PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

राष्ट्रियसभा निर्वाचन क्याल्कुलेसन : १८ सिटमध्ये १६ नेकपा, दुईमा राजपा, कांग्रेस यसरी बन्दैछ शून्य



कुञ्जरमणि भट्टराई

राष्ट्रियसभा निर्वाचन क्याल्कुलेसन : १८ सिटमध्ये १६ नेकपा, दुईमा राजपा, कांग्रेस यसरी बन्दैछ शून्य

काठमाडौं : माघ ९ गते राष्ट्रियसभा निर्वाचन। ६ वर्षका लागि चुनिने १८  सदस्यका लागि आइतबार ४५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

गोलाप्रथाबाट कार्यकाल निर्धारण भएका १९ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। जसमा १८ जनाको निर्वाचन हुनेछ। एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

 

यस्तो थियो संविधानसभापछिको सभा

राष्ट्रियसभामा पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो। कूल ५९ मध्ये तीन सदस्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेकी थिइन्।

संसद् सचिवालयले निर्वाचन भएर आएको विधिअनुसार नै क्लस्टर विभाजन गरी २०७५ असारमा कार्यकाल निर्धारण गोलाप्रथाबाट गरेको थियो। जसमा पहिलो दुई वर्षे कार्यकालका लागि १९, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २०/२० जना सदस्य थिए।

गोलाप्रथा अनुसार फागुन २० मा दुई वर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९ जना, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना छन्। रिक्त हुने १९ मध्ये अर्थमन्त्री युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत हुन्।

यसपटकको निर्वाचनमा पहिलो हुने अर्थात् धेरै मत प्राप्त गर्ने उम्मेदवार नै विजयी भई राष्ट्रियसभामा प्रवेश गर्नेछन्।

निर्वाचनमा १३ सिट जितेको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा परेको थियो। यसैका कारण यसपटकको निर्वाचनमा कांग्रेसलाई झनै नोक्सान पुग्ने देखिन्छ। एक संक्रमणीय मतदान प्रणाली भए पनि मत संक्रमण (ट्रान्सफर) हुने सम्भावना छैन। मतभार बढी हुने दलको उम्मेदवार नै विजयी हुने निश्चित छ।

सातमध्ये ६ प्रदेशमा नेकपाको स्पष्ट रुपमा नै जितका लागि पर्याप्त मतभार छ। प्रदेश २ मा पनि नेकपा र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन भएपछि गठबन्धन मतभारमा अघि छ। भोट क्रम नभएको अवस्थामा प्रदेश २ मा पनि गठबन्धनकै उम्मेदवार विजयी हुने निश्चित जस्तै छ।  

यस्तो अवस्थामा कांग्रेसलले राष्ट्रियसभामा कायम रहेका १३ मध्ये ७ सिट एकैपटक गुमाउने अवस्था छ। निर्वाचनपछि कांग्रेस ६ सिटमा खुम्चने देखिन्छ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ७५३ स्थानीय तहका एक हजार ५०६ र प्रदेशसभा सदस्य ५५० गरी दुई हजार ५६ मतदाता छन्। जसमा महिला मतदाता ९०७ र पुरुष मतदाता एक हजार १४९ रहेका छन्। प्रदेश सभामा ३६१ पुरुष र १८९ महिला तथा स्थानीय तहमा ७८८ पुरुष र ७१८ महिला र मतदाता छन्।

 

१८ पदमा कसले बाजी मार्ला त?

यो निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी-राजपाले तालमेल गरेका छन्। यता नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि एकापसमा तालमेल गर्ने सहमति गरिसकेका छन्। त्यही अनुसार दलहरुले प्रदेशमा उम्मेदवारी दर्ता गराइसकेका छन्।

प्रदेशसभा सदस्य र गाउँ/नगरका प्रमुख/उपप्रमुख मतदाता हुने भएकोले जुन पक्षको मतदाता बढी छ उही पक्ष निर्वाचित हुने सम्भावना बलियो हुन्छ। निर्वाचनमा स्थानीय तहको मतभार १८ र प्रदेशसभाको ४८ मतभार हुनेछ।

प्रदेश १ मा नेकपा र कांग्रेसको रियालिटी

यस प्रदेशमा दलित, महिला र अन्य गरी तीन सदस्यका लागि निर्वाचन हुँदैछ।

यहाँ नेकपाले दलित कोटामा गोपी अछामी, खुलामा देवेन्द्र दाहाल र महिलातर्फ इन्दु गौतमलाई उम्मेदवार बनाएको छ। त्यस्तै कांग्रेसबाट खुलामा राजेन्द्र घिमिरे, महिलमा मीना पुलामी र दलितमा नीरबहादुर विश्वकर्माले उम्मेद्वारी दिएका छन्।

प्रदेश १ मा नेकपाका ६६ प्रदेश सदस्य छन्। त्यस्तै स्थानीय तहमा १७० जना नेकपाका मतदाता छन्। नेकपाको एकल मतभार ६ हजार २२८ हुन्छ। प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रदेशसभामा २१ र स्थानीय तहमा ८९ मतदातामात्रै छन्। कांग्रेसको मतभार दुई हजार ६१० हुन्छ।

