PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने दौडधुपमा नेकपा, 'साझा धारणा बनाउन प्रदेश मन्त्रीदेखि सांसद काठमाडौंमा' 



कुञ्जरमणि भट्टराई

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने दौडधुपमा नेकपा, 'साझा धारणा बनाउन प्रदेश मन्त्रीदेखि सांसद काठमाडौंमा' 

काठमाडौं : प्रदेश ३ को नाम र राजधानीको विषय यतिबेला चर्चामा छ। यहि विषयमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र मतभेद झाँगिरहेको छ। प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने पार्टी सचिवालयको निर्णय अमान्य भएको भन्दै सत्तारुढ सांसदहरु नै असन्तुष्ट छन्।

पार्टीमा मतभेद देखिएपछि हल खोज्नका लागि नेकपा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितको एक टोलीले नेतृत्वसँग काठमाडौं आएको थियो। सचिवालयको निर्णय नमान्ने केही सत्तारुढ सांसदहरुको चेतावनबीच शाक्यसहित सचेतक रामेश्वर फुँयाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, पशुपति चौलागाईलगायतको टोलीले आज शीर्ष नेतृत्वसँग छलफल गर्‍यो। नेताहरु छलफल भइरहँदा प्रदेश सभाको बैठक अनिश्चित बनिरहेको छ।

टोलीले प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल प्रचण्ड र महासचिव विष्णु पौडेलसँग भेट गरेको हो।

छलफलका क्रममा प्रदेश तर्फबाट आएको टोलीले सांसदहरुको राय र सचिवालयले गरेको निर्णयका बारेमा ब्रिफिङ गरेका थिए। नेतृत्वले भने प्रदेशको नाम र राजधानीका विषयमा पार्टीभित्र साझा धारणा बनाउन निर्देशन दिएको बताइएको छ।

राजधानी प्रदेशका सबैका लागि सहजता हुनुपर्ने ठाउँमा चाहिने भएकाले विभिन्न हिसावले हेटौडा उपयुक्त हुने भन्दै सचिवालयले यसमै सबै सांसदहरुलाई एकमत बनाउन निर्देशन दिएको हो।

छलफलमा सहभागी मन्त्री दुलालले प्रदेशको नाम र राजधानीका विषयमा साझा धारणा बनाएर अघि बढ्न नेतृत्वले सुझाएको पुष्टि गरे।

पार्टीको आधिकारिक धारणा सबैले मान्नुपर्ने भन्दै उनले भने, 'नेतृत्वले राजधानी र नामका विषयमा धारणा बनाएको छ। पार्टी धारणाअनुसार नै सबै अघि बढ्नुपर्छ।'

यता, प्रदेश सांसदहरु राजधानी र नामको विषयमा नेतृत्वले हस्ताक्षेप गर्न नहुने बताउँदै आएका छन्। नेतृत्वले ह्विप जारी गरे पनि केही सांसदहरुले फ्लोर क्रस गर्ने चेतावनी दिइरहेका छन्। पूर्व माओवादीबाट केही सांसदहरु प्रदेशको नाम 'नेवा: ताम्सालिङ' राख्नुपर्ने पक्षमा छन भने उपत्यकाका सांसदरु प्रदेशको नाम 'नेपालमण्डल' राख्नुपर्ने अडानमा छन।

अधिकांश सांसदहरुमा नामको विषयमा भन्दा पनि राजधानीको विषयमा नेतृत्वसँग असन्तुष्ट छन्। भौगोलिक दृष्टिले हेटौडा पायक नपर्ने भन्दै उनीहरु विरोधमा उत्रेका हुन्।

यता, सांसदहरुको चेतावनीबीच पुस १३ गते बसेको केन्द्रीय सचिवालय बैठकको निर्णय नै लागू गर्न आज प्रदेश नेतृत्वलाई केन्द्रले पुन : निर्देशन दिइएको बुझिएको छ।

सोमबार बसेको संसद बैठकमा संसदको नामाकारण प्रस्ताव पेश भएको थियो। नामाकरणको प्रस्ताव पारित समेत भएको छ। अर्को संसद बैठक बुधवार बस्दैछ।

अब बस्ने  संसद बैठकमा प्रदेशको नाम र राजधानीको प्रक्रिया अघि बढ्ने एक सांसदले बताए। यस अघि संसदमा 'नेवा: ताम्सालिङ, पशुपति र नेपालमण्डल' नाम मात्रै प्रस्ताव भएको हुँदा यदि सचिवालयले निर्देशन दिइए झै 'वाग्मती' का लागि नेकपाले उक्त नाम प्रस्ताव गर्नुपर्नेछ।

नेकपाको प्रदेश ३ को संसदीय दलको बैठक बिहिवारका लागि डाकिएको छ। उक्त छलफलमा आज नेतृत्वले दिएको निर्देशनका बारेमा प्रदेश सांसदहरुलाई ब्रिफिङ गर्ने तयारी भइरहेको छ।

संसदीय दलमा पार्टी र राजधानीको विषयमा एकमत बनाउनुपर्ने र भोटिङ हुन नहुने पक्षमा रहेको उद्योग पर्यटन तथा वन वातावरणमन्त्री अरुण नेपालले बताए। यद्यपि, प्रक्रिया बाहिरबाट निर्णय गरिए विपक्षी दलहरु विरोध गर्ने तयारीमा छन्।

नेपालले भने, 'नाम र राजधानीको विषय जनताको चासोको विषय हो। पार्टीको संसदीय दलको बैठकमा विभिन्न नामहरु उठिरहेका छन्। बिहिवार बस्ने संसदीय दलको बैठकमा नाम र राजधानीबारे निष्कर्ष आउन सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell