- सुमित मिश्र-
धनुषा : कत्तिक १७ गते छठका दिन झुण्डिएर आत्महत्या गर्ने व्यक्तिलाई जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अत्याधिक रक्सी सेवन गर्ने लक्ष्मीनिया गाउँपालिका-३ बनिगा बस्ने विश्वनाथ महरा आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेपछि जलाएको आरोपमा प्रहरीले उनका छिमेकीलाई पक्राउ गरेको हो।
कानुनी प्रावधान अनुसार प्रहरीलाई खबर गर्नुपर्ने भए पनि खबर नगरी मृतक महरालाई जलाएको आरोपमा जगेश्वर महरालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ।
महरालाई सोमवार दिनको १ बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए। प्रहरी निरीक्षक नायकका अनुसार मृतक महराले आफ्नै घरको सुत्ने कोठामा गम्छामा पासो लगाई आत्महत्या गरेका थिए।
राति करिब १ बजे झुण्डिएर आत्महत्या गरेका विश्वनाथलाई उनका छिमेकि महराले राति नै जलाएका थिए।
मृतकको शवलाई राति नै जलाएपनि गत कात्तिक १८ गते बिहान प्रहरीलाई खबर हुनासाथ प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा छिमेकीले जलाएको पत्ता लागेको थियो। सोही अनुसन्धानको आधारमा फरार प्रतिवादीहरुको खोजी कार्य भइरहँदा करिब २ महिनापछि महरा पक्राउ परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।