यस्तै प्रदेशसभामा समाजवादी ३, राप्रपा १, संघीय लोकतान्त्रिक मञ्च १ र स्वतन्त्र १ जना रहेका छन्। स्थानीय तहमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का ७, राप्रपाका र समाजवादीका ४ जना मतदाता छन्। समाजवादी र फोरम एकता भइसकेको छ।

मतदाता संख्यालाई हेर्दा यस प्रदेशमा अन्य दलहरु एक भए पनि नेकपाको बहुमत छ। यसर्थ प्रदेश १ मा अन्य दलहरुले जित्ने सम्भावना देखिँदैन।

 

प्रदेश २ को तालमेल

प्रदेश २ मा महिला, अन्य, दलित, अपाङगता/अल्पसंख्यक गरी चार पद रिक्त हुँदैछन्।

नेकपाले महिलातर्फ तुलसाकुमारी दाहाल र दलित तर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ। त्यस्तै नेकपासँग तालमेल गरेको राजपालेअपाङगता/अल्पसंख्यकको कोटामा वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह र अन्यमा अर्का वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंहलाई उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेसबाट महिलातर्फ नागिना कुमारी यादव, अपाङगता/अल्पसंख्यकमा भोला पञ्जियार चुनावी मैदानमा छन्। उता समाजवादी पार्टीबाट दलित कोटामा रामपृत पासवान र अन्य समूहमा अनिरुद्रकुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन्। पासवान हाल पनि राष्ट्रियसभा सदस्य छन्।

सत्तारुढ नेकपाका प्रदेश सदस्य ३२ जना छन्। त्यस्तै स्थानीय तहमा ८३ जना मतदाता छन्। जहाँ नेकपाको मतभार तीन हजार ३० छ। गठबन्धनमा रहेको राजपासँग प्रदेशसभा सदस्य २५ तथा स्थानीय निकायका प्रमुख उपप्रमुखको संख्या ५४ जना छ। मतभार दुई हजार १७२ हुन्छ।

यी दुई दलसँग ५७ प्रदेश सदस्य तथा १३७ स्थानीय तहका प्रमुख उपप्रमुख हुनेछन्। पूर्ण मतभार पाँच हजार २०२ हुन्छ।

त्यस्तै नेपाली कांग्रेससँग १९ प्रदेश सदस्य छन्। स्थानीय तहमा ८१ मतदाता छन्। समाजवादीको प्रदेशसभा सदस्य संख्या ३० छ। स्थानीय तहमा ५२ जना मतदाता रहेका छन्। यी दुई दल मिल्दा प्रदेश सभातर्फ ४९ तथा स्थानीय तहमा १३३ मतदाता छन्। कूल मतभार चार हजार ७४६ हुन्छ।

यहाँ स्वतन्त्र एक प्रदेशसभा सांसद छन्। नेपाली जनता दलसँग दुई स्थानीय निकायका प्रमुख उपप्रमुख छन्। यहाँ पनि नेकपा र राजपाको गठबन्धन कै सम्भावना देखिन्छ। अन्यको मतभार ८४ छ। नेकपा राजपा गठबन्धन र अन्य सबै एकातिर भएको अवस्थामा पनि झिनो मतभारले नेकपा गठबन्धन नै अघि देखिन्छ। नेकपा राजपा गठबन्धन बाहेक अन्य सबै एकातिर भएमा पनि नेकपा ४०८ मतभारले अघि छ।

 

प्रदेश ३ मा नेकपाकै बर्चश्व

प्रदेश ३ मा महिला र अन्य गरी दुई पदका लागि निर्वाचन हुँदैछ।

नेकपाबाट अन्यतर्फ वेदुराम भुसाल र महिलातर्फ गंगा बेलवासे उम्मेद्वार छन्। उता प्रतिपक्षी कांग्रेसबाट अन्यमा हरिशरण श्रेष्ठ र महिलातर्फ छलीकुमारी शर्मा उपाध्यायले उम्मेद्वारी दिएका छन्।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट महिलातर्फ गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गरेका छन्।

प्रदेश ३ मा नेकपाका ८० प्रदेशसभा सदस्य छन्। त्यस्तै स्थानीय तहमा १६६ जना मतदाता छन्। कांग्रेसका २२, राप्रपाका १, विवेकशीलको २, साझाको १, समाजवादी १, नेमकिपा २ र राप्रपा प्रजातान्त्रिकको १ जना गरी यस प्रदेश सभामा ३० सदस्य छन्। प्रदेश ३ मा नेकपाले ठूलो अन्तरले अघि छ। जहाँ पूर्व एमालेकै एकल बहुमत छ।

 

गण्डकीमा पनि नेकपाकै हालीमुहाली

गण्डकी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि निर्वाचन हुँदैछ।

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेकपाले भगवती न्यौपाने र अन्य समूहमा पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

