PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'धेरैपछि भेट भो' राजेश हमाल र भुवन केसी, राजेशले भने - मेरो उमेर २५ नै हो



मन्दिरा खत्री

'धेरैपछि भेट भो' राजेश हमाल र भुवन केसी, राजेशले भने - मेरो उमेर २५ नै हो

काठमाडौं : सोमबार सोल्टी क्राउन प्लाजामा नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा फिल्म अवार्डको मिति घोषणा कार्यक्रम राखेको थियो।

कार्यक्रमका उद्घोषक थिए : दिनेश डिसी। चैत १५ गते टुँडिखेलमा नेफ्टा अवार्ड हुने घोषणा गरे आयोजक ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले।

त्यसको केहीबेरमा मञ्चमा देखिए अभिनेता राजेश हमाल। हमालले प्राविधिकको प्रशंसा गर्दै आफू नेफ्टा अवार्डसँग नजिकिन नपाएको गुनासोसमेत गरे।

त्यसपछि भने अबका दिनमा नजिक रहने पनि बताए। कार्यक्रममा सहभागी हुने कि नहुने भन्नेबारे उद्घोषक डिसीसँग प्रश्नसमेत गर्न भ्याए उनले। भने, 'दिनेश जीको फोन उठाइदिउँ कि नउठाइदिउँ? त्यसो त उनले आफ्नो उमेर २५ वर्ष नै भएको दोहोर्‍याउन पनि भ्याए। सम्बोधनको अन्त्यमा हमालले भने, '३०-३२ त मैले भने तर मेरो उमेर २५ नै हो है।'

अर्का अभिनेता भुवन केसीले नेफ्टा प्रावधिकलाई प्रोत्साहन र सम्मानका लागि भएको बताए। प्राविधिकको सम्मानमा कार्यक्रम आयोजना गरिन लागिएकोमा आफूलाई खुसी लागेको भुवनले बताए।

कार्यक्रम सकिएपछि महानायक उपमा पाएका राजेश र सुपरस्टार उपमा पाएका भुवनबीच भेट भयो। दुबैले ह्यान्डसेक गरे।ठट्टा गर्दै धेरैपछि भेट भएको भन्दै दुबै मुस्कुराए। राजेश र भुवन गत शनिवार मात्र एक कार्यक्रममा सँगै देखिएका थिए। भुवनलाई राजेशले सफ्ट धाप मारे। लगत्तै दुबैजना छुट्टिए।

यसअघि चार संस्करण विदेशमा आयोजना गरिएको नेफ्टामा पपुलर अभिनेता, पपलुर अभिनेत्री, पपुलर फिल्म, जनजाति चलचित्र, लाइफ टाइम एचिभमेन्ट अवार्ड गरी विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिने बताइएको छ।

कार्यक्रममा भुवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल, तुलसी घिमिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell