PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

कर्णालीका पाँच हजार युवाले यसै वर्ष रोजगारी पाउने



रासस

सुर्खेत : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन्। सिटिइभिटीका आंगिक, साझेदारी संघसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालिमबाट ती युवाले रोजगारी पाउने भएका हुन्।

सिटिइभिटी कर्णाली प्रदेश कार्यालयले सोमवार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ। कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सिटिइभिटीले सञ्चालन गर्ने कार्यक्रम पारदर्शी हुनुपर्ने बताए।

'सिटिइभिटीले राज्यको लगानीलाई दुरुपयोग हुन नदिन प्रभावकारी अनुगमन संयन्त्रको विकास गर्नुपर्छ, गरीब र न्यून आयस्रोत भएका व्यक्तिका लागि यसका कार्यक्रम उपयोगी छन्', उनले भने, 'तर, बिचौलियाले कार्यक्रम लिएर झारा टार्ने, बजेट सक्ने काम भएको गुनासो पनि सुनिने गरेको छ, अब सिटिइभिटीले यसतर्फ ध्यान दिनुपर्छ।'

सिटिइभिटीका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

'चालू आवमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौँ,' उनले भने।

कार्यक्रममा प्रदेशअन्तर्गतका सिटिइभिटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell