PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

अमेरिकाबाट आएपछि 'लोमान्थाङमै बसम्'को सुटिङ, संगीताको सन्देश 'आफ्नो ठाउँ नछाडौँ'



मन्दिरा खत्री

अमेरिकाबाट आएपछि 'लोमान्थाङमै बसम्'को सुटिङ, संगीताको सन्देश 'आफ्नो ठाउँ नछाडौँ'

संगीता थापामगर र रामजी खाँणको स्वरमा रहेको 'लोमान्थाङमै बसम्' बोलको गीत भिजिट नेपाल २०२० उद्घाटनकै दिन युट्युबबाट रिलिज भयो।

लोमान्थाङमा छायाङ्कन गरिएको गीतमा गायक/गायिका नै फिचर्ड छन्। गीतको भिडियो छायाङ्कन माइनस २६ डिग्रीमा गरिएको संगीता बताउँछिन्। 'मंसिरमा लोमान्थाङको माइनस २६ डिग्रीको ठन्डीमा हिउँसँगै छायाङ्कन गरियो। लोमान्थाङको चिसोले अझै छाडेको छैन।'

न्यूयोर्क बस्दै आएकी संगीता छायाङ्कनका लागि मुस्ताङ मंसिरमा पुगेकी हुन्। नेपाल आइपुगेकै बेला भ्रमण वर्ष २०२० को गीत सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको उनले सुनाइन्।

'२०२० को छेकोमा नयाँ गीत गाउने मौका जुर्‍यो। पोखरा पुगेको बेला प्रदेश सांसद इन्द्रधारा विष्टले गीतको कन्सेप्ट सुनाउनुभयो। कन्सेप्ट मनपर्‍यो। लोमान्थाङ दौडिहालेँ,' संगीताले भनिन्।

प्रकाश भट्टको निर्देशन रहेको गीतको शब्द रमेश विजीको रहेको छ भने संगीत बीबी अनुरागीको।

गायक खाँणसँग फिचर्ड हुन पाउँदाखुसी लागेको उनले सुनाइन्। 'हाम्रो स्वर मिल्छ। दाईसँग काम गर्न पनि सजिलो छ,' खाणसँगको जोडीबारे उनले सुनाइन्।

गीतको सन्देश, आफ्नो ठाउँ नछाडौँ

लोमान्थाङ उपत्यकामा छायाङ्कन गरिएको गीतको भाका हो 'लोमान्थाङमै बसम, लोमान्थाङमै बसम।'

न्यूयोर्क बस्दै आएकी उनी अब नेपाल नै बस्ने सोचमा छिन्। 'अब यतै बसौँ भन्ने तयारीमा लागेकी छु', ' उनले भनिन्, 'विदेशमा धेरै गाह्रो छ।'

को हुन् संगीता थापामगर?

'मिठो हाँसो कान्छा' बोलको गीतबाट करियर सुरु गरेकी संगीता 'तोम्बा तानेपछि' बोलको गीतबाट छाइन्। 'आँखै प्यारो छ', दर्शन झोर्लेलगायतका दर्जन बढी गीत गाएकी स्याङ्जाकी संगीताको करिअरको शुरुवाती दिन कठिन थियो।

बाबु कडा स्वभावका।

'बुवालाई छोरीले गीत गाउँदै हिँडेको पटक्कै मन पर्दैनथ्यो', 'संगीता सम्झिन्छिन्, 'दाई र बाबु दुबै जना इन्डियन आर्मी अनि लाहुरेको छोरी बिग्री भन्थे। बुवा कडा स्वभाव हुनुहुन्थ्यो। दोहोरी साँझमा गाउन थालेपछि ७ महिना त बुवा मसँग बोल्नु भएन।'

विस्तारै, दोहोरी साँझमा गाउँदै एल्बम निकालिन्। स्टेज कार्यक्रम पाउन थालिन्। अनि विदेश यात्रा सुरु भयो।