यहाँ नेपाली कांग्रेसका तर्फबाट विमला गौचन र अन्य समूहमा सूर्यप्रसाद रेग्मी उम्मेदवार बनेका छन्।

अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चा पार्टीका शंकरप्रसाद बरालले पनि उम्मेदवारी दर्ता गराएका छन्।

गण्डकीमा नेकपाका ४० जना प्रदेशसभा सदस्य छन्। त्यस्तै नेपाली कांग्रेसबाट १५, जनमोर्चा ३ र समाजवादी २ जना सांसद् छन्।

स्थानीय तहमा नेकपा ८४, कांग्रेस ८१, राप्रपा २, जनमोर्चाका ३ जना छन्। स्थानीय तहमा कांग्रेस र नेकपाको मत झण्डै बराबरी देखिए पनि प्रदेशसभा सदस्य तहको मतभार फरक भएकोले यहाँ पनि नेकपाले नै जित्ने देखिन्छ।

गण्डकीमा नेकपाको मतभार तीन हजार ४३२ छ। कांग्रेसको मतभार दुई हजार १७८ छ।

 

प्रदेश ५ बाट को?

यस प्रदेशमा अन्य, महिला, अपाङ्ग/अल्पसंख्यक गरी तीन पद रिक्त हुँदैछ।

महिला समूहतर्फको रिक्त पदमा नेकपाका विमला घिमिरे र नेपाली कांग्रेसका गिरिजादेवी न्यौपाने चुनावी मैदानमा छन्।

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फको रिक्त पदमा नेकपाका जगप्रसाद शर्मा, कांग्रेसबाट मेराज अहमद हलवाई,  समाजवादी पार्टीका सुनिलकुमार सिंघल उम्मेदवार छन्।

अन्य समूहतर्फको रिक्त पदमा नेकपाका गोपाल भट्टराई,  कांग्रेस पार्टीका बालकृष्ण पाण्डे, समाजवादीका कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेलले उम्मेदवारी दिएका छन्।

यहाँ नेकपाका ६१ प्रदेशसभा सदस्य छन्। स्थानीय तहमा १३१ मतदाता छन्। कूल मतभार पाँच हजार २८६ छ। कांग्रसको मतभार दुई हजार ६४ छ।

कांग्रेसबाट प्रदेशसभामा १९, समाजवादीका ५, राजपाका १ र जनमोर्चाका १ जना छन्। स्थानीय तहमा कांग्रेसका ६४, समाजवादीका १२, जनमोर्चाका ४, स्वतन्त्र ३, राप्रपाका २, तत्कालीन फोरम (लोकतान्त्रिक) का २ जना मतदाता छन्। कांग्रेस र फोरम लोकतान्त्रिकको एकता भइसकेको छ।

 

कर्णाली कसको?

यहाँ अन्य र महिला गरी रिक्त हुन लागेका दुई सदस्य चयन गर्न निर्वाचन हुँदैछ। महिला समूहतर्फको रिक्त पदमा नेकपाकी सुमित्रा वि.सी,  कांग्रेसकी गणेशकुमारी बस्नेत चुनावमा होमिएका छन्।

अन्य समूहतर्फको रिक्त पदमा नेकपाका मायाप्रसाद शर्मा र कांग्रेसका डिल्लीराम पाठक उम्मेदवार बनेका छन्। यहाँ ४४ जना नेकपाबाट प्रदेशसभामा सदस्य छन्। कांग्रेसका ६ र राप्रपाको एक सदस्य छन्।

स्थानीय तहतर्फ नेकपाका ११० र कांग्रेसका ४० मतदाता छन्। राप्रपाका २ र स्वतन्त्रका ६ जना छन्।

कर्णालीमा नेकपाको मतभार चार हजार ९२ छ। कांग्रेससहित अन्य सबैको मतभार दुई हजार ५९२ मतभार छ। नेकपाको मतान्तर फराकिलो छ।

 

सुदूरपश्चिममा नेकपाकै पकड

यहाँ महिला र अन्यका लागि निर्वाचन हुँदैछ। महिलातर्फ नेकपाले शारदा देवी भट्ट र कांग्रेसले तुलसी देवकोटालाई उम्मेदवार बनाएको छ।

अन्यबाट नेकपाका तारामान स्वाँर र कांग्रेसकाक प्रतापसिंह ठगुन्नाले उम्मेदवारी दिएका छन्।

सुदूरपश्चिममाको प्रदेशसभामा नेकपाका ३९ सदस्य छन्। कांग्रेसका १२ र राजपाका २ सदस्य छन्। स्थानीय तहमा नेकपाका १०२, कांग्रेसका ७२ र तत्कालीन फोरम लोकतान्त्रिकको २ मतदाता छन्।

सुदूरपश्चिममा नेकपाको मतभार तीन हजार ७०८ छ। कांग्रेसको मतभार (फोरम लोकतान्त्रिक समेत) एक हजार ९०८ र राजपाको मतभार ९६ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell