
सुर्खेत : यही माघ ५ गतेदेखि वीरेन्द्रनगरबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने तयारी थालिएको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइन सफ्टवेयर, ट्रायल (परीक्षण) सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापनलगायतका कार्य अन्तिमचरणमा पुगेको जानकारी दिए।
सुर्खेत प्रदेश राजधानी हुँदासमेत लाइसेन्स लिन अन्य प्रदेश जानुपर्ने बाध्यता रहेकामा सर्वसाधारणको व्यापक गुनासो थियो। प्रजिअ अधिकारीले लाइसेन्स वितरणका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको बताए।
साथै, उनले लाइसेन्स विना नै अटोरिक्सा चलाउने र चर्को भाडा लिने गरेको गुनासो व्यापक सुनिएकाले व्यवस्थित गर्न लागिएको बताए। वीरेन्द्रनगरमा १ हजार ९०० अटोरिक्सा रहेकामध्ये करीब ३०० सँग मात्र लाइसेन्स रहेको बताइएको छ।
'लाइसेन्स नभएका अटोचालकलाई पक्राउ गर्ने र लाइसेन्सविनै अटोरिक्सा बेच्ने धनीलाई समेत कारबाहीको दायरामा ल्याइनेछ', आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रजिअ अधिकारीले भने।
गृह मन्त्रालयले छाउगोठ भत्काउन कडा निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले ३ सय १ छाउगोठ भत्काएको जनाएको छ। जिल्ला प्रशासनका अनुसार पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा प्रशासनको अगुवाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी वकिल कार्यालय, स्थानीय जनप्रतिनिधि र महिला अधिकारकर्मीको टोली छाउगोठ भत्काउने अभियानमा सक्रिय रहेको छ।
छाउगोठ बस्ने र बस्न बाध्य पार्नेलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार कानुनी कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार त्यस्ता व्यक्तिको सामाजिक सुरक्षा भत्तालगायतका राज्यबाट प्रदान गरिने सेवा–सुविधा रोक्ने तयारी गरिएको छ।