PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मुआब्जा विवादमा पुनः अनिश्चितकालिन धर्ना, १२ घण्टे चक्काजामले भन्सारबाट पास हुन पाएनन् गाडी



राधेश्याम पटेल

मुआब्जा विवादमा पुनः अनिश्चितकालिन धर्ना, १२ घण्टे चक्काजामले भन्सारबाट पास हुन पाएनन् गाडी

वीरगंज : वीरगंज-२५ स्थित ड्राइपोर्ट र आइसिपी भन्सारको बीचमा रहेको श्रीसिया गाउँका बासिन्दाले आइतवारदेखि पुनः अनिश्चितकालिन आन्दोलन शुरु गरेका छन्। सरकारले मुआब्जा सम्बन्धी समस्यामा सुनुवाई नगरेको भन्दै ड्राइपोर्ट भन्सारको मुल गेटमा स्थानीयले धर्ना शुरु गरेका हुन्।

मुआब्जाविरुद्धको संघर्ष समितिका अध्यक्ष अम्बिका प्रसाद कुर्मीका अनुसार करिब एक महिनादेखि विरोध प्रदर्शन तथा पटकपटक स्थानीय प्रशासनदेखि गृह मन्त्रालय र अर्थ मन्त्रालयसम्म डेलिगेसन लिएर जाँदा पनि सरकार पक्षबाट केही ठोस् कुरा नआएपछि फेरी आन्दोलन शुरु गरेको बताए।

स्थानीयले अबका आन्दोलनको कार्यक्रम थप सशक्त रुपमा अघि बढाउने बताएका छन्। पहिले मंसिर १७ देखि २३ गतेसम्म दिनको ११ बजेदेखि ४ बजेसम्म हुने आन्दोलन अब दिनको १२ घण्टा नै नियमित हुने संघर्ष समितिले बताएको छ।

आइतवार विहान ८ वजेदेखि राति ८ वजेसम्म गाउँका करिब ३ सय जना महिला तथा पुरुष धर्नामा बसेको संघर्ष समितिका सदस्य विजय तिवारीले बताए। यसअघि मंसिर २३ गते पर्सामा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै उचित मुआब्जा वितरण गर्न वा छुट्टै ठाउँमा बस्ती बसालेर व्यवस्थित पुनर्स्थापनको लागि स्थानीयले माग गरेका थिए।

स्थानीयको धर्ना तथा चक्काजामले दैनिक १२ घण्टा ड्राइपोर्ट र आइसिपीमा आउने/जाने गाडीहरु दिन भर ठप्प हुने गरेका छन्।

सरकारी पक्षले २३ लाख देखि ६७ लाख प्रति कट्ठासम्म जग्गाको प्रकृति हेरी १३ वर्गमा विभाजन गरेर मुआब्जा वितरण गर्ने निर्णय गरेसँगै स्थानीयहरु आन्दोलित भएका हुन्। स्थानीयले चलनचल्तीको भाउ अनुसार कट्ठाको ३ करोडसम्म माग गरेका छन्। त्यो नभए ६२ विघा क्षेत्रफलमा सुविधा सम्पन्न रुपमा बस्ती बसालेर उचित पुनर्स्थापना गर्नु पर्ने स्थानीयको माग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell