PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

सभामुखमा 'लबिङ' गरिरहेका सापकोटासँग प्रचण्ड सुटुक्क सिन्धुपाल्चोकमा : सचिवालयको दाबी, 'रिफ्रेसका लागि जनताको घरमा'



कुञ्जरमणि भट्टराई

सभामुखमा 'लबिङ' गरिरहेका सापकोटासँग प्रचण्ड सुटुक्क सिन्धुपाल्चोकमा : सचिवालयको दाबी, 'रिफ्रेसका लागि जनताको घरमा'
फोटो : विष्णु लामा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार बेलुकी 'रिफ्रेस' हुनका लागि भन्दै सुटुक्क सिन्धुपाल्चोक पुगे।

सभामुखमा लबिङ गरिरहेका सिन्धुपाल्चोकका सांसद एवं पूर्वमन्त्री अग्नि सापकोटालाई साथमा लिएर प्रचण्ड उनकै जिल्लामा पुगेका हुन्।

प्रचण्डलाई एक कार्यकर्ताको घरमा बासको बन्दोबस्ती मिलाएर सापकोटाले रात बिताएका थिए।

सापकोटाको आफ्नै क्षेत्रमा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ स्थित कदमवासमा रात बिताएर प्रचण्ड बिहानै राजधानी फर्किसकेका छन्। सुरक्षादस्तासहित प्रचण्डको बास वलराम गिरीको घरमा भएको स्थानीयले बताए।

रिसोर्टमा बासको तयारी!

प्रचण्ड जिल्ला आउने थाह पाउनसाथ केही नेता कार्याकर्ताले भने रिसोर्टमा बस्नका लागि अनुरोध गरेका थिए। तर, प्रचण्डले भने जनतामाझ सामान्य जीवनको सन्देश प्रवाह गर्न सामान्य कार्यकर्ताको घर रोजे।

पर्यटन वर्ष २०२० को प्रारम्भ भएको र कदमबास पर्यटकीय क्षेत्र पनि भएकाले प्रचण्डको रोजाइ यो ठाउँ हुनसक्ने अनुमान स्थानीय नेताले गरेका थिए। 

नेताहरु लक्जरी हुँदै गएको भन्ने आरोप चर्को रुपमा लाग्न थालेकोले प्रचण्डले जनताको घरमा बस्ने इच्छा देखाएको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष विष्णु लामाले बताए।

'साथीहरुले रिसोर्टमा बस्ने कि भन्ने प्रस्ताव गर्नुभएको रहेछ। तर, अध्यक्षले नेताहरु लक्जरी हुँदै गए। जनताको घरमा बस्छु भनेपछि एक कार्यकर्ताहको घरमा बस्नुभएको हो' उनले भने।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्ड 'जनताको घरमा बस्नुपर्छ' भन्दै सिन्धुपाल्चोक पुगेका हुन्।

उनले भने, 'उहाँ कुनै राजनीतिक कार्यक्रमका लागि होइन। जनताको घरमा बस्नका लागि त्यहाँ जानुभएको हो।'

प्रचण्ड आराम गर्न आएकाले सोमबार बेलुकी खासै कार्यक्रम नराखिएको स्थानीय नेता कार्यकार्ताले बताए। साँझ पुगेका प्रचण्डले केही व्यक्तिहरुसँग मात्र भेटेका थिए।

यस्तो थियो कदमबासमा प्रचण्डको मेनु

अध्यक्ष प्रचण्ड र सांसद अग्नि सापकोटाको साँझको खानमा ढिँडो र मासुको व्यवस्था गरिएको वडाध्यक्ष लामाले बताए। चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ का वडाध्यक्ष लामाले भने,'नेपाली खाना खानुभयो। ढिडो र मासु, साग थियो।'

बुधवार बिहान भने प्रचण्डले साँगागढीचोक नगरपालिकाका मेयर, वडाअध्यक्ष, स्थानीय नेताहरुसँग भेटघाट गरेका थिए।

प्रचण्डले स्थानीय जनप्रतिनिधिसँग त्यहाँ भइरहेका विकासका गतिविधिबारे पनि जानकारी लिएका थिए।

साथै उनले स्थानीयहरुका त्यहाँ भइरहेका काम र समस्याबारेमा प्रश्न गरेको वडा अध्यक्ष लामाले जानकारी दिए।

प्रचण्ड यसअघि रिफ्रेस हुनकै  लागि भनेर सिन्धुपाल्चोकको सुकुटेमा बेलाबेला पुग्ने गरेका थिए।

प्रचण्ड त्यहाँबाट बिहान ७:३० बजे काठमाडौं फर्किएका हुन्। प्रचण्डले सोमबारमात्र प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

कदमबासबाट बिहानै निस्केका प्रचण्ड यतिबेला प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिरहेका छन्।

यतिबेला नेकपा सभामुखबारे अनिर्णित छ। प्रचण्डले सभामुखका लागि अघि सारेका सापकोटालाई साथमा लिएर सिन्धुपाल्चोक पुग्नु र फर्कनेबित्तिकै प्रधानमन्त्री ओलीलाई भेट्नुलाई कतिपयले चासोका साथ हेरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell