PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

थिएटर मलमा 'वर्तमान समाजको सपाट कथा' : जामुनको रुख



पहिलोपोस्ट

थिएटर मलमा 'वर्तमान समाजको सपाट कथा' : जामुनको रुख

एक सरकारी सचिवालय अगाडि ठूलो अनि बुढो जामुनको रुख ढल्छ। रुख ढलेर एक कविलाई थिच्छ। कवि जीवन र मरणको दोसाधबीच आफूलाई बचाउन आग्रह गरिरहेको अवस्थामा देख्छ सचिवालयकै मालीले। माली उसलाई बचाउन पहलका लागि आग्रहसहित विभिन्न तह र तप्काका कर्मचारीहरुसम्म पुग्छ। ती कर्मचारीसम्म जसलाई रुखले मानिस थिच्नुभन्दा बढी चिन्ता त्यो फलदायी रुख ढल्नुको हुन्छ।

अन्तत: तिनै कर्मचारीले उक्त सरकारी रुख हटाउन माथिको आदेश खोज्न थाल्छन्। आदेश पर्खन बाध्य हुन्छ ज्यान थिचिएको कवि पनि।

नाटकले जिम्मेवारीबाट भाग्ने मानिसहरु देखाउँछ। जहाँ मानव मानवीयता बिर्सिएर फल खान नपाउनुको बिस्मात् मनाउँछ। निहित स्वार्थले कसरी मानिसलाई मानिसबाटै टाढा बनाएको छ भन्ने कथा भन्छ 'जामुनको रुख'ले। 

जामुनको रुख विम्ब हो वर्तमान समाजको। समाजमा बढ्दो बिसंगती, राजनीतिक जटिलता, तप्कामा रहेकाको स्वार्थ, बेवास्ता र अस्तव्यस्तता झल्काउने कथा नाटकमार्फत देखाइएको छ। मानवीय प्रवृत्ती र असंवेदनशिलता दर्शाउने कथा लेखेका हुन् कृष्ण चन्दरले। चन्दर उर्दु भाषाका साहित्यकार हुन्। भारतीय स्वतन्त्रता संग्रामपछि उनले हिन्दी साहित्यमा पनि कलम चलाएका थिए। सन् १९६९ मा शिक्षा र साहित्यका लागि भारत सरकारद्‍वारा पद्म भूषण सम्मान प्राप्त गरेका छन्।

भुईं मान्छेका जीवन र संघर्षका कथा लेख्ने उनको 'जामुनको रुख' हाँस्यव्यङ्ग्य कथा हो। उक्त कथालाई केदार श्रेष्ठले नाट्य रुपान्तरण एवं निर्देशन गरेका हुन्।

नाटक बारे श्रेष्ठ भन्छन्,'यो नाटक मैले बाँचिरहेको समयको आफ्नै छटपटी, चिन्ता र विमर्श हो।'

पुस १८ गतेबाट सुरु भएको नाटक माघ ४ गतेसम्म नियमित मञ्चन हुनेछ। नाटकमा शंकर भण्डारी, कञ्चन संग्रौला, रोशन केसी, मनिस व्याञ्जु, शक्ति पाख्रिन, हीरा महर्जन, स्नेहा रसाइली, सरोज राईको अभिनय रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell