PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'ए' डिभिजनका हेभिवेट मनाङ र मछिन्द्र रोकिए बराबरीमा



मुकुन्द घिमिरे

'ए' डिभिजनका हेभिवेट मनाङ र मछिन्द्र रोकिए बराबरीमा

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आजको दोस्रो खेलमा साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लब बराबरीमा रोकिएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ र मछिन्द्र २-२ को बराबरीमा रोकिएका हुन्।  

मनाङले खेलको दोस्रो मिनेटमै अग्रता बनाएको थियो। मनाङका लागि अन्जनको पासमा जर्सी नम्बर १८ का फेमि जोसुवाले गोल गरेका थिए। 

३९ औं मिनेटमा मछिन्द्रका खेलाडी अभिशेक रिजालले गरेको उत्कृष्ट प्रहार मनाङका गोलकिपर दीप कार्कीले बचाउ गरेका थिए। त्यसअघि पनि ३१ औं मिनेटमा विसाल राईले उत्कृष्ट फ्रिकिक प्रहार गरे पनि गोलमा परिणत हुन सकेन। त्यस्तै मनाङले पनि विभिन्न अवसरहरु सिर्जना गरेको थियो। तर फिनिसिङमा चुक्दा त्यसलाई गोलमा परिणत गर्न भने सकेन।

पहिलो हाफमा मनाङ १ गोलले अघि रह्यो।

दोस्रो हाफमा भने शुरुमै सुजल श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले ४६ औं मिनेटमा एडिलेजा सोमिडेको पासमा गोल गर्दै मछिन्द्रको खाता खोले। यो सँगै खेलको माहोल बन्दै गयो। 

दोस्रो हाफको अन्त्यतिर मछिन्द्रले खेलमा दबाब बढाएको थियो। 

५५ औं मिनेटमा मनाङका लागि अन्जन विस्टले उत्कृष्ट फ्रिकिक प्रहार गरेका थिए। 

खेलमा दवाब बढाइरहेको मछिन्द्रका लागि ८१ औं मिनेटमा सोमिडेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए।

मनाङले फेरि जगदीश श्रेष्ठको पासमा बिमल रानाले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए। 

बराबरीसँगै मनाङले ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम छ भने मछिन्द्र १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell