PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

साविक विजेता मनाङलाई पछ्याउँदै मछिन्द्र, मनाङ लिड गरिसकेका मछिन्द्रका कप्तान भन्छन्, 'खेलका लागि तयार छौँ'



मुकुन्द घिमिरे

साविक विजेता मनाङलाई पछ्याउँदै मछिन्द्र, मनाङ लिड गरिसकेका मछिन्द्रका कप्तान भन्छन्, 'खेलका लागि तयार छौँ'

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगको पहिलो चरणको खेल सकिसकेको छ। अहिले अंक तालिकामा मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा छ। मनाङलाई पछ्याउँदै मछिन्द्र तालिकाको दोस्रो स्थानमा छ। सोमबार आज यिनै दुई टोलीबिच खेल हुँदैछ।

यी दुई टिमको खेल चासोका रुपमा हेरिएको छ। पहिलो कारण हो लिगका शीर्ष २ टिम। अर्को कारण हो अघिल्लो सिजन मनाङले लिग उपाधि जित्दा मनाङको जर्सीमा उत्रिएका कप्तानलगायत अधिकांश खेलाडी मछिन्द्र पुगेका छन्।

त्यसैले राष्ट्रिय टिमका चर्चित अनुहारहरु भेला पारेर राम्रो प्रदर्शन गरिरहेको मछिन्द्रले असली परीक्षा आज हुनेछ। अघिल्लो सिजन मनाङको जर्सी लगाएर उपाधि उचालेका खेलाडीले मनाङविरुद्ध कस्तो खेल्लान त भन्ने चासो खेल समर्थकमा पक्कै छ।

पहिलो रोजाइका खेलाडीहरु बाहिरिएर पनि मनाङको प्रदर्शन खस्किएको छैन। जारी लिगको आफ्नो पहिलो खेलमा पहिलो खेलमा एपिएफलाई २–० ले हराएको मनाङले मनाङले दोस्रो खेलमा उपाधिको अर्को दाबेदार मानिने त्रिभुवन आर्मी क्लवलाई १–० ले हराएको थियो। त्यस्तै तेस्रो खेलमा ब्रिगेड ब्वाइज क्लवलाई १–० ले हराएको मनाङले चौथो खेलमा भने फ्रेन्डस क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो। ४ खेल खेलेको मनाङसँग १० अंक छ।

यता अघिल्लो सिजन पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्र क्लब यो सिजन माथिबाटै दोस्रो स्थानमा छ। ४ खेलमा १ बराबरी र ३ जित निकालेको मछिन्द्र क्लबको ९ अंक छ। अघिल्लो सिजनको पुछारमा रहेको टिमको २ अंक र दोस्रोमा रहेको टिमको १ अंक घटाउने नियम अनुसार मछिन्द्रको ९ अंक छ।

मछिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई हराउँदै सुखद सुरुवात गरेको थियो। तर, दोस्रो खेलमा भने च्यासल क्लबसँग बराबरीमा रोकिन पुग्यो। त्यसयता मछिन्द्रले तेस्रो खेलमा फ्रेन्डस क्लवलाई ३–० ले र चौथो खेलमा न्युरोड टिमलाई १–० ले हरायो। पछिल्ला खेलहरुमा मछिन्द्रको टिमसेट मिल्दै गएको देखिन्छ।

यसो भन्छन् मछिन्द्र र मनाङका कप्तान

अघिल्लो सिजन मनाङको कप्तानी गरेर उपाधिसमेत दिलाउन सफल भएका विराज महर्जन अहिले मछिन्द्रको कप्तान छन्। उनी राम्रो तालिम र टिमसेट भइरहेकाले आजको खेलमा जित हात पार्न सकिनेमा आशावादी छन्।

'राम्रो ट्रेनिङ गरेका छौं। हामी राम्रो फर्ममा छौं। रणनीतिहरु पनि सफल भइरहेको छ। हामी पुरानै साथीभाइ भएकाले हाम्रो नयाँ कम्बिनेसन मिलेकै छ। मनाङसँगको खेलका लागि हामी तयार छौं।' उनले मनाङसँगको टिमबारे पहिलोपोष्टसँग कुरा गर्दै भने।

नयाँ क्लबमा नयाँ टिमसेट हुँदै गर्दा आफ्नो पहिलाको टिमसँग खेल्न विराज उत्सुक देखिन्छन्। पहिला मनाङबाट खेल्दाको दिनहरुलाई सम्झँदै उनी भन्छन्, 'पहिला त्यतैबाट खेलियो। डिफेन्डिङ च्याम्पियन भइयो पनि। खेलाडीको जीवन। नयाँ क्लबमा आइयो। चुनौतीहरु छन्। उतारचढाव त भइ हाल्छ। म्याचलाई लिएर हामी एकदमै एक्साइटेट छौं। म्याच जित्ने फोकस्ड छौं।'

आज यिनै दुई टिमहरुबीच खेल हुँदैछ। खेल यसअघि शनिवारलाई तय भएको भए पनि एन्फाले दशरथ रंगशालाको अवस्था खराव रहेको बताउँदै त्यसलाई २ दिन पछि सारेको थियो।

आज हुने दुवै खेललाई महत्वका साथ हेरिएको छ। आज हुने पहिलो खेलमा एनआरटी क्लवले जाउलाखेल युथ क्लवसँग खेल्ने छ। अघिल्लो सिजन तालिकाको पुछारमा रहेको एनआरटी क्लब अहिले तालिकाको आठौं स्थानमा छ। त्यस्तै जाउनलाखेल युथ क्लब ८ अंक सहित दोस्रो चौथो स्थानमा छ। यी दुई टोलीबीचको खेल आज दिउँसो १२ बजे शुरु हुनेछ।

त्यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लव र मछिन्द्र क्लब बीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे शुरु हुनेछ। दुबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।

यता मनाङका कप्तान कमल श्रेष्ठ आफूहरुलाई जित्नु नै पर्ने बाध्यता रहेको बताउँछन्। 'हामीलाई जित्नु छ। जितेर स्पस्ट ३ अंक जित्ने हाम्रो लक्ष्य छ। टपमा त छौं। आज जितेको खण्डमा हामीलाई अझ प्लस प्वाइन्ट हुन्छ।'

मछिन्द्रका अधिकांश खेलाडीको खेलसँग परिचित रहेको दाबी गर्दै कप्तान श्रेष्ठले म्याच टफ हुने बताए। 'मछिन्द्रका अधिकांश खेलाडीसँग २/३ साल यता खेलिरहेकै हो। उनीहरु कसरी खेल्छन भन्ने एकहदसम्म थाहा छ। बरु उनीहरुले हाम्रो खेलाडी चिनिसकेको छैन। हाम्रो नयाँ खेलाडीहरु छ। अहिलेसम्म लिग नखेलेका खेलाडीहरु पनि छन्,' उनले भने, 'मोफसलमा राम्रो खेलेको खेलाडीहरु छन् हाम्रो छ। नयाँ टिम भएको छ। हामीचाहीँ मछिन्द्रसँग खेलिरहेको साथी भएकाले गाह्रो नहोला तर मछिन्द्रलाई चाहीँ नयाँ खेलाडीहरु धेरै हुँदा गाह्रो हुन सक्छ। म्याच टफ हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell