
- सुमित मिश्र-
जनकपुरधाम : आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको १८ सिटका लागि देशभरी आइतवार उम्मेद्वारी मनोनयन दर्ता गरिएको छ। त्यसै अन्तर्गत प्रदेश २ मा पनि ४ सिटका लागि उम्मेद्वारहरुले मनोनयन दर्ता गराए।
कुनै समय एक अर्कालाई परमशत्रु मान्ने दुई दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यस निर्वाचनमा भने तालमेल गरे। मधेश आन्दोलनका क्रममा एक अर्कालाई तल्लोस्तरसम्म गाली गर्ने र एक अर्काविरुद्ध जुलुशसम्म निकालेको दृश्य यहाँका जनताले देखिसकेका छन्।
संविधान संशोधनको मुद्दालाई लिएर नेकपासँग बैठकसम्म बस्न नचाहने राजपाका शिर्षस्थ नेताहरुले केही दिन अगाडी मात्रै राष्ट्रियसभा निर्वाचन र साथै आगामी दिनमा समेत सहकार्य गर्नेसम्मको सहमति गरेका छन्। राजपा र नेकपाबीच रातारात भएको सो सहमतिबाट सबै चकित भए। सोही सहमति अनुरुप नेकपा र राजपाको चुनावी मिलनको दृष्य हेर्न लायक भयो।
राष्ट्रियसभाको उम्मेद्वारी दर्ताका लागि दुवै दलका उम्मेद्वारहरु सँगसँगै निर्वाचन आयोगको कार्यालय पुगे। नेकपाको कार्यालयबाट निस्किएको राजपा र नेकपाको संयुक्त जुलुशले नयाँ नेपाली राजनीतिको संकेत गरिरहेको सहजै अनुमान लगाउन सकिन्छ।
प्रदेश २ मा राष्ट्रिय सभाको ४ सिटका लागि नेकपा र राजपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टीले गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराएका छन्।
राजपा र नेकपाबीचको यो मिलनलाई कतिपयले नेपाली राजनीतिको सकारात्मक पक्ष बताइरहँदा कतिपयले भने यसलाई राजनीतिको निकृष्ट पक्ष समेत भन्न भ्याए। केही समयअघिसम्म एक अर्कालाई परमशत्रु ठानेका यी दुई दलको मिलन कसरी सम्भव भयो त?
यो मिलन लामो समयसम्म चल्छ वा चल्दैन भन्ने लगायतका यक्ष प्रश्नहरु त छँदैछन्। यद्यपि राष्ट्रिय सभाका लागि दुवै दलबाट उम्मेद्वारी दिएका उम्मेद्वारहरुले यसलाई सकारात्मक रुपमा लिएका छन्।
राजपाबाट राष्ट्रिय सभाका लागि उम्मेद्वारी दिएका राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र सिंह यादवले एक अर्का प्रतिको तिक्तता बिर्सेर नयाँ राजनीतिको बाटोमा दुवै दल लागेकोमा खुशी व्यक्त गरे। आफूहरुको मुद्दा यथावत नै रहेको बताउँदै यादवले मुद्दालाई नेकपाले कुन रुपमा अगाडी बढाउँछ त्यसमाथि आगामी सहकार्यको बाटो निर्भर रहेको स्पष्ट पारे।
उनले दुवै पार्टी राष्ट्रिय सभा निर्वाचनकै लागि भएपनि एक ठाउँमा आउनुले राजनीतिमा कोही कसैको परमशत्रु वा सदाका लागि मित्र नहुने कुराको प्रमाणीकरण गरेको दावी गरे।
यता नेकपाबाट महिला कोटामा राष्ट्रियसभामा उम्मेद्वारी दिएकी तुलसा दाहालले नेपाली राजनीतिको सबैभन्दा सुन्दर पक्ष यही रहेको बताइन्। उनले कहिल्यै एक अर्कालाई गाली गर्ने दलहरु एकै साथ मिलेर चुनाव लड्नुलाई सकारात्मक रुपमा लिन अपिल गरिन्।
दुई पार्टीबीचको सहकार्यबाट शिर्षस्थ नेताहरु हौसिएपनि तल्लो स्तरमा कार्यकर्ताहरुमा निराशा सहजै देख्न सकिन्थ्यो।
एक जना राजपाका कार्यकर्ताले भने, ‘मधेश आन्दोलनको समयमा हामी नेकपाविरुद्ध संविधान संशोधनको मुद्दा लिएर जुलुश तथा धर्ना गर्यौँ, अहिले दुवै पार्टी एक ठाउँमा आएका छन्। संविधान संशोधन अहिलेसम्म भएको छैन, कुन मुख लिएर जनता सामु जाउँ।’
यता राजनीतिक विश्लेषक डा सुरेन्द्र लाभले दुई पार्टीबीचको सहकार्यले राजनीतिमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन भन्ने कुराको प्रमाणीकरण गरिरहेको बताए।
उनले भने, ‘यस प्रकारको सहकार्यले नेपालमा विचारको राजनीति नभई सत्तालिप्साको राजनीति मात्रै हुने गरेको सन्देश आम जनतामा गइरहेको छ।’