PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता गर्दा जे देखियो...



कुञ्जरमणि भट्टराई

राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता गर्दा जे देखियो...

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता गर्ने दिन। पार्टीले निर्वाचनका लागि उम्मेद्वार छनोट गरेसँगै मनोनयनका लागि प्रदेश तीनका उम्मेद्वारहरु ललितपुर जिल्ला निर्वाचन कार्यालय पुगे।

निर्वाचन आयोगले उम्मेद्वारी दर्ताका लागि १० देखि ३ वजेसम्मको समय तोकेको थियो। प्रदेश ३ को निर्वाचन कार्यालमा साढे २ बजेसम्ममा तीन दलका उम्मेद्वारहरुको मात्र उम्मेदवारी दर्ता भयो। ११ वजेतिरै निर्वाचन कार्यालय पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेद्वार वेदुराम भुसालले पहिलो नम्बरमा नाम दर्ता गरे। उनलाई निर्वाचन आयोगले १२:३० मा उम्मेद्वारी दर्ता भएको प्रमाणपत्र दियो।

निर्वाचन कार्यलयमा खासै भीडभाड थिएन्। नेकपाका उम्मेद्वारहरुका साथमा तुलनात्मक रुपमा नेता कार्यकताको संख्या देख्न सकिन्थ्यो। दोस्रो नम्बरमा नेकपाकै महिलातर्फबाट गंगा बेलवासेको उम्मेद्वारी दर्ता भयो।

नेकपाले उम्मेद्वारी दर्ता गराएपछि मात्र प्रतिपक्षी नेपाली कांग्रेसको पालो आयो। नेकपाका उम्मेद्वारभन्दा केही पछि पुगेका थिए कांग्रेसका उम्मेद्वार। नेपाली कांग्रेसको तर्फबाट अन्यमा हरिशरण श्रेष्ठ र महिलामा छली कुमारी शर्मा उपाध्यायले उम्मेद्वारी दर्ता गराए।

नेकपा र कांग्रेसका उम्मेद्वारले मनोनयन दर्ता गराएपछि फोटो खिचाउनेहरु देखिन्थे। यी दुई पार्टीका उम्मेद्वारहरुले खादा लगाएकाले सहजै उम्मेद्वार भएको चिन्न सकिन्थ्यो।

दुई दलपछि दर्ता भएका नेपाल मजदुर किसान पार्टीका उम्मेद्वारलाई भने सोधखोज गरेपछि मात्रै चिन्ह सकिन्थ्यो। राष्ट्रिय सभामा पुगे के गर्ने?

उम्मेद्वारी दर्ता गरिसकेपछि नेकपा र कांग्रेसका उम्मेद्वारले संक्षिप्त प्रतिक्रिया दिए। नेकपाका उम्‍मेद्वार भुसालले आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए।

उनले भने, 'राष्ट्रिय सभाको जिम्मेवारी प्रतिनिधि सभाले गरेका काम हेर्ने हो। केही कमजोरी रहेछन् भने सुधार्ने हो। देश र जनताका विभिन्न मुद्दा जिम्मेवारीका आफ्नो भूमिका निर्वाह गर्छों।'

नेकपाको महिला कोटाबाट उम्मेद्वार बनेकी बेलावासे भने पार्टीले विश्वास गरेकोमा खुसि व्यक्त गरिन्।

उनले भनिन्, 'महत्वपूर्ण ठाउँमा पार्टीले विश्वास गरेर उम्मेद्वार बनाएको छ। पार्टीले दिएको भूमिकालाई निर्वाह गर्नेछु।'

नेपाली कांग्रेसका श्रेष्ठले सरकार अधिनायवादी रुपमा प्रस्तुत भएको आरोप लगाउन भ्याए।

'सरकार अधिनायकवादी रुपमा अघि बढे राष्ट्रिय सभामा कांग्रेसलाई प्रतिनिधि विहीन बनाउने प्रयास गरिरहेको छ। जितेँ भने त्यसको विरोध गर्छु,' उनले भने।

कांग्रेसकी उम्मेदवार उपाध्यायले भने पार्टीको आदर्श र सिन्दान्तमा रहेर काम गर्ने बताइन्।

माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभाका १९ सदस्यहरुको फागुन २० गते दुई वर्षे कार्यकाल सकिन लागेकाले निर्वाचन हुन लागेको हो। निर्वाचनमा सत्तारुढ दल बाहेक अन्य दलको सम्भावना न्युन रहेको छ।

निर्वाचनका लागि प्रदेश दुईमा सत्तारुढ दलले राष्ट्रिय जनता पार्टीसँग तालमेल गरेको छ भने प्रतिपक्षी कांग्रेसले संघीय समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। म्याद सकिन लागेकामध्ये एक जना भने राष्ट्रपतिले सिफारिस गर्नेछिन्। अन्य १८ पदका लागि निर्वाचन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell