PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अब्दुलाह मृत्यु प्रकरणमा परिवारको प्रश्न : साढे ३ फिट पानीमा साढे ५ फिटको बच्चा कसरी डुब्छ?



राधेश्याम पटेल

अब्दुलाह मृत्यु प्रकरणमा परिवारको प्रश्न : साढे ३ फिट पानीमा साढे ५ फिटको बच्चा कसरी डुब्छ?
मृतक बालकका बुवा मोहम्मद गनी अन्सारी।

वीरगंज : पर्साको पोखरीया नगरपालिका वडा नम्बर ५ सतवरीयका १४ वर्षीय बालक मेराज भनिने अब्दुलाह अन्सारीको शंकास्पद मृत्युको घटनामा परिवारजनले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन्।

घटना भएको साढे दुई महिना बितिसक्दा पनि घटनाको सत्य तथ्य बारे प्रहरी अनभिज्ञ रहेको अन्सारी परिवारको आरोप छ। मृतक बालकका बुवा मोहम्मद गनी अन्सारीले छोराको मृत्यु पोखरीमा डुबेर नभइ हत्या गरिएको आरोप लगाएका छन्।

उनले साढे ३ फिट पानी जमेको पोखरीमा साढे ५ फिट अग्लो बालकको मृत्यु कसरी हुन्छ भनी प्रश्न तेर्स्याएका छन्।

उनले भने, ‘घटनालाई प्रहरीले पोखरीको पानीमा डुबेर मृत्यु भएको चित्रण गरेको छ, तर सहजै डुबेर नै मृत्यु भएको हो भनी विश्वास गर्ने अधार कमजोर छ।’

गत असोज १९ गते साढे १२ बजे बेपत्ता भएका छोरा अब्दुल्लाहको शव असोज २० गते साँझ साढे ५ बजे सतवरीय गाउँकै जवाहिर साहको पोखरीको डिल नजिकै पानीमा टाउको दबिएको अवस्थामा फेला परेको उनले जानकारी दिए। बालकको पेटमा पोखरीको पानी नभएको बुबा मोहम्मदले बताए।

‘हत्या नै गरेर फालिएको हो भन्ने आधार कुन रुपमा छ भने बालकको नाकबाट रगत बगेको थियो भने उसको दाहिने आँखाको माथिल्लो भागमा सेतो दाग देखिएको थियो,’ मोहम्मदले भने।

नारायणी अस्पतालका चिकित्सकहरुको मेडिकल रिपोर्टमा पनि उसको मृत्युको रहस्य भेटिएको छैन। त्यसैगरी शव फेला परेको एक महिनापछि बच्चाको हाफ प्यान्ट र गन्जी पोखरी नजिकै खरबारीबाट मंसिर ९ गते फेला परेको थियो। त्यस कारण डुब्ने बच्चाको कपडा उसको शरीरसँगै हुनुपर्छ भन्ने परिवारको तर्क छ। पर्सा प्रहरी तथा प्रमुख जिल्ला अधिकारीले भने बालकको मृत्यु डुबेर नै भएको बताउने गरेको पीडित परिवारको भनाइ छ। सही छानविन गरी सत्य बाहिर ल्याउन प्रहरी प्रशासन समक्ष परिवारले माग गरेका छन्।

यस विषयमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग बुझ्दा घटनाको अनुसन्धान भइरहेको बताए।

‘प्रहरीले गरिरहेको अनुसन्धानमा पोस्टमार्टम रिपोर्ट विशेष आधार हुन्छ, जसमा चिकित्सकले बच्चाको मृत्यु डुबेर भएको आइसकेको छ,’ प्रहरी उपरीक्षक राठौरले भने, ‘दुई तीन सवालको प्रहरीले खोजी गरिरहेको छ, बच्चा डुबेर मरेपछि उसको कपडा २ महिनापछि अन्तैबाट फेला परेको र अर्को उसँग कोही नुहाउन गएका थिए या थिएनन्। परिवारजनको लजिक ठिक छ, ३ फिट पानीमा साढे ५ फिटको बच्चा कसरी डुब्यो भनेर तर प्रहरीले पछि पोखरीको पानी नाप्दा पानीको गहिराई विभिन्न ठाउँ अनुसार फरक छ।’

तर बच्चाको शव फेला परेको ठाउँमा पानी ३ फिट मात्र रहेको उनले स्वीकार गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell