
'नर्भस नायन्टी' यो टर्मिनोलोजी खासमा क्रिकेटको हो। जब ९० भन्दा बढी रन बन्छ, ब्याट्सम्यानलाई सेन्चुरी अर्थात १०० रन बनाउन दबाब र महत्वकांक्षा बढेर जान्छ। सेन्चुरी बनाउनु ब्याट्सम्यानका लागि त महत्वपूर्ण हुन्छ नै यसले टिमको जितलाई पनि धेरै हदसम्म प्रभावित पार्ने गर्छ।
स्टिभ वाग, सचिन तेन्दुलकर र राहुल द्रविडजस्ता चर्चित क्रिकेटरसमेत टेस्ट क्रिकेट करिअरमा १०/१० पटक नर्भस नायन्टीको सिकार भएका थिए। ९० बाट १०० रन बनाउन क्रिकेहटरुमा कति प्रेसर सिर्जना हुन्छ भन्ने यसबाट प्रस्ट हुन्छ।
तर, यहाँ क्रिकेटमा हुने नर्भस ९० को प्रसंगभन्दा फरक विधाको चर्चा हुँदैछ।
कुरा हो जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको।
जर्सी नम्बर ९। सन्तोष साहुखल। च्यासल युथ क्लबका कप्तान।
साहुखलले जारी सिजनमा ३ गोल गरे। यससँगै उनका समर्थकहरुको अपेक्षा ह्वात्तै बढ्यो। कारण उनले शहीद स्मारक लिगमा ९९ गोल गरे। सेन्चुरीम्यान बन्न मात्रै एक गोलको दुरी।
नेपाली लिगमा एउटा इतिहास बनाउन तयार छन् उनी। कुनै समय नेपाली राष्ट्रिय टोलीको जर्सीमा उत्रने सन्तोष नेपाली लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बन्ने बाटोमा छन्।
त्यही बाटो हुँदै आफ्नो लक्ष्य हासिल गर्न उनी लिगमा आक्रामक देखिए। सुरुका २ खेलमा ३ गोल गरे उनले।
गोल पुग्यो ९९ - पुर्याउनु थियो १००। अपेक्षा बढ्दै थियो तर त्यसपछिका २ खेलमा सन्तोषले गोल गर्न सकेका छैनन्।
उनको खेललाई देख्दा लाग्छ कुनै क्रिकेटर सेन्चुरी बनाउन आतुर छ तर नर्भस ९० बाट गुज्रिरहेको छ। हुन त विपक्षी खेलाडीले उनलाई 'मार्क' गरेका छन्। प्रेसर थप बढ्दैछ।
२०६० सालमा थ्री स्टारबाट लिगमा डेब्यू गरेका उनले आफ्नो पहिलो लिगमै ६ गोल गरेका थिए। २०६१ सालमा एपिएफ पुगेका उनले लिगमा ६ गोल नै गरे।
२०६२ मा साहुखल फेरि थ्रीस्टार नै फर्किए। त्यो सिजन उनले गोल संख्या बढाए। थ्रीस्टारका लागि ९ गोल गरे। ६३ सालमा अझै गोल संख्या बढाउँदै ११ गोल पुर्याए।
त्यस्तै २०६६/०६७ सालमा भएको खेलमा साहुखल करिअरकै उत्कृष्ट फर्ममा देखिए। विपक्षीको पोस्टमा १९ गोल गरे।
वर्षै पिच्छे गोल गर्ने आफ्नो गतिलाई बढाउँदै लग्दा उनी २०६८ सालमा मनाङ मर्स्याङदी क्लबमा पुगे। सो वर्ष भएको खेलमा उनले कूल १६ गोल गरे। फेरि अर्को सिजन फर्किए थ्री स्टारमै। २०६९ मा १७ गोल गरेका उनले २०७० मा थ्री स्टारबाट ९ गोल गरे।
त्यसपछि लामो समय लिग रोकियो। साहुखल यसबीच जापान पुगे। जीविकोपार्जनका लागि जापानमा पनि फुटबलसँगै जोडिए।
अहिले उनी नेपाल त आउँछन् तर छुट्टीमा। देशकै भूमिमा लिग खेल्न।
२०७५ सालमा उनी च्यासलमा आबद्ध भए। लिगभरिमा ३ गोल गरे। जारी सिजन पनि पहिलो खेलमा च्यासलको कप्तानी गर्दै सन्तोषले पहिलो खेलमा बलियो मानिएको मछिन्द्रविरुद्ध गोल गर्दै खेल बराबरीमा रोक्न सफल भए।
त्यस्तै दोस्रो खेलमा पुरानो अपोनेन्ट संकटाविरुद्ध २ गोल गरे। यससँगै उनको गोल संख्या ९९ पुगेको थियो।
पछिल्ला २ खेलमा शून्यमा मैदानबाट बाहिरिँदा पनि सन्तोषले हार मानेका छैनन।
शतकभन्दा पनि अझ धेरै स्कोर गर्न चाहेको उनी बताउँछन्। भन्छन्,' मेरो लक्ष्य १०० गोल पुर्याउनुभन्दा पनि लिग अवधिमा १५/१६ भन्दा धेरै गोल गर्नु हो।'
पछिल्लो समय जापानमा बस्दै आएका साहुखलले दाईसँग फुटबल सिकेका थिए। संयोग, दाई अहिले च्यासलका प्रशिक्षक छन् र उनी कप्तान। खेल आज दिउँसो ३ बजे सुरु हुनेछ।
आज सन्तोषलाई इतिहास बनाउने मौका छ। च्यासलले आज नेपाल पुलिस क्लबसँग खेल खेल्दैछ।
पछिल्ला जितहरुबाट उत्साहित नेपाल पुलिस पनि फर्ममा देखिन्छ। पुलिसका भोला सिलवाल लिग लिड गरिरहेका टिमहरुको पनि अंक आफ्नो टिमको भन्दा धेरै माथि नरहेकाले पुनरागमनको सम्भावना अझै रहेको बताउँछन्। उनको स्पष्ट संकेत च्यासललाई हराउँदै अंक तालिकामा माथि उक्लिने भन्ने नै हो। पाँचौँ चरणमा शीर्ष दुई टोली मनाङ र मछिन्द्र क्लबले अंक बाँडेसँगै लिगको अंकतालिकमा 'ग्याप' घटेको छ।
'हामी स्पष्ट ३ अंकका लागि खेल्ने हौँ। अहिलेको लिगमा कुनै पनि टिम कमजोर छैन। प्रतिद्वन्दी टिम हेरेर त्यही अनुरुपको रणनीति बनाएर खेल्छौँ। हाम्रो लक्ष्य जित निकाल्दै माथि उक्लिनु नै हो,' सिलवालले भने।
अंक तालिकामा अघि रहेको पुलिसलाई हराउन च्यासललाई सजिलो भने छैन। प्रहरीको विजयलाई रोक्दै सन्तोषलाई इतिहास बनाउन गोल चाहिएको छ। दशरथ रंगशालाका प्यारापिटमा रहने दर्शक र ड्रेसिङ रुपमा रहेका सबैको नजर आज सन्तोषमा नै हुनेछ।