PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सोलेमानीको मृत्युको बदला : इराकमा रहेको अमेरिकी सैन्य क्याम्पमा इरानद्वारा मिसाइल प्रहार



सोलेमानीको मृत्युको बदला : इराकमा रहेको अमेरिकी सैन्य क्याम्पमा इरानद्वारा मिसाइल प्रहार
फोटो : CNES/SPOT IMAGE

इराकमा अमेरिकी सैनिक रहँदै आएको अल असद एयर बेसमा इरानले हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले इराकमा रहेको दुई वटा सैनिक क्याम्पमा १२ भन्दा धेरै मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ। आक्रमणमा भएको क्षतिबारे कुनै सूचना सार्वजनिक गरिएको छैन। 

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सैन्य क्याम्पमा आक्रमणको क्षतिको आकलन भइरहेको बताएका छन्। चेतावनीयुक्त भाषामा ट्वीट लेख्दै ट्रम्पले अमेरिकासँग शक्तिशाली र हातहतियारले सुसज्जित सेना रहेको पनि उल्खेख गरेका छन्। 

इरानको सरकारी टेलिभिजनमार्फत पहिलोपटक आक्रमणको समाचार प्रसारण भएको थियो। इरानले अमेरिकाको साथ दिएर आफूविरुद्ध उभिने कुनै पनि राष्ट्रमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

शुक्रबार इराकमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएको थियो। इरानले त्यस लगत्तै कस्सिमको 'हत्या' को बदला लिने घोषणा गरेको थियो।

इरानी संसदले अमेरिकी सेना र पेन्टागनलाई आतंककारी समूह घोषणा गरेकै दिन इरानले अमेरिकी क्याम्पमा हवाई आक्रमण गरेर बदला लिएको हो।

इरानी सेना अन्तर्गतको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' ले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ। अमेरिकी हवाई कारवाहीमा मारिएका कस्सिम यही कर्प अन्तर्गतका कुड्स फोर्समा प्रमुख थिए।

यता, ट्रम्पले इरानले आफ्ना नागरिक वा अमेरिकी सम्पत्तिमाथि आक्रमण गरे त्यस लगत्तै इरानका ५२ स्थानलाई ध्वस्त बनाउने प्रतिक्रिया दिएका थिए। 

'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' ले अमेरिकालाई मध्यपूर्व क्षेत्रबाट आफ्नो सैनिक फिर्ता लग्न चेतावनी समेत दिएको छ। इराकमा करिब ५ हजार अमेरिकी सैनिक छन्। तर, अमेरिकाले सुरक्षा चुनौती बढेको भन्दै थप ३ हजार सेना मध्यपूर्वी क्षेत्रमा पठाउँदैछ। अमेरिकी मिसाइल, युद्धपोत र पानीजहाज पहिलेदेखि नै मध्यपूर्वमा तयार अवस्थामा छन्।

अमेरिका र इरानबीच बढ्दै गएको तनावले मध्यपूर्वमा युद्धको खतरा सिर्जना भएको छ। यसैबीच आक्रमणपछि नाटो र क्यानडाले इराकमा रहेका आफ्ना सैनिकलाई अन्य स्थानमा सार्ने घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell