PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सिन्धुपाल्चोक ६ किलो बस दुर्घटनाका कारण : चालकसँग कतारको लाइसेन्स! सडकको अवस्था जोखिमपूर्ण



दिनेश खड्का

सिन्धुपाल्चोक ६ किलो बस दुर्घटनाका कारण : चालकसँग कतारको लाइसेन्स! सडकको अवस्था जोखिमपूर्ण

काठमाडौं : सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटना चालकको कमजोरी र सडकको अवस्थाका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगगन कार्यालयका इन्जिनियर राजेन्द्रराज शर्माको संयोजनमा गठन भएको समितिले उक्त निष्कर्ष निकालेको हो।

सोमबार समितिले प्रतिवेदन भौतिक मन्त्रालयमा बुझाएको छ। सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकखण्डमा पर्ने ६ किलोमा गत मंसिर २९ गते बा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटना हुँदा १६ जनाले मृत्यु भएको थियो भने १८ जना घाईते भएका थिए।

शर्माको संयोजकत्वमा मंसिर ३० गते बनेको समितिलाई सात दिनको म्याद तोकिएको थियो। समितिमा गृह मन्त्रालय, ट्राफिक प्रहरी, सडक तथा ट्राफिक शाखा सडक विभाग, सिनियर डिभिजन इन्जिनियर भेहिकल फिट्नेस टेस्टिङ सेन्टर, सडक तथा ट्राफिक शाखाका प्रतिनिधी सदस्य र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इन्जिनियर सलिन शाक्य सदस्यसचिव थिए। जसमा आमन्त्रीत सदस्यका रुपमा इन्जिनियर अशोक पौडेल सहित ८ सदस्यीय समिति बनेको थियो।

सडकको अवस्था जाखिमपूर्ण
 

५.५ मिटर चौडाइमा डिजाइन गरिएको सडक निकै जोखिमपूर्ण पाइएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, 'दुर्घटना भएको स्थानको अगाडि र पछाडि सडक कालोपत्रे गरिएको तर मोडमा अझै पनि काम गर्न बाँकी नै रहेको कच्ची अग्लो होचो सतह रहेको पाइयो। उक्त स्थानको मोडमा सडकको भिरालोपन भएता पनि अगाडि र पछाडि करीब ७% भएको पाइयो। मोडको भागमा सडकको केन्द्र रेखाको रेडियस अत्यन्त न्यून अर्थात ७ मिटर मात्र पाइयो। सडकमा कुनै पनि ट्राफिक संकेतहरु एवं मोडमा सुरक्षा ब्यारियरहरु समेत नरहेकोले अत्यन्त जाखिमपूर्ण परिस्थिति रहेको पाइयो।'

सडकमा ट्राफिक संकेतहरुको अभाव, दुर्घटना भएको घुम्तीमा पिच उप्किएको अवस्था, तिखो कर्भेचर अर्थात कम अर्धव्यासको घुम्तीका कारण चालकले सोचे अनुसार सवारीमा नियन्त्रणमा राख्न नसकेको प्रतिवेदनमा उल्लेख छ।

सडक निर्माणाधीन रहेकाले जोखिम यथावत रहेकोले ज्यामितिय स्ट्याण्डर्ड र डिजाइन अनुसार हालसम्म काम नभएको बताइएको छ।

 

चालकसँग कतारको लाइसेन्स!

बसका चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा १० का चिपबहादुर तामाङले हालसम्म चालक अनुमतिपत्र नवीकरण नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। भनिएको छ, 'चालकले बिसं २०६० पुस १५ गते दश वर्ष (२०७० साल पुस १७ गते सम्म) को लागि नेपालमा चालक लाइसेन्स लिएको तत्पश्चात् उक्त अनुमतिपत्र नविकरण गरेको देखिएन। चालकले ई.सं. २००९ मे २६ देखि २०१४ मे २५ सम्मको लागि कतारको चालक अनुमतिपत्र लिएको देखिन्छ।'

दुर्घटना लगत्तै फरार चिपबहादुरलाई ३ दिनपछि प्रहरीले पक्राउ गरेको थियो। सोधपुछका क्रममा चालकले साँघुरो र तिखो घुम्तीमा बसको ब्रेकको हावाले काम नगरेको र बसको स्टेरिङ मोड्न नसकेर बस खसेको समितिलाई बताएका थिए।

त्यसै गरी उनले ब्रेक फेलसमेत भएको बताएका थिए। दुर्घटनालगत्तै चिपबहादुर फरार भएकाले छानबिन समितिले पहाडी बाटो पहिलोपटक गएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ। प्रतिवेदनमा भनिएको छ, 'चालकले आफू लामो समयदेखि उपत्यकामा बस चलाएको बताए पनि पहाडी क्षेत्रमा भने अनुभव नरहेको र सो मार्ग आफ्नो लागि पहिलो रहेको बताएका थिए। तर उहाँको भनाईमा स्पष्टता नभई लरबरता रहेको र बसको ब्रेक एक्कासी फेल हुनुको प्राविधिक र यान्त्रिक पुष्ट्याईं दिन सक्नु भएन। आफु १६ वर्षको अनुभवी रहेको दावी गरे पनि पहाडी भू-भागको ड्राइभींगको अनुभव नरहेको स्वीकारोक्ती पाइयो।'

चालकमा पर्याप्त अनुभव वा सावधानीको कमी वा चालकको लापारबाही रहेको प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell