कैलाली: राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले मनोनयन दर्ता गराएका छन्। डोटी जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार दुई दलका ४ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन्।
सुदूरपश्चिम प्रदेशमा एक खुल्ला र एक जना महिलाका लागि निर्वाचन हुँदैछ। जसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टको उम्मेद्वारी दर्ता भएको छ। नेपाली काँग्रेसका तर्फबाट भने महिलातर्फ तुलसी देवकोटा र खुल्लामा प्रताप ठगुन्नाले उम्मेद्वारी दर्ता गराएका हुन्।
दुवै पार्टीले दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन्। दर्ता प्रक्रियापछि उम्मेद्वारहरूले मतदातासँग आफ्नो पक्षमा मत आह्वान गरे।
सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ गाउँपालिकाका अध्यक्ष/ उपाध्यक्ष र नगरपालिकाका मेयर/ उपमेयरको १८ का दरले तीन हजार एक सय ६८ र प्रदेश सभाका ५३ जना सांसदको ४८ का दरले गरी दुई हजार पाँच सय ४४ गरी कुल पाँच हजार ७ सय १२ मत भार रहेको छ।
२०७४ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट खुल्लातर्फ निर्वाचित सांसद नेपाली कांग्रेसका बद्री पाण्डे र महिलातर्फबाट निर्वाचित नेकपाकी सांसद कमला ओलीको पदावधि दुई वर्ष कायम भएको थियो। उनीहरूको रिक्त हुन लागेको पदमा निर्वाचन हुन लागेको हो।
सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि २ सय २९ मतदाता
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि २ सय २९ मतदाता रहेका छन्। प्रदेश सभाका ५३ र स्थानीय तहका १ सय ७६ गरी प्रदेशका ९ वटै जिल्लामा २ सय २९ मतदाता रहेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा तीन दलको सहभागिता रहेको छ। नेकपाका सबैभन्दा बढी ३९ सदस्य रहेका छन्, भने नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सदस्य प्रदेश सभामा छन्।
यता ८८ वटा स्थानीय तहमा रहेका १ सय ७६ जना मतदाता मध्य १ सय ३ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित र ७३ जना नेपाली कांग्रेसबाट निर्वाचित छन्।