'गीतहरु निकाल्दै गएँ, चर्चा पनि हुँदै गयो। त्यसपछि म गएको देशहरुमा बाआमालाई पनि लिएर गएँ,' उनले भनिन्, 'अनि समाजले पनि बुवाको अगाडि छोरी हुनु त तपाईँको जस्तो भन्न थाले।'

संगीतिक कार्यक्रमको सिलसिलामा १६ देश पुगिसकिन् उनी। नेपाल आएर उनी स्याङजा महोत्सव, स्ट्रिट फेस्टिभललगायतका स्टेज कार्यक्रममा सहभागी भइसकेकी छिन्। यही महिना कोरिया जाँदैछिन्।

बिमाकुमारी दुरा, शर्मिला गुरुङ, नारायण रायमाझी, सिर्जना बिरहीलगायतका गीतहरु सुन्दै हुर्किन्। 'तानसेनको मिनी बस झ्यालमा बसी मोहनी' बोलको गीतबाट दोहोरी सिकेको उनले बताइन्।

स्याङ्जाबाट २०६२ सालमा पढाइको सिलसिलामा उनी काठमाडौँ आइन्। गाउँघरका साथीहरुको लहैलहैमा पढाई खर्च जुटाउनकै लागि दोहोरी साँझमा भर्ती भइन्।

पढाईभन्दा करिअर रोजेँ

महेन्द्ररत्न क्याम्पस ताहचलमा पढाई चल्दै थियो। बिए दोस्रो वर्षको परीक्षा आयो। त्यही बेला स्टेज कार्यक्रमको निम्तो आयो संगीतालाई। 'अब एउटा छोड्नुपर्ने भयो। पढाई वा संगीत। अनि रोजेँ संगीत', 'उनले भनिन्,'बिए दोस्रो वर्षको परीक्षाकै दिन ओखलढुङ्गा रुम्जाटार महोत्सवमा गाउन पुगेँ' संगीताले विगत सम्झिइन्।

साथीहरुले परीक्षा दिन आइनौ भनी बारम्बार फोन गरिरहे। उनले भने त्यही बेलाबाट पढाई अगाडि बढाउन सकिनन्। 'एकचोटी पढाई छोडेपछि फेरि पढ्न भनेर गएँ। तर सकिनँ। पढ्न भनेर गयो कानमा मादलको आवाज गुञ्जिन्थ्यो।'

संगीता आफ्नो गीतमा प्राय आफैं मोडलिङ गर्छिन्। 'आफ्नो गीतमा आफैं मोडलिङ गरौँ न त भन्ने लागेर म प्रायः मेरो गीतमा आफैं मोडलिङ गर्छु,' उनले भनिन्।

अमेरिका लामो समय बसेर पहिलोपटक नेपाल फर्किँदा उनले 'दुई वर्ष भइसक्यो कहाँ हराथ्यो यो मोटी गाला उस्तै पाउरोटी' बोलको गीत गाएकी थिइन्। उनकै कन्सेप्टमा गीतकारले गीत तयार पारिदिएका थिए। पश्चिमेली भाका दर्शकले रुचाए।

आजभोलि दोहोरीमा र्‍याप शैलीको ट्रेन्ड बढिरहँदा संगीता भने टिपिकल शैलीको गीत नै रुचाउँछिन्।

उनी भन्छिन् 'मलाई चाहिँ दोहोरीमा मौलिकता नै झल्किनुपर्छ जस्तो लाग्छ।'

संगीता चाँडै नयाँ गीत रिलिज गर्ने तयारीमा लागिसकेकी छिन्। 'ओइ माया कता हो हल्ली, मै सोझीलाई पारेर बिचल्ली' बोलको गीत तयार भइसकेको संगीताले सुनाइन्। रत्यौली शैलीमा बनेको उक्त प्रेमिल गीतको सम्पूर्ण छायाङ्कन सकिएको र करिब एक सातापछि गीत रिलिज हुने उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell