक्स टिम हो। हामीसँग वर्ल्डकप क्वालिफाइ खेलेका अनुभवी खेलाडी पनि छन् र डेभ्यु गरेका खेलाडी पनि।'

आफ्नो टिमले अझै मेहनत गर्नुपर्ने देख्छन् उनी।

पछिल्लो समय पुलिसभन्दा पनि अरु टिममा चासो बढाएको देखिन्छ खेलाडीले पनि। नेपाल पुलिसका सिनियर खेलाडी भोला सिलवालको भनाइ पनि यस्तै छ। लिग जित्ने इच्छा र दवाब दुवै भए पनि प्रतिस्पर्धा कठिन हुँदै गएको उनको ठम्याइ छ।

'अब अहिले हाम्रो चाहना त लिग जित्ने नै छ। हामी टप सिक्समै छौं। लिग जित्ने दबाव पनि छ,' सिलवालले भने, 'शीर्षस्थानमा रहेका टिमहरुको अंक पनि हाम्रोभन्दा धेरैमाथि नरहेकाले हामी अझै म्याच जित्ने हो भने सक्छौं। सकिएन भने शीर्ष ६ भित्र पर्ने छौं। तर पछिल्ला रिजल्टले सकारात्मक सन्देश दिइरहेको छ।'

पहिलेको लिग र अहिलेको लिग

नेपाल पुलिसले लिग जित्दाको समयमा र अहिले खेलमा धेरै फरक आएको अनुभव गरेको बताउँछन पुलिसका प्रशिक्षक अनन्त थापा।  

'हामी २०६३, ६५, ६६ को समयमा लिग च्याम्पियन हुन्थ्यौं। त्यतिबेला तुलनात्मक रुपमा सेलरी पनि धेरै थियो। तर अहिले फुटबलको कथा फरक छ। हामीसँग खेलाडी सीमित छन्' थापाले भने, 'अहिले पुस्तामा इन्टरनेटमा सबै आइडिया पाइन्छ। फुटबलमा पनि धेरै व्यवसायीकरण भइसकेको छ। हरेक क्लबले लिगलाई सिरियसली लिएको छ।'

पछिल्लो समय विभागीयभन्दा व्यवसायिक क्लब सशक्त हुँदै आएको थापाको बुझाइछ। कसरी त?

नोस्टाल्जिक हुँदै उनले भने, 'हामीले खेल्दा मनाङ र थ्री स्टारले मात्र विदशी खेलाडी ल्याउँथे। ती खासै राम्रा खेल्दैनथे। अहिले त बलिया खेलाडी भित्र्याइएका छन्। बलिया खेलाडी भएपछि टिम त्यसै बलिया हुने भो। सबै टिम जितौं भन्ने हिसाबले आएका छन्।'

विभागीय टोलीले विदेशी खेलाडी भित्र्याउन नमिल्ने थापाले बताए।

थापाको विश्लेषणमा अहिलेका टिमहरुमा कोचिङले पनि धेरै प्रभाव पारिरहेको छ।

'त्यतिबेला हामीसँग ८/९ जना राष्ट्रिय खेलाडी हुन्थे। टिम बिल्डिङ राम्रो थियो। जबकी बाहिरका टिमहरु राम्रोसँग तयार नै हुँदैन थियो। प्लेयरहरुले आफ्नो रोल निभाउन सकिरहेका हुँदैन थिए। अझ भनौ न अपोनेन्टले मलाई जति दुख दिनु पर्ने हो त्यति दिएनन्', अहिलेको खेल्ने तरिकाबारे प्रशिक्षक थापाले भने, 'अहिले त धेरै परिवर्तन भइसकेको छ। टिमहरु डिफेन्डिङ खेल्न थालेका छन्। अस्ति हेर्नु न एनआरटी र मछिन्द्र कसरी बराबरीमा रोकियो। अहिले धेरै व्यवस्थापन भइसकेको छ। टिमहरु प्याट्रन बनाएर खेल्न थालेका छन्।'

उनले नेपाली राष्ट्रिय टिमले कुवेतसँग भुटानमा खेलेको खेलको उदाहरण दिँदै नेपाली टिमले पनि यही नीतिले कुवेतलाई हम्मेहम्मे पारेको बताए।

पहिला पुलिस फिटनेस र टेक्निकल एस्पेक्टमा राम्रो भएको बुझाइ छ थापाको। उनी त्यतिबेला खेल्दाका हरि खड्का, राकेश श्रेष्ठ, रमेश बुढाथोकी लगायतका खेलाडीहरुलाई सम्झन्छन्। त्यतिबेला बाहिरी टिमहरुमा प्रोपर कोचहरु नहुँदा पनि जित निकाल्न सजिलो रहेको उनको बुझाइ छ।

पुलिसको अबको प्रयास

प्रशिक्षक थापालाई अहिलेको खेलाडीमा विकास भएको 'मैले के पाउँछु?' भन्ने भावना मन परेको छैन।

'पहिला कर्म गर्नु फलको आशा नगर्नु भन्थे अहिले सीधै खेलाडीहरु मैले के पाउँछु भन्ने हिसाबले सोच्छन्,' उनले भने।

'मैले के पाउँछू भन्दा मैले के गर्न सक्छु भन्ने युवा खेलाडीहरुले सोच्न आवश्यक छ। आजकल फुटबलमा फलबाट शुरु गर्ने खोज्ने प्रवृत्ति पाएको छु,' प्रशिक्षक थापाले असन्तुष्टी पोखे।

अहिले पुलिस कोचिङ स्टाफ बढाउनेदेखि खेलाडीको स्तर बृद्धिमा ध्यान पुर्‍याइरहेको बताउँछन् थापा।

'हामीसँग अहिले जति खेलाडी छन् उनीहरुको खेल बढाउन लागेका छौं। हामीले उनीहरुको पोटेन्सियल बढाउनु पर्ने छ। सिकाउनु पर्ने धेरै छ,' थापाले भने।

राष्ट्रिय टिमकोसमेत सदस्य रहिसकेका नेपाल पुलिसबाट लामो समययता खेल्दै आएका रोबिन श्रेष्ठ नेपाल पुलिसमा मोटिभेसनका क्षेत्रमा कुनै गुनासो नरहेको बताउँछन्।

'चोट बोकेको लामो समयपछि लिगको खेल। टिमले धेरै विश्वास गरेको छ। मेरो अहिले फोकस 'ए' डिभिजनमा छ। आफ्नै टिममा राम्रो प्रदर्शन गर्न सक्छु या सक्दिन भन्ने छ। टिममा राम्रो प्रदर्शन गरेर टिमलाई माथि पुर्‍याउन योगदान दिलाउन चाहन्छु' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell