PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

किसानको घेराबन्दीमा परे मुख्यमन्त्री, मेयर र सिडिओ



राधेश्याम पटेल

किसानको घेराबन्दीमा परे मुख्यमन्त्री, मेयर र सिडिओ

वीरगंज: पर्साको वीरगंज-३१ स्थित बेल्वा (कटगेनवा)का किसानहरुको समूहले आज प्रदेश २ का मुख्यमन्त्री, वीरगंजका मेयर, पर्साका प्रमुख जिल्ला अधिकारीलगायतलाई घेराउ गरेका छन्। किसानको समूहले मुख्यमन्त्री लालबाबु राउत, वीरगंजका मेयर विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरलाई केही बेर जिल्ला समन्वय समिति पर्साको मुल गेटमा घेराउ गरेका हुन्।

पर्सा प्रहरीले बालुवा तस्करी भन्दै ट्र्याक्टर नियन्त्रणमा लिएपछि करिब डेढ सय जनाको संख्यामा रहेका स्थानीयको टोली जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको मुख्यमन्त्रीको कार्यक्रममा पुगेका थिए। सुरक्षाकर्मीले भीडलाई सभाहलमा जान नदिएपछि स्थानीय दिउँसो १२ बजेदेखि ४ बजेसम्म मुल गेटमै धर्ना दिएर बसेका थिए।

भित्र चलिरहेको ‘बेटी पढाउ, बेटी बचाउ', 'छोरी शिक्षा विमा’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सकेर निस्किएका सबैलाई पालैपालो गरी उनीहरुले घेराबन्दी गरेका हुन्। प्रहरीले झुट्टो मुद्दा चलाएर वीरगंज ३० लालपर्साबाट समातेको ट्र्याक्टरलाई भारतीय सीमा क्षेत्रमा बालुवा तस्करी गरेको अभियोग लगाएको किसानहरुको आरोप थियो। कारबाहीको लागि वीरगंज भन्सारमा पठाएकोले विरोध जनाउँदै प्रदर्शन गर्नुको साथै ती ट्र्याक्टरहरु अविलम्ब छुटाउन मुख्यमन्त्री, मेयर तथा पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग माग गरेका थिए।

घेराबन्दीमा परेका मुख्यमन्त्री राउतले समस्याबारे बुझेर जानकारी गराउन बताए। गल्ती गर्ने प्रहरीलाई आवश्यक कारबाही हुनुपर्ने किसानहरुले माग गरेका थिए।

पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राजनीतिक दलबाट विस्तृत जानकारी पाएपछि प्रहरीले गल्ती गरेको कुरा थाहा पाएकोले ट्र्याक्टर छुटाउन पहल गर्ने आश्वासन दिए।

उनले भने, ‘प्रहरीले सीमा क्षेत्रबाट समातेको भनेर फाइल पठायो, त्यसपछि मैले नै आवश्यक कारबाहीको लागि वीरगंज भन्सार पठाएको हुँ।’

यस विषयमा वीरगंज भन्सारका अधिकारी तथा पर्साका प्रहरी उपरीक्षकसँग परामर्श गरी ट्र्याक्टर छुटाउन पहल गर्ने आश्वासन दिएलगतै उनीहरुले गेट खोलेका थिए।

गत पुस १८ गते विहान बाराको दुधौरा खोलाबाट बालुवा लिएर परवानीपुर हुदैँ लालपर्सा पुगेका वीरगंज-३१ कटगेनवाका ६ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरी चौकी परवानीपुर र वडा प्रहरी कार्यालय श्रीपुरको सहयोगमा टाइगर टोलीले बालुवा सहितको ट्र्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको थियो।

नेपालबाट भारतमा बालुवा तस्करी गरेको भन्दै सीमावर्ती क्षेत्र वीरगंजको छपकैयाबाट नियन्त्रणमा लिइएका ट्र्याक्टर सिज गर्न वीरगंज भन्सारमा बुझाइएको थियो।

रसिद कटाएर एक महिनादेखि बालुवा उत्खनन गर्न खुलेको दुधौरा खोलाबाट गाउँमा घर निर्माण गर्ने प्रयोजनको लागि ल्याइएको बालुवा प्रहरीले नियन्त्रणमा लिएको एक ट्र्याक्टर चालकले बताए। जबसम्म प्रहरीले आफनो गल्ती स्वीकार गरी ट्र्याक्टर फिर्ता गर्दैन तबसम्म आफूहरुको आन्दोलन जारी रहने स्थानीय सुलेमान मिया अन्सारीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell