PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

बुढानीलकण्ठ कार दुर्घटना बारे बोलिन् पारमीता राणा : त्यो तीतो सत्यले मलाई पलपल मारिरहेछ



पहिलोपोस्ट

बुढानीलकण्ठ कार दुर्घटना बारे बोलिन् पारमीता राणा : त्यो तीतो सत्यले मलाई पलपल मारिरहेछ

१४ डिसेम्बर २०१९, शनिबार बिहान। चार व्यक्तिको गैर जिम्मेवार हर्कतले एक निर्दोष व्यक्तिको ज्यान लियो।

बुढानीलकण्ठ नगरपालिको बसपार्क नजिकै कारले ठक्कर दिँदा गोरखाकी लीला देवकोटाको इहलीला समाप्त भयो। बा १४ च ६१२३ नम्बरको कार चलाएका थिए, पृथ्वी मल्लले। घटना हुनु चार दिन अघिमात्र अमेरिकाबाट नेपाल आएका भनिएका मल्ल पक्राउ परे। उनले रक्सी खाएर सवारी हाँकेका थिए। तर, उनीसँग गाडीमै सवार अन्य तीनजनाबारे भने कुनै खबर सार्वजनिक भएन।

घटनाले आम मानिसको ध्यान खिच्यो। सामाजिक सञ्‍जालमा दु:खद् दुर्घटनाको खबरले मिडियामा ठाउँ नपाउनुदेखि दोषीलाई समयकै कारवाही नहुनुविरुद्धका प्रतिक्रियाहरु पोस्ट भए।

केही दिन पछि भने उक्त गाडीमा अभिनेत्री पारमीता राणा पनि रहेको चर्चा चल्यो। चर्चालाई पुष्टि गरेको थियो- राणाले घटना हुनुभन्दा अघिल्लो रात पृथ्वीसहित अन्य दुईजनासँग खिचाएको तस्विरले। 

सामाजिक सञ्जालमा चर्चा चलिरह्यो। राणालाई प्रश्न सोधिनेक्रम पनि बढिरह्यो। तर, उनी मौन नै रहिन्। हो पनि भनिनन् र होइन पनि। बरु उनीसँग प्रश्न गर्नेहरुलाई इन्टस्टाग्राममा ब्लक गर्न थालिन्। त्यति मात्र होइन, उनले त आफ्नो पब्लिक अकाउन्टलाई प्राइभेट समेत गरेकी थिइन्, त्यस घटनापछि।

यसैबीच, मोडल तथा मेकअप आर्टिस्ट स्वस्तिका राजभण्डारीले इन्स्टाग्राम स्टोरीमा एक भिडियो सार्वजनिक गरिन्। जसमा राणाले घटनाको बखान गर्दै थिइन्।

उक्त स्टोरी राजभण्डारीले केही बेरमै प्रोफाइलबाट हटाइन्।

त्यसपछि पनि पारमीता चुप रहिन्। पब्लिक फिगर भए पनि घटनाबारे मौन रहनुका कारण उनको आलोचना भइ नै रह्‍यो।

घटनामा पारमीताको संलग्नता बारे प्रश्न गर्दा उनीबारे प्रहरीलाई कुनै पनि जानकारी नहरेको बताइएको थियो। महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी उमेश लम्सालले पहिलोपोस्टसँग भनेका थिए, 'राणासँग हाम्रो कुनै किसिमको सम्पर्क भएको छैन। चालकलाई नियन्त्रणमा लिएका छौं। र आवश्यक कारवाही गर्छौं।'

हाल उक्‍त घटना अनुसन्धानपछि अदालतमा पुगेको छ।

अन्तत: पारमीता स्वयंले बुधवार बिहान उक्त दुर्घटनाको बेलिबिस्तार लगाइन्- फेसबुक पोस्टमार्फत्, माफी माग्दै। 

उनले उक्त कारमा आफूपनि सवार रहेको स्वीकारेकी छिन्।

लेखेकी छिन्- 'निकै ढिला भयो तर मैले साहस जुटाएर यो सबै भनिरहेकी छु। त्यस घटनापछि म स्तब्ध छु जसका कारण मेरो दैनिकी फेरियो। हरेक बिहान भारी हृदय लिएर बिउँझन्छु। मभित्र कति चिन्ता र प्रायश्चित छ भन्ने कुरा भगवानलाई मात्र थाहा छ।'  

पारमीताले लेखेको भावुक स्टाटसमा कार दुर्घटनामै परेर बितेका आफ्ना बुबालाई पनि सम्झिएकी छिन्। भनेकी छिन्- म दुई वर्षको हुँदा मेरा बुबा पनि कार दुर्घटनामै परेर बित्नु भयो। त्यसैले पनि म पीडित पक्षको पीडा महसुस गर्न सक्छु।

स्टाटसमा उनले आफूमा परेको मनोसामाजिक आघातको बारेमा प्रष्ट्याएकी छिन्। परामर्शदाता र आफ्नो पारिवारिक वकिलको सुझावमा आफू चुप रहेको र सामाजिक सञ्जालमा तेर्सिएका प्रश्नहरुको जवाफ नदिएको बताएकी छिन्।

भनेकी छिन्, 'मलाई नजिकबाट चिन्नेहरुलाई थाहा छ, म एउटा झिंगा पनि मार्न सक्दिन। मैले बच्चैदेखि दयालु हुनुको महत्व बुझेंँ। तर, अहिले जसरी हाम्रो गल्तीले कसैको ज्यान लियो, त्यो तीतो सत्यले मलाई पलपल मारिरहेको छ।'

सामाजिक सञ्जालमा भने उनले मागेको माफी सहानुभूतिका लागि गरिएको आरोपहरु लगाउनेहरु उत्तिकै छन्। कतिले संवेदनशील विषयसँग सरोकार राख्ने व्यक्ति भएता पनि यति ढिला बोल्नुमाथि व्यङ्ग्य गरेका